अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी

हालसम्म १५ जना पक्राउ, १५ जना प्रहरीको फरार सूचीमा

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसरले प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो । परिसर स्रोतका अनुसार आज (शुक्रबार) प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ । परिसरका एक प्रहरी अधिकारीका अनुसार शुक्रबार प्रतिवेदन बुझाउने अन्तिम तयारी भइरहेको छ । ‘प्रतिवेदन बुझाउने अन्तिम तयारी भइरहेको छ,’ ती अधिकारीले भन्नुभयो, ‘सम्भवतः आज (शुक्रबार) प्रतिवेदन बुझाउँछौँ । यसअघि बुधबार नै प्रतिवदेन बुझाउने तयारी गरे पनि अनुसन्धान नसकिँदा बुझाउन ढिला भएको हो । अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ । आगामी मंगलबारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ ।

प्रहरीका अनुसार प्रकरणमा जोडिएका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका अधिकांशको बयान लिइसकिएको उहाँको भनाइ छ । प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रायमाझी र खाँणसहित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप लगायतलाई पक्राउ गरेको छ । अझै १५ जना प्रहरीको फरार सूचीमा छन् । फरार हुनेहरूमा राईका छोरा निरज र बादलका छोरा प्रतिकसहित १५ जना छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौं ठगीको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीन जना बिचौलियालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । त्यसयता उच्च पदस्थ राजनीतिज्ञ र कर्मचारीसहित १५ जना पक्राउ परेका छन् ।

हज कमिटीका अध्यक्ष मियाँ पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ पर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उहाँलाई बिहीबार सिंहदरबाट पक्राउ गरेको हो । मियाँ काम विशेषले सिंहदरबार छिरेको जानकारी पाएपछि प्रहरीले त्यहीँबाट पक्राउ गरेको जनाएको छ ।

उहाँको हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गर्नुभएको थियो । प्रहरी स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले गर्नुभएको थियो ।

भुटानी शरणार्थीका नेता रिजाल पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ पर्नुभएको छ । अधिकारकर्मीका रूपमासमेत पहिचान बनाउनुभएका उहाँलाई बिहीबार अपराह्न प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनमा नेता रिजालले समेत मिलेमतो गरेको आशंका लागेपछि प्रहरीले उहाँलाई बिहीबार सोधपुछका लागि बोलाएको थियो । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा जानुभएका उहाँलाई प्रहरीले परिसर भित्रैबाट नियन्त्रणमा लिएको हो ।

नेता रिजाल र हज समितिका अध्यक्ष मियाँलाई दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका मोरङका सागर राईले नेता रिजालको नाम लिनुभएको थियो । उहाँले बयानका क्रममा रिजाललाई सात लाख रूपैयाँ दिएको दाबी गर्नुभएको प्रहरीले जनाएको छ ।

भुटानले नेपाली मूलका भुटानीलाई खेदाउँदा रिजाल पनि नेपाल आइपुग्नुभएको थियो । सन् १९८९ मा उहाँलाई झापाको बिर्तामोडबाट पक्राउ गरी भुटान सरकारको जिम्मा लगाइएको थियो । १० वर्ष जेल राखेपछि सन् १९९९ मा उहाँलाई भुटानले छाडेको थियो । भुटानी राजतन्त्र र मानव अधिकारको अवस्थालाई लिएर खरो उत्रिएको आरोप उहाँमाथि लागेको थियो । सन् २००७ देखि नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनःस्थापना गर्न थालिए पनि रिजाल भने नेपालमै रहनुभएको थियो ।

भ्रष्टाचारविरुद्ध सडकमा दलहरू
भ्रष्टाचारविरुद्ध राजनीतिक दलसमेत सडक प्रदर्शनमा उत्रिन थालेका छन् । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध सभा गरेको छ । प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै सत्ता साझेदार एकीकृत समाजवादीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । उनीहरू शरणार्थी प्रकरणमा जोडिएकालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

यस्तै, राप्रपाले भ्रष्टाचारविरुद्ध विरोध सभा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला राप्रपाले काठमाडौंको वसन्तपुरमा बिहीबार बृहत् विरोध सभा गरेको हो । अनुसन्धानलाई प्रभावकारी बनाउन दबाबस्वरूप राप्रपाले प्रदर्शन गरेको हो । वसन्तपुरमा आयोजित प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही लगायतका नेता र कार्यकर्ता सहभागी थिए । राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनको माग गरेको छ । राप्रपाले २०४६ सालयता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र अहिलेसम्मका भ्रष्टाचारका काण्डको छानविन गर्न माग गर्दै आएको छ ।

सबै भ्रष्टाचारका काण्डहरूमा ठूला दलको संलग्नता छ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा पार्टीले आयोजना गरेको भ्रष्टाचारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा ठूला दलहरूको सर्वदलीय सहमतिमा रहेको दाबी गर्नुभयो । नक्कली शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरूको चासोमा अगाडि बढेको जिकिर गर्नुभयो । यो अर्बौँको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्य विरुद्धको अपराध भएको उहाँको भनाइ छ । ‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखिएको छ । योभन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘योजस्तो लजास्पद र दुःखदायी कुरा अरु केही पनि हुन सक्दैन । विश्व जगतमा नेपालको बद्नाम भएको छ ।’ प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने उहाँले बताउनुभयो । उहाँले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?