अहिले पनि झोलुंगोमै बिरामी बोक्न बाध्य छन् लालबन्दी नारायण खोलाका स्थानीय

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 9 mins

सर्लाही । सर्लाहीको ‘कर्णाली’ भनेर चिनिने नारायण खोलामा अहिले पनि स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।
जिल्लाको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका वडा नं- १४ मा पर्ने साबिक नारायण खोला गा।वि।स। अझै सडक सञ्जालमा जोडिएको छैन् । लालबन्दी बजारदेखि वडा नं १३ पत्थरकोट छेडासम्म सडक पुगे पनि त्यहाँदेखि लखन्देही खोलाको बगरैबगर भई नारायण खोलासम्म पुग्नुपर्ने बाध्यता छ ।

खोलामा बाढी आएको समयमा गर्भवती तथा अन्य बिरामीलाई झोलुङ्गोमा हालेर पत्थरकोटसम्म ल्याउने गरिएको स्थानीयले बताएका छन् । पत्थरकोटबाट भने टेप्पु, एम्बुलेन्स तथा अन्य सवारीमा हालेर अस्पताल पु¥याउने गरिएको छ ।

शनिबार मात्रै प्रशब पीडा भएका दुई गर्भवतीलाई झोलुङ्गोमा हालेर पत्थरकोटसम्म ल्याइएको स्थानीय गङ्गा मगरले जानकारी दिनुभयो । “यो वर्ष गर्भवती र अन्य बिरामी गरी १० जना भन्दा बढीलाई यसैगरी झोलुङ्गोमा हालेर पत्थरकोटम्म ल्याइयो,“ मगरले भन्नुभयो,“वर्षायाममा वर्षेनि हामीले यो नियती भोग्दै आएका छौँ ।”

नारायण खोलाकी स्थानीय आइतीमाया पख्रिनले वर्षायामभर कोही गर्भवतीलाई अस्पतालसम्म पु¥याउनुपर्दा असाध्य मुस्किल हुने गरेको गुनासो गर्नुभयो । “खोलामा बाढी आएको बेला पैदल हिँड्न त सकिँदैन्, बिरामीलाई झोलुङ्गोमा बोकेर लानुपर्दा झन असाध्य समस्या हुन्छ,” पाख्रिनले भन्नुभयो, “सामान्य अवस्थाका गर्भवतीलाई घरमै सुत्केरी गराउँछौँ, घरमा हुन नसकेका मात्रै झोलुङ्गोमा हालेर लालबन्दी वा अन्यत्र लैजाने हो ।”

पाख्रिनका अनुसार अधिकांश नारायण खोलामा स्थानीय बिरामी पर्दा अहिले पनि झारफूक र धाँमीझाँक्रीको भर पर्छन् । गम्भीर बिरामी परेका व्यक्ति तथा गर्भवतीलाई मात्रै झोलुङ्गोमा हालेर अस्पताल लैजाने गरिन्छ ।
नारायण खोलाका स्थानीयले बिरामी बोक्नका लागि स्थानीय सरकारले स्टेचर धरी उपलब्ध नगराएको गुनासो गरेका छन् । स्टेचर नहुँदा बिरामी बोक्नका लागि काठमा तन्ना बाँधेर झोलुङ्गो बनाउने गरिएको स्थानीयको भनाई छ ।

विगत एक सातादेखि खोलामा निरन्तर बाढी आएका कारण नारायण खोलासम्म ट्याक्टरसम्म चल्न सकेको छैन् । अरु बेला खोलाको बगरबाट मोटरसाइकल दौडिने गरे पनि बाढी आएकाले स्थानीयसँग भएको मोटरसाइकल घरमै थन्किएको छ ।
अत्यावश्यक काम परेकाहरु बाढीमै हेलिएर पत्थरकोटसम्म आएर टेम्पु तथा अन्य सवारीमा लालबन्दी बजार झरिरहेका छन् । लालबन्दी १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले निरन्तर वर्षा भइरहँदा नारायण खोलाको जनजीवन अत्यन्त कष्टकर बनेको बताउनुभयो ।
एक सातादेखि निरन्तर बाढी आइरहँदा स्थानीय औषधि उपचार तथा दैनिक आवश्यक पर्ने खाद्यान्न खरिद गर्न बजारसम्म आउन नपाएका उहाँले बताउनुभयो । बाढी कम भएको बेला “ट्याक्टर चल्थ्यो, अतिले एक सातादेखि ठूलो बाढी आएकाले ट्याक्टर पनि आउजाउ गर्न सकेको छैन्,”वडाध्यक्ष घिसिङले भन्नुभयो, “पानी धेरै पर्ने याममा स्थानीयको दैनिकी निकै पीडादायिक हुन्छ ।”

नारायण खोला सिन्धुलीसँग सीमा जोडिएको साबिकको गा।वि।स। हो । यहाँको माथिल्लो भेगमा पर्ने गाउँका वासिन्दालाई पत्थरकोटसम्म पैदल हिँडेर आउँदा तीनदेखि चार घण्टासम्म लाग्छ ।
नारायण खोलाको वडा कार्यालय लालबन्दी बजारमै छ । गाउँमा इमेल इन्टरनेटसहितको सुविधा नरहेको भन्दै वडाध्यक्ष र वडा सचिवले लालबन्दीमै वडा कार्यालय सञ्चालन गरेर बस्ने गरेका छन् ।

अहिले बाढी आएको बेला स्थानीय वडा कार्यालयसम्म पनि आउन सक्दैनन् । सुगम मानिने सर्लाही जिल्लाको अतिविकट नारायण खोलामा आर्थिक रुपमा केही सक्षम रहेका व्यक्ति बसाइँ सरेर पत्थरकोट, लालबन्दीलगायत चुरेफेदीका गाउँमा झरे पनि कम आर्जन भएका व्यक्ति गाउँमै कष्टकर ढङ्गले जीवनयापन गरिरहेका छन् ।
लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले केही समयअघि नारायण खोला पुग्दा स्थानीयले बिरामी बोक्नका लागि स्टेचर माग गरे पनि यो वर्ष स्टेचर खरिद गर्ने योजना नरहेको बताउनुभएको छ । “हामी त्यहाँ पुग्दा गाउँलेबाट स्टेचर माग भाथ्यो तर नगरले स्टेचर किन्ने बजेट बिनियोजन गरेको छैन्,” नगरप्रमुख अधिकारीले भन्नुभयो, “अन्य सङ्घसंस्थासँग समन्वय गरी स्टेचरको प्रवन्ध गर्न खोज्दै छौँ ।”

नगरप्रमुख अधिकारीले नारायण खोलाबाट आउने गर्भवतीलाई पत्थरकोट स्वास्थ्य चौकी र लालबन्दी प्राथमिक केन्द्रमा प्रसुति हुने व्यवस्था मिलाइएको बताउनुभयो । नारायण खोलास्थित मोटरदोभानमा स्वास्थ्य चौकी भए पनि त्यहाँ प्रायः स्वास्थ्यकर्मी र औषधिको अभाव हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

चुरेडाँडाका चारैतिर ठूलो क्षेत्रफलमा फैलिएको नारायण खोलाको सबै बस्तीका वासिन्दालाई स्वास्थ्य चौकीसम्म पुग्न पनि घण्टौँ लाग्छ । स्वास्थ्य चौकी जानुसाटो स्थानीय लालबन्दी बजारका अस्पतालमै आउने गरेका छन् ।

नारायण खोला स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक वाजिद अन्सारी र अहेब रवीन्द्र ठाकुर दुई जना कार्यरत हुनुहुन्छ । स्वास्थ्य चौकीको इन्चार्ज अन्सारीका अनुसार स्वास्थ्य चौकीमा अन्य सामान्य रोगको उपचार गर्ने गरिए पनि प्रसुति गराउन बर्थिङ सेन्टर छैन् ।
अन्सारीले कर्मचारी नभएका कारण स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न नसकिएको बताउनुभयो । “त्यस ठाउँमा स्थानीय नर्सिङ स्टाफ भइदिए बर्थिङ सेन्टर पनि चलाउनु हुन्थ्यो तर कोही छैनन्, अत्यन्त विकट क्षेत्र भएकाले बाहिरबाट कोही जान पनि मान्दैनन्,” स्वास्थ्य चौकी इन्चार्ज अन्सारीले भन्नुभयो ।

स्वास्थ्य चौकी इन्चार्ज अन्सारीले खोलाको बाटो भएर जानुपर्दा स्वास्थ्य चौकीसम्म पुग्न समस्या रहेको बताउनुभयो । अन्सारीका अनुसार पत्थरकोटको छेडा गाउँदेखि स्वास्थ्य चौकीसम्म मोटरसाइकलमा जाँदा ४५ मिनेट लाग्छ । मोटरसाइकल जान नसक्दा पैदल हिँडेरै जानुपर्दा करिव तीन घण्टा लाग्ने गरेको अन्सारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?