दुना टपरी उद्योगबाट आत्मनिर्भरको बाटो रोज्दै महिला

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्नुहुन्थ्यो । तर हिजोआज उहाँको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । अहिले हरेक दिन उद्यमशील महिला मगर संघले संचालन गरेको दुना टपरी उद्योगमा बिताउनुहुन्छ । अचेल उहाँलाई उद्योगमा महिलाहरुसँग गफिदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । दुई महिना अगाडि उद्यमशील महिला मगर संघले संचालन गरेको टुना टपरी उद्योगमा अर्धबैसे र वृद्ध महिलाहरु भेटिन्छन् ।

उद्योगमा कोही टपरी बनाई रहेका भेटिन्छन् त कोही सिन्का चिरी रहेका हुन्छ । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइ रहेको छ । उद्योग संचालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलाहरुलाई भ्याइनभ्याइ छ । गत फागुनदेखि संचालनमा आएको उद्योग महिलाहरुको गतिलो आय स्रोतको माध्यम बन्न थालेको छ । उद्योग संचालनमा आएपछि वनमा खेर गएको सालको पातले पनि बजार पाउन थालेको छ । उद्योगमा २८ जना महिला आवद्ध छन् । २०७६ सालदेखि महिलाहरु संगठित भएर बङ्गुर पालन थालेका थिए ।

अघिल्लो वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण ६०० बङ्गुर मरेपछि दुनाटपरी उद्योग संचालन गरेका हुन् । बङ्गुर मर्दा १५ लाख बढी नोक्सानी भएको थियो । विहान बेलुका घरको काम गर्ने र फुसर्दको समय टपरी बुन्ने गर्छन् । सुरुवाती चरणमै दुई महिनाको अवधीमा करिब दुई लाख आम्दानीसमेत गरेका छन् । भन्द्रकलीले छोरी, बुहारी र नातीहरुसँगै दिनभर उद्योगमै बसेर टपरी बुन्नुहुन्छ । सुख, दुःखका मन्थन गर्दागर्दै दिन बितेको थाहै नहुने उहाँले बताउनुभयो । दुना टपरी बुन्दा समस्या नहुने हुँदा उद्योग र यहाँ काम गर्ने महिलाहरु आफ्नो सारथी बनेको भन्द्रकलीले सुनाउनुभयो ।

उहाँले भन्नुभयो - “दिन दिनै मोबाइल चलाउँदा आँखा दुख्ने, टाउको दुख्ने हुन्थ्यो, दिनभर घरमा बस्दा बस्दा दिक्क लाग्ने गर्थ्याे, अहिले यहाँ (उद्योग)मा धेरै नानीहरु आउँछन्, उनीहरुसँग कुराकानी गरेर टपरी बुन्छु, दिन बितेको थाहै हुँदैन, नानीहरुले धेरै राम्रो काम गरेका छन्, म बुढी मान्छे पनि आबद्ध भएको छु काम गर्न त सक्दैन, त्यही पनि दुई/चार वटा टपरी बुन्छु, मेरो लागि त दिन बिताउने आधार बनेको छ, आम्दानी पनि हुन्छ ।”

साल पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढंगले उत्पादन गर्न थालिएको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो । धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रयोजनमासमेत प्रयोगमा आउन थालेको छ । उद्योगमा आवद्ध सदस्य दिलमाया काउचाले नयाँ कामको सुरुवात भएको हुँदा सिक्दै स्वरोजगार बन्दै गरेको बताउनुभयो । उद्योग संचालनमा नआउँदा यतिकै घरमा बस्ने गरेको भन्दै अहिले दैनिक उद्योगमा आएर काम गर्ने गरेको उहाँको भनाइ छ ।

“सुरुवाती चरणमा छौँ, अहिलेसम्म त धेरैले राम्रो भन्नु भएको छ, वन जंगलमा पुगेर पातहरु ल्याउँछौँ, बर्खाका लागि पनि अहिलेनै पात ल्याएर गोदाममा राखेका छौँ, पानी पर्‍यो भने पात पाइँदैन पाइए पनि कुहिन्छ” काउचाले भन्नुभयो - “उद्योगमा लागेपछि आयस्रोत पनि हुने भयो, पहिले टपरी बुन्नका लागि सिकेका थियौँ, अहिले आफै गर्न सक्ने भयौँ, महिला दिदीबहिनीहरु एक जुट भएपछि यो काम गर्न सहज भएको छ, विस्तारै फस्टाउँदै जाने विश्वास दिएका छौँ ।”

महिलाहरुले करिब तीन लाखको लागतमा दुना टपरी बनाउने मेसिनसमेत ल्याएका छन् । बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग निकै बढेको उद्यमशील महिला मगर संघकी अध्यक्ष बलकुमारी पुनले बताउनुभयो । दुना टपरीलाई तीनदेखि आठ रूपैयाँसम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ । वि.सं. २०७५ सालमै महिलाहरु एकताबद्ध भएर सिर्जनात्मक काम गर्दै आएकोमा फागुनदेखि व्यवसायिक रुपमा दुना टपरी उत्पादनमा लागेको अध्यक्ष पुन बताउनुहुन्छ ।

खासगरी धार्मिक स्थल, पूजाआज गर्ने ठाउँ र सार्वजनिक कार्यक्रम हुने ठाउँबाट दुना टपरीको माग आउने गरेको उहाँको भनाइ छ । उद्योग संचालनमा आएको दुई महिनामै धेरै ठाउँबाट मागसँगै हौसाल थपिँदै गएपछि काम गर्न उर्जा थपिएको अध्यक्ष पुनले बताउनुभयो । उद्योगमा काम गर्ने महिलाहरुले मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्न सक्ने उहाँ बताउनुहुन्छ । हाल बजारीकरणमा कुनै समस्या नभएको भन्दै आयातित प्लास्टिकका सामग्रीलाई प्रतिबन्ध लगाउन सके स्थानीय उत्पादनले बजार पाउन सक्ने पुनको भनाइ छ ।

अध्यक्ष पुनले भन्नुभयो - “उद्यमशील महिला मगर संघले पाँच वर्ष अगाडि बङ्गुरपालन गरेका थियौँ, तर रोगले गर्दा सबै मरे, त्यस बेला हामीहरुले १६ लाखभन्दा बढी क्षति व्यहोर्नु पर्‍यो, त्यसपछि अहिले दुना टपरी उद्योग संचालन गरेका छौँ, राम्रो हुँदै गएको छ, बेरोजगार दिदीबहिनीहरुले रोजगार पाएका छौँ, अहिले जसरी माग आई रहेको छ, त्यो मागलाई पूर्ति गर्नका लागि अझै धेरै कामदार चाहिन्छ, यद्यपी हामीहरुले अल्ली बढी समय दिएका छौँ, घरको काम धन्दा सकाएपछि बल्ल यहाँ आउँछौँ, धेरै तिरबाट माग आउँदा निकै उत्साहित भएर काम गरि रहेका छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?