दासप्रथा र सतीप्रथाको अन्त्य ?

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 14 mins

नेपालमा दासप्रथा र सतीप्रथाको उन्मूलन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आजभन्दा सय वर्षअघि नै गरेका थिए । उनले यी दुई खराब प्रथाहरू हटाएको लामो समय बितिसकेको छ र पनि नेपालमा भने यी दुई प्रथाहरू झनै झ्यांगिँदै गएको अनुभव हुन्छ । चेतनाको बिउ नरोपिँदैका शासक आफैंले अनुभूति गरेर कानुनद्वारा नै बर्जित गरिएका प्रथाहरू नेपालमा जतिजति शिक्षाको स्तर बढ्दै गयो, उति नै कुप्रथाहरूले आफ्नो दायरा बढाउँदै गएको पाइन्छ । राणाकालमा राजधानीका जनता राणाका चाकरीमा जाने भन्ने सम्मको हर्कत हुन्थ्यो, अहिले त्यसमा विकृति थपिएर लाखौं नागरिकहरू आफूलाई दासका रूपमा रूपान्तरित गर्न अग्रसर देखिन्छन् ।

दास शब्दको अर्थ नेपाली बृहद् शब्दकोशमा पहिले पहिले मालिकका किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर, कमारो भनी व्याख्या गरिएको छ । महिलालाई भने दासी भनिन्थ्यो । सतीको अर्थ अन्यका साथसाथै पतिको शवसँगै जलेर मर्ने स्त्री भनी सोही शब्दकोशमा भनिएको छ । प्राचीनकालको यो व्याख्यालाई चुनौती दिँदै वर्तमानमा बेग्लै प्रकारका दासदासीहरू र सतीहरू देखापरेका छन् । अहिलेका दासहरू पैसाको लेनदेनका आधारमा किनबेच हुने नभई आफैंले आफैंलाई दास घोषित गर्दै सेवामा उभिन पुग्दछन् । पुरुषकै सती जाने पुरुषहरू र महिलाको सती जाने महिलाहरू पनि व्यापक रूपमा देखिन थालेका छन् ।

जंगबहादुर राणाले मुलुकी ऐन ल्याई त्यसमा दासदासी बेचबिखन गर्नेलाई जरिवाना लगाउने व्यवस्था गरेका थिए । सती प्रथा हटाउनेसमेत प्रयत्न गरे तर उनकै रानीहरू उनीसँगै सती गएका थिए । उनीपछिका प्रधानमन्त्री देव शमशेरले पनि दास उन्मूलन गर्न खोजे तर सकेनन् ।

दासदासी बन्नु, बनाउनु र सती जानु दुवै प्रथालाई चन्द्र शमशेरले मात्रै खराब मानेका थिएनन् । उनीभन्दा निकैअघिका शासकहरूले समेत दासदासी प्रथालाई अनुचित मानेर नेपालबाट हटाउने प्रयास गरेका तर सफल नभएका उदाहरण पाइन्छन् । जतिबेला जनताले आन्दोलन गरेका थिएनन्, जुनबेला शिक्षाको स्तर शून्यबाट माथि उठेकै थिएन, जतिबेला नेपालका मान्छेलाई आफ्नो अधिकार मागेर होइन, खोसेर लिनुपर्दछ भन्ने चेतना नै थिएन र पनि शासकहरू आफैंले महसुस गरी हटाउन खोजेको व्यवस्था अहिलेका सचेत भनिएका नागरिकहरूबाट फर्काउन जोडतोडका साथ प्रयास गरिएको छ ।

राजा रणबहादुर शाहले उहीबेला ब्राहृमण र राजपूतलाई दासदासी बनाउन नपाइने र अन्य जातिकालाई समेत राजीखुसीबाहेक दास बनाउन नपाइने उर्दी जारी गरेका थिए । भीमसेन थापाले समेत यसमा अझ बढी सुधार ल्याउने प्रयास गरेका थिए । जातजातिका बीचमा विभेद भएको अवस्थामा त त्यस्तो व्यवस्था गरिएको थियो भने अहिले जातिविभेद उन्मूलनको आन्दोलन छेडिएको अवस्थामा त दासदासी रहने कल्पना गर्नसमेत सकिँदैन । विडम्बना के देखिँदैछ भने अहिलेका समयमा त्यो पुरानो अवस्थामा व्यापक विकृति भित्र्याउँदै यो जाति त्यो जाति होइन कि सबै नै आफूलाई कसै न कसैको अब्बल दास भएको देखाउन मरिमेटेर लागेको पाइन्छ ।

जंगबहादुर राणाले मुलुकी ऐन ल्याई त्यसमा दासदासी बेचबिखन गर्नेलाई जरिवाना लगाउने व्यवस्था गरेका थिए । सती प्रथा हटाउनेसमेत प्रयत्न गरे तर उनकै रानीहरू उनीसँगै सती गएका थिए । उनीपछिका प्रधानमन्त्री देव शमशेरले पनि दास उन्मूलन गर्न खोजे तर सकेनन् । अहिले दासदासी खरिद बिक्रीका सन्दर्भमा त्यति चर्चा गरिएको पाइँदैन किनकि स्वतन्त्र भनिएको नागरिक आफैं नै निःशुल्क रूपमा अरू कसैको दास बन्न दौडादौड गरिरहेका छन् । मालिकले दास मानेको छ कि छैन तर मान्छे आफूलाई अधिकारसम्पन्न नागरिक भन्नभन्दा कुनै न कुनै नेताको दास हुँ भन्दा नै गर्व गर्न थालेको छ ।

पहिले पहिले पतिव्रता स्त्रीमात्रै पतिको मृत्युपछि पतिको शवसँग मात्रै सती जाने गर्दथे । नेपालका जनतालाई विभिन्न चरणका जनआन्दोलनहरूपछि रैतीबाट नागरिकमा परिवर्तन गरियो भन्न थालेपछि सतीप्रथा झनै मौलाएर गएको पाइन्छ । पतिको चितामा हामफाल्ने स्त्री वाला सती प्रथा त पूर्णरूपमा हटिसकेको छ भन्दा हुन्छ तर अहिले त कुनै न कुनै नेताका नाममा के पुरुष के स्त्री सबै नै सती जान कपडा फालेर दौडिएको देखिन्छ । आफूमात्रै होइन कि राजनीतिक दल र राजनीतिक दलका नेतासँगै आफ्ना छोराछोरीमात्रै होइन कि जन्मिँदै नजन्मिएका नाति नातिनाहरूलाई समेत चितामा होमिन बाध्य बनाएको अनुभूति हुन थालेको छ ।

मान्छेमा जति पढ्यो उति चेतनाका स्तर बढ्छ भनिन्छ । अचेतनलाई सचेत बनाउने एकमात्र अचूक उपाय भनेको शिक्षा हो भन्ने गरिन्छ । हुन पनि हो शिक्षाले नै मान्छेलाई पशुबाट भिन्न देखाउनका लागि सहयोगी भूमिका खेल्दछ । नेपालमा भनेजति बढी पढेको छ, ऊ उति नै बढी अचेतन हुँदै गएको हो कि भन्ने भान पर्दैछ । कतै नेपालमा पढाइने गरेको पाठ्यक्रममा नै पूर्णरूपमा परिमार्जनको आवश्यकता भएको त होइन भन्ने अनुवभ सर्वत्र गरिएको छ । कतै गलत शिक्षा दिई राखिएको त छैन भन्ने प्रश्न उठ्न थालेको छ । नत्रभने बढीभन्दा बढी पढेको मान्छे सानोभन्दा सानो दास हुन यत्रतत्र भौँतारिई रहेको देखिन्छ ।

चन्द्र शमशेरले दासदासी र सती प्रथा उन्मूलन गरेको भए तापनि कमारो, कम्लरी, कमैया, हलिया आदिका नाममा दुई दशकअघिसम्म पनि नेपालमा स्वरूप परिवर्तन गरेर दासदासीको प्रथालाई निरन्तरता दिई नै राखिएको थियो । विशेषगरी नेपालका तराईका भू–भागहरूमा यसले स्थान जमाई राखेको थियो । नेपालमा प्रजातन्त्र आएपछि बाध्य भएर बसेका त्यस्ता कमैया र हलियाहरूलाई त मुक्त गरियो तर अहिले स्वेच्छाले कमैया भने पनि हलिया भने पनि या दास भने पनि शब्द जेसुकै होस्, त्यही प्रकृतिको सेवक बन्न चाहने नेपालका शिक्षितले आफूलाई त डुबाउँदै गएका छन् नै साथसाथै मुलुकलाई नै ध्वस्त पार्दै लगेका छन् ।

अब फेरि चन्द्र शमशेर खोजेर ल्याएर कडिकडाउका साथ दास प्रथा उन्मूलन गर्न अनुरोध गर्ने होइन कि हामी आफैं सुध्रिएर स्वतन्त्र हुने प्रयास गर्ने हो । राजनीतिक दलको केन्द्रीय सदस्य भएको मान्छे पदाधिकारी हुन सभापतिको चाकरीमै रमाउने प्रवृत्तिको अन्त्य नेपालले खोजेको छ । 

निजामती सेवामा सचिव भएको मान्छे भोलिको नियुक्तिको आशाले मन्त्री प्रधानमन्त्रीहरूको दासमा आफूलाई परिणत गर्न तल्लीन हुने गरेका छन् । उसलाई सेवाक्षेत्रमा एक प्रकारको कार्य जिम्मेवारी दिएर पठाइएको हुन्छ तर त्यो जिम्मेवारीलाई कार्यालयको दराजमै थन्काएर आफ्नो पदोन्नतिलाई एकमात्र लक्ष्यमात्र बनाई माथिल्लाको दासमा परिणत गर्नमै गर्व गर्ने होडबाजी सचिवहरूका बीचमा चलेको प्रत्यक्षै छ । अलि बढी स्वतन्त्र मानिएको प्राध्यापन पेशाका मान्छेहरू यस्ता विषयमा खरो उत्रन पर्नेमा यो वर्गमा पनि यति विकृति झाँगिएको छ कि भनी साध्ये छैन ।

नागरिकलाई उनीहरूका अधिकारका बारेमा पढाएर स्वतन्त्र मुलुक र अधिकार सम्पन्न नागरिक बनाउने जिम्मेवारी बोकेका थुप्रै प्राध्यापकहरू समेत दास भएको घोषणा गर्नमै गर्व गर्न थालेका छन् । कुनै विश्वविद्यालयका पदाधिकारीहरूले नियमविपरीतका कार्य गर्दा त्यसमा कसैले औँलो ठड्यायो भने औँलो ठड्याउनेका विरुद्ध उभिनु प्राध्यापकलाई किमार्थ सुहाउँदैन तर विश्वविद्यालयका पदाधिकारीको नजिकको दास भएको प्रदर्शन गर्न रमाउनेहरू अधिकारका लडाइँमा लाग्नेका विरुद्ध खनिने गरेको पनि पाइन्छ ।

आम जनता कुनै न कुनै राजनीतिक दलको सदस्य हुनुलाई चेतना बढेको मान्न सकिएला तर त्यो दलले गरेका सबैखाले कुकर्महरूलाई पनि सुकर्म देख्न थालियो भने नागरिक चेतनशील भएको मान्न सकिन्न । म फलानो भन्न भन्दा म फलानो नेताको नजिकको कार्यकर्ता भन्नमा गर्व महसुस गर्नेहरूको संख्या बढ्दै जाँदा नेपालमा दासप्रथा झनै बढेको छ । विषय र सन्दर्भ हेरेर कहिले को ठीक र कहिले को बेठीक भन्नुपर्नेमा मेरो नेताले जे गरे पनि कस्तो मीठो बास्ना आएको भन्नेहरू सुध्रिन ढिला भइसकेको छ । अब नेताको, हाकिमको वा बोलवालको दास हुन होइन कि स्वतन्त्र एवं अधिकार सम्पन्न नागरिक हुन प्रयत्न गर्नेहरूको जमात मुलुकले खोजिरहेको छ ।

अब फेरि चन्द्र शमशेर खोजेर ल्याएर कडिकडाउका साथ दास प्रथा उन्मूलन गर्न अनुरोध गर्ने होइन कि हामी आफैं सुध्रिएर स्वतन्त्र हुने प्रयास गर्ने हो । राजनीतिक दलको केन्द्रीय सदस्य भएको मान्छे पदाधिकारी हुन सभापतिको चाकरीमै रमाउने प्रवृत्तिको अन्त्य नेपालले खोजेको छ । सांसद् भएको मान्छे मन्त्री हुने चक्करमा आफूलाई जनताको नेता हूँ भन्ने बिर्सेर पार्टीको नेतृत्वको वरिपरि घुमिरहँदा लाज नै लजाएर भाग्न थालेको छ । मन्त्री भएको मान्छे बारम्बार कुर्सी पाउने आशाले नेतृत्वका विकृतिका विरुद्ध बोल्न नसक्दा जनतामा नैराश्य बढ्दै गएको छ ।

कुनै दलका नेताका पति पत्नी दुवैलाई परिक्रमा गरिरहनु पर्ने, कुनै दलमा तीस वर्षदेखि एउटै नेतृत्व रहने, कुनै दलका कार्यक्रममा पार्टीका अध्यक्षको मात्रै तस्वीर राखेर भगवान्सरह मानी पूजा गर्नुपर्ने तर कोही कतै बोल्न नसक्ने भनेको के प्रवृत्ति हो ? यति लामो लेख लेखेपछि फेरि केही भन्न नपर्ला । यसैगरी नेपाल अघिबढिरहने हो भने उज्ज्वल भविष्यको परिकल्पना कसैले पनि नगरे हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?