नेता खनालको असन्तुष्टि : नेपाल खेलकुद महासंघ समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहनु जरुरी छैन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गर्नुभयो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताउनु भयो । सम्मानित नेता खनालले आफ्नो पार्टीको समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्नेगरी संगठन बिस्तार गर्न पनि खेलकुद क्षेत्रमा आवद्ध पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारसँग पनि संघर्ष गर्छौं । अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन । किन नगरिएको हो ? म सरकारसँग प्रश्न गर्न चाहन्छु । यदी हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुप¥यो । होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि ? म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुद मन्त्रीलाई सोध्न चाहन्छु । सबै खेलाडीहरु उत्साह र उमंगका साथ यो क्षेत्रमा लाग्नुस् । र, आफ्नो संगठनलाई बिस्तार गर्नुस् । जनतालाई व्यापक रुपले गोलबन्द गर्नुस् । खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ ।’

त्यस अवसरमा सम्मानित नेता खनालले सबै खेलाडीहरुलाई उत्साहतका साथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?