म्याग्दी । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दी जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् ।
पाँच सात वर्ष अघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुने क्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
करिब एक दशक अघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूललगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधानलगायतका धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांकमा उल्लेख छ ।
जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको कृषि ज्ञान केन्द्रले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
कार्यालयको एक तथ्यांकअनुसार विभिन्न प्रजातिका ९७ रैथाने बाली जिल्लाबाट लोप हुने अवस्थामा पुगेका हुन् । आयातित बीउबिजनको प्रयोग गर्ने क्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फ्रर्सी, काक्रा, घिरौलालगायतका बीउ टाँस्न छोडेका छन् भने धान, गहुँ, मकैलगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् ।
सरकारले विशेष गरी घैया,कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यको रुपमा विस्तार गर्दै लैजाने योजना बनाएको भए पनि भारत लगायतका विभिन्न देशहरुबाट कोदो, मकै, चामल लगायतका वस्तु आयात वर्षेनी बढ्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका पूर्व प्रमुख किरण सिग्देलले बताउनुभयो ।
यस क्षेत्रमा कोदोको परिकार खाने परम्परा कम हुँदै आएको छ । जिब्रोको मिठासको भरमा नेपालमै उत्पादित भन्दा भारतबाट आयातित चामल बढी प्रयोगमा आएको देखिन्छ । फापर, लट्टे, कागुनो, जौँ लगायतका खाद्य पदार्थहरु प्रयोग हुँनै छाडे जस्तो देखिन्छ । गाउँघरमा परिवारलाई आवश्यक पर्ने जति मात्र उत्पादन गर्ने भए पनि व्यवसायिक रुपमा उत्पादन गर्ने प्रचलन नरहेको ज्यामरुककोटका कृषक शोभित शर्माले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका पूर्व प्रमुख (दुई दिन अघि मात्र सरुवा भएर जानुभएको छ ।) सिग्देलका अनुसार रैथाने बाली मानिने, कोदो, फापर, कागुनो, लट्टे जस्ता बाली अहिले धेरैले लगाउनै छाडिसकेका छन् । खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यक पर्ने जति मार्ग रोप्ने गरेका छन् । उहाँले भन्नुभयो “रैथाने बाली बचाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ तर, पनि धेरै यसबाट टाढा छन् ।”
हाइब्रीड तथा उन्नत बीउका कारण रैथाने बालीहरु लोप हुने क्रम बढेको कृषि वैज्ञानिक टीकाबहादुर कार्की बताउनुहुन्छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गत रैथाने बालीलाई प्रथमिकता दिएको भए पनि कृषकहरु रैथाने बाली संरक्षणतर्फ आकर्षित नदेखिएका उहाँले बताउनुभयो ।
पछिल्लो समय नेपालको मकैलाई विस्थापन गर्दै चिनबाट ‘वेक्स क्रप’ (मकै) आयात हुन थालेको उहाँको भनाइ छ । उक्त मकै उसिनेर खान धेरै प्रयोग हुने भएकाले आयात धेरै भइरहेको उहाँले जानकारी दिनुभयो । विगत १०/ १२ वर्षदेखि आयात हुन थालेको सोे चिनियाँ मकै विशेष गरी रेष्टुरेन्टहरुमा प्रयोग हुने गरेको छ ।
कृषि प्राविधिकहरुका अनुसार कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बालीहरु सबै कोदो वर्गमा पर्दछन् । यो औला आकारका हुनाले यसलाई अंग्रेजिमा ‘फिङ्गर मिलेट’ भनिन्छ । कोदो नेपालमा धान, मकै र गहुँ पछि चौथो महत्वपूर्ण खाद्यन्न बाली हो । नेपालमा कोदो बाली क्षेत्रफल घट्दो क्रममा रहेको छ ।
देशको कुल खाद्यन्न बालीको क्षेफलको ७.७ प्रतिशत हिस्सा ओगटेको कोदोले क्षेत्रफलको ९५ प्रतिशत क्षेत्रफल पहाडी भेगमा पर्दछ ।
कोदो नेपालका ७७ जिल्लामै उत्पादन हुने भएता पनि म्याग्दी,खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली धेरै कोदो उत्पादन हुने जिल्लाहरु हुन् ।
कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ७.७ गुणा बढी क्याल्सियम पाइन्छ । चामल भन्दा २.३ गुणा, मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढि आइरन पाइन्छ । सय ग्राम कोदोमा औसत ७६.३ ग्राम कार्वोहाइड्रेड, ९.२ ग्राम प्रोटिन, २.२ खरानी, १.४ ग्राम चिल्लो, ३.५ ग्राम रेशा, ३६० मिलिग्राम क्याल्सियम, ७.४ ग्राम आइरन, २५३ मिलिग्राम फस्फोरस हुन्छ ।
कोदोमा दूधमा जस्तै मिथायोनिन, सल्फरयुक्त एमिनो एसिड पाइन्छ । यो हुर्कदोँ उमेरका बालबालिका, गर्भिणी महिला, मधुमेह र उच्च रक्तचापका बिरामीलाई समेत नियमित सेवन गराउँदा धेरै फाइदा हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच