सात वर्षमा तीन सय म्यानपावरमाथि कारबाही

रमेश भारती
Read Time = 11 mins

काठमाडौं । वैदेशिक रोजगार विभागले यस वर्ष ८० वटाभन्दा बढी म्यानपावर कम्पनीमा अनुगमन गरेको छ । विगत सात वर्षमा तीन सयभन्दा बढी म्यानपावर कम्पनीमा अनुगमन गरिसकेको विभागले जनाएको छ । सो अवधिमा विभागमा सातजना महानिर्देशक फेरिसकेका छन् । गत आर्थिक वर्षमा २६ म्यानपावर कम्पनीमा आकस्मिक अनुगमन (स्टिङ अप्रेसन) र ४० वटा म्यानपावरमा नियमित अनुगमन गरेको छ । अन्य ६० वटामा भने प्रक्रियागत अनुगमन गरिएको विभागले जनाएको छ ।

यस्तै, वैदेशिक रोजगारीको खोजीमा रहेका, विदेश जाने क्रममा रहेका र विदेशमा श्रमिकलाई अलपत्र पार्ने ७५ म्यानपावर कम्पनीमा अनुगमन गरिएको विभागले जनाएको छ । विभागले चालु आर्थिक वर्ष सुरु भएको दुई महिनामा १४ म्यानपावर कम्पनी र करिब २० कन्सल्टेन्सीमासमेत अनुगमन गरेको छ । म्यानपावर कम्पनीमा आकस्मिक, नियमित र प्रक्रियागत अनुगमनको व्यवस्था वैदेशिक रोजगारी ऐनमा छ । सोही व्यवस्थाअनुसार अनुगमनबाट धेरै रकम असुल्ने म्यानपावर कम्पनीमाथि कारबाहीसँगै आर्थिक जरिवानासमेत गर्ने गरिएको विभागका महानिर्देशक मदन दाहालले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कामदारसँग म्यानपावरले धेरै रकम असुलेको सूचनाका आधारमा तत्काल अनुगमन हुने गरेको उहाँको भनाइ छ । महानिर्देशक दाहालले भन्नुभयो ‘सरकारले तोकेभन्दा धेरै पैसा लिने म्यानपावरका बारेमा सूचना आएपछि तत्काल आकस्मिक अनुगमन हुन्छ । कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा जाने कामदारसँग सरकारले तोकेभन्दा धेरै पैसा लिइरहेको अवस्था स्टिङ अप्रेसनसमेत भएको छ । यसरी अनुगमन हुँदा कामदार पनि सुरक्षित भएका छन् । वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्दै सुरक्षित र मर्यादित बनाउन पहल भइरहेको छ । यसमा म्यानपावर व्यवसायी, कामदार र सरकार नै जिम्मेवारी हुनुपर्छ । राज्यको काम भनेको रोजगार व्यवसायी र श्रमिक दुवैलाई सुरक्षित बनाउने हो ।’ सरकारले तोकेभन्दा बढी लागत खर्च लिने म्यानपावरको रकम जफत गरी कामदारलाई सरकारले तोकेको शुल्कमै सम्बन्धित देश पठाउने काम भइरहेको उहाँको भनाइ छ ।

फितलो कारबाही
वैदेशिक रोजगार ऐनअनुसार विभागले कारबाही गरे पनि म्यानपावर कम्पनीबाट कामदार ठगिने क्रम भने कम भएको छैन । रोजगारीका नाममा आर्थिक र कामदार ठगिने क्रम बर्सेनि बढ्दै गएको विभागकै तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमा म्यानपावर कम्पनीका नाममा दुई हजारभन्दा बढी ठगीका उजुरी परेको विभागको तथ्यांकमा छ । म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगारीको प्रलोभन देखाएर गत आर्थिक वर्षमा एक अर्ब ३० करोडभन्दा बढी ठगी गरेकोे बिगो दाबीसहित पीडितले उजुरी गरेको र उजुरीका आधारमा ८० करोडभन्दा बढी बिगो पीडितलाई भुक्तानी गराएको विभागले जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न अनुगमनलाई तीव्रता दिए पनि खाडीका देश र मलेसिया जाने कामदारसँग म्यानपावरहरूले प्रतिकामदार ७० हजार बढी ठगी गर्दै आएको विभागले जनाएको छ । दुई वर्ष अवधिमा करिब १७ हजार कामदार म्यानपावरबाट पीडित भएको उजुरी परेको विभागको तथ्यांक छ । विभागले म्यानपावरमा अनुगमन गरेअनुसार जरिवाना नहुँदा ठगी बढ्ने गरेको रोजगारी विज्ञहरू औँल्याउँछन् । अनुगमन नाम मात्रको हुँदा म्यानपावरको मनोबल बढेर ठगी पनि बढिरहेको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीको आरोप छ । पाँच लाख ठग्ने म्यानपावरलाई मेलमिलापका आधारमा छुट दिएपछि ठगी नियन्त्रणबाहिर गएको उहाँको भनाइ छ ।

पाँच वर्षयता अनुगमनमा परेका म्यानपावर
विभागले युनिभर्स कनेक्सन प्रालि, भेरी ओभरसिज प्रालि, स्ट्याम्पफोर्ड ब्रिज इन्टरनेसनल सर्भिस प्रालि, हेल्पिङ ह्याण्ड प्रालि, क्यापिटल रिक्रुटमेन्ट प्रालि, गोरखनाथ इन्टरनेशनल इन्ष्टिच्युट प्रालि, जिएस इम्प्लोइमेन्ट प्रालि, डेल्टा म्यानपावर प्रालि, चार्टर ग्लोबल ह्युमन रिसोर्स प्रालि, माइपोखरी इन्टरनेशनल प्रालि, जन्नत ओभरसिज प्रालि, मन्सुर म्यानपावर प्रालि, सुधा ट्रेनिङ एण्ड ओरियन्टेसन सेन्टर प्रालि, इगल ओभरसिज प्रालि, लक्की ओरिएन्टेसन एण्ड ट्रेनिङ सेन्टर, मिता इन्टरनेशनल प्रालि, सुदम ओरेन्टेशन ओभरसिर्ज प्रालि र रुद्रावति ओरेन्टेसन सेन्टर प्रालिमा आकस्मिक अनुगमन गरेको विभागको तथ्यांकमा छ । यस्तै, ट्रष्ट नेपाल ओभरसिज प्रालि, डाइनामिक सेल्स एण्ड सर्भिस प्रालि, जुपिटर ओभरसिज, कन्सर्न प्रालि, स्काई अफ द वल्र्ड म्यानपावर प्रालि, विएस ओभरसिज प्रालि र गल्फ रिकुटमेन्ट प्रालिलगायतका म्यानपावरमा अनुगमन गरेको थियो । उल्लेखित म्यानपावरमा पीडितसँग धेरै रकम असुलेका आधारमा आकस्मिक अनुगमन गरिएको विभागले जनाएको छ । कतिपयमा स्टिङ अप्रेसनसमेत गरिएको थियो ।

त्यस्तै, पुकार इन्टरनेसनल ओभरसिज प्रालि स्वस्तिक ओभरसिज प्रालि, शिवाकोटी म्यानपावर सर्भिस, गोल्डेन गेट इन्टरनेसनल, पल्लभी इन्टरनेसनल प्रालि, जानकी ओभसिज प्रालि प्रमिशा मल्टि ट्रेनिङ इन्ष्टिच्युट प्रालि क्लासिक ओभसिज, प्याराडाइज इन्टरनेसन प्रालि, टार्गेट म्यानपावर, मिमोसा ओभरसिज प्रालि, विएस ओभरसिज प्रालि, फजल इन्टरनेसनल प्रालि, एलनयन्स ह्युमन रिसोर्स प्रालि, एक्टिभ इम्प्लोइमेन्ट सर्भिस प्रालि, टाइम्स वर्क प्रालि विन रिक्रुटमेन्ट प्रालि, आरविओभरसिर्ज प्रालि, सिद्धार्थ अरिएन्टेसन एण्ड ट्रेनिङ सेन्टर प्रालि, सना ओरिएन्टेसन एण्ड ट्रेनिङ सेन्टर प्रालि, ह्वाइट पर्ल रिक्रुटमेज्ट प्रालि, लाइफलाइन म्यानपावर प्रालि, सान इन्टरनेसनल गु्रप म्यानपावर प्रालि, आयुस इन्टरनेसनल म्यानपावर प्रालि, भ्रिन्दित सर्भिस प्रालि, निर्मल एचआर सोलुसन प्रालि, सि लिंक ओभरसिज सर्भिसेस प्रालि, फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रालि, पफर्केक्ट डेस्टिनेसन प्रालि र आरके म्यानपावरमा अनुगमन भएको विभागको तथ्यांकमा छ ।

त्यसैगरी, पुकार इन्टरनेसनल ओभरसिज प्रालि, ओसो रिक्रुटमेन्ट म्यानपावर प्रालि, रसुवा ओभरसिज प्रालि, ह्युभर ओभरसिज प्रालि, शिवाकोटी म्यानपावर सभिर्ज, पल्ही ओभरसिज प्रालि लक्की ओरेन्टिएसन तथा ट्रेनिङ सेन्टर प्रालि, गल्फ होराइजन इन्टरनेसनल प्रालि, नेसनल प्याथल्याव एण्ड रिसर्च सेन्टर, जुपिटर ओभरसिज प्रालि, पुकार इन्टरनेसनल ओभरसिज, ट्रष्ट नेपाल ओभरसिर्ज प्रालि, प्रासल इन्टरनेसनल म्यानपावर प्रालि, सुधा ट्रेनिङ ओरिएन्टेसन प्रालि, सुनकोशी म्यानपावर प्रालि, सुधा मेडिकल सेन्टर, एसए ट्रेनिङ सेन्टर प्रालि र अन्जली ओभरसिज प्रालिमा अनुगमन भएको विभागले जनाएको छ । विभागले चालु आर्थिक वर्ष सुन्धारास्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सल्टेन्ट प्रालिमा अनुगमन गरी कारबाही गरेको हो । यसरी अनुगमनमा परेका म्यानपावरले फेरि वैदेशिक रोजगारीमा बढी रकम लिएर कामदार पठाउने र विदेशमा कामदार समस्यामा पारेको उजुरी आउने गरेको विभागले जनाएको छ ।
चालु आर्थिक वर्ष सुरु भएएता डी स्क्वायर ग्रुप प्रालि र डिलक्स एचआर सोलुसन प्रालि म्यानपावरको इजाजतपत्र खारेज गरेको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?