डा.ओमकृष्ण सिटौलाको कवितासंग्रह ‘जब तिम्रो ऐना बुढो भयो’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । डा.ओमकृष्ण सिटौलाको कवितासंग्रह ‘जब तिम्रो ऐना बुढो भयो’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा उत्त कृतिको लोकार्पण गरिएको हो ।

दुई चरणमा विभाजन गरिएको कार्यक्रमको पहिलो चरणमा ॐ भानुवेद स्मृति प्रतिष्ठानबाट सम्मान कार्यक्रम राखिएको थियो भने दोस्रो चरणमा कवितासंग्रह लोकार्पण गरिएको थियो । महिला साक्षार अभियानमा निरन्तर आफूलाई समर्पण गर्नुभएकी दिलकुमारी श्रेष्ठ ‘मेची आमा’लाई सम्मान अर्पण गरिएको थियो । सो अवसरमा डा.आनन्दप्रसाद श्रेष्ठले दिलकुमारी श्रेष्ठको योगदानको चर्चा गर्दै सम्मानका लागि प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभएको थियो । मंगलबार मेची आमाको १२औं स्मृति दिवससमेत रहेको थियो ।

कवि विश्वमोहन श्रेष्ठले लोकार्पित कवितासंग्रहको बारेमा समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । उहाँले संग्रहमा संग्रहित कविता जीवन–जगतका रहेको बताउनुभयो । संग्रहमा रहेका कविता दार्शनिकका साथै सरल, सुन्दर र सूक्ष्म रहेको उहाँको जिकिर थियो । राजनीतिक निष्ठा र विश्वास कवितामा रहेको उहाँको भनाइ थियो ।

स्रष्टा डा.सिटौलाले कविता लेखनका अनुभव सुनाउँदै संग्रहमा रहेका ‘जब तिम्रो ऐना बुढो भयो, फेवाताल र मेरो कथा’ तीन कविता वाचन गर्नुभएको थियो । स्रष्टा डा.सिटौलाको जन्मोत्सवसमेत मंगलबार रहेको थियो ।

प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कार्कीले इतिहासमा महिला योगदानको चर्चा गर्दै पछिल्लो समय समाजमा देखिएको विकृतिका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले हरेक सन्तान ओमजी जस्तो होस् भन्दै उहाँका कार्यको प्रशंसा गर्नुभएको थियो । महेन्द्र मोरङ क्याम्पस पढ्दै गर्दाको स्मरण गर्दै उहाँले दिलकुमारी श्रेष्ठ ‘मेची आमा’को योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा पुस्तक बिक्रीबाट हुनआउने आम्दानी ॐ भानुदेव स्मृति प्रतिष्ठानमा जम्मा हुने जानकारी गराइएको थियो ।

किरण मानन्धरको आवरण चित्र रहेको कृति ‘जब तिम्रो ऐना बुढो भयो’ मा कभर डिजाइन मनोज केसी ‘समय’ र लेआउट भुपेन्द्र लामाको रहेको छ । ३८ कविता संग्रहित ८० पृष्ठको कृतिको मूल्य १५० रुपैयाँ राखिएको छ । कृति ॐ भानुदेव स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?