काठमाडौं । सूर्य नेपाल काठमाडौं ओपनको उपाधि निरज तामाङले जित्नुभएको छ । भुवन नगरकोटीलाई एक स्ट्रोकले हराएर कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८–अण्डर २६४ को स्कोरमा तामाङले उपाधि जित्नुभएको हो ।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८–अण्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गर्नुभएको छ । शिवरामले सन् २०१५ मा एनपिजिए प्रेसिडेन्ट्स कपमा ८–अण्डर स्कोर गर्नुभएको थियो ।
अन्तिम दिनको खेल सुरुवात गर्दा निरज तीन दिनका लिडर भुवनभन्दा सात स्ट्रोकले पछि हुनुहुन्थ्यो । तर, ८–अण्डरको प्रदर्शनसँगै उहाँले उपाधिसँगै एक लाख २० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापतीमाथि ६ स्ट्रोक र निरजमाथि सात स्ट्रोकको ठूलो अग्रता थियो । तर, भुवनले इभन–पार ६८ मा खेल पूरा गर्दा समग्रमा ७–अण्डर २६५ सहित दोस्रो स्थानमा रहनुभयो । उहाँले ८२ हजार प्राप्त गर्नुभयो ।
४–अण्डर ६४ खेल्दै समग्रमा २७१ सहित जयराम श्रेष्ठ तेस्रो हुनुभयो । उहाँले ६६ हजार हात पार्नुभयो । इभन–पार ६८ स्कोर गर्दै समग्रमा इभन–पार २७२ सहित तोरणविक्रम शाही चौथो हुनुभयो । उहाँले ५३ हजार प्राप्त गर्नुभयो । समग्रमा २–ओभर २७४ सहित पाँचौँ हुनुभएका धनबहादुर थापाले ४५ हजार आफ्नो नाममा लेखाउनुभयो । उहाँले इभन–पार ६८ खेल्नुभयो ।
उपाधिका दाबेदार मानिनुभएका सुवास तामाङ समग्रमा ४–ओभर २७६ सहित छैटौँ हुनुभयो । प्रो टर्न भएपछि पहिलोपटक घरेलु टुर खेल्नुभएका सुवासले ३३ हजार पाँच सय प्राप्त गर्नुभयो । समग्रमा ५–ओभर २७७ सहित दिनेश प्रजापती र रवि खड्काले सातौँ स्थान बाँड्नुभयो । उहाँहरूले जनही ३३ हजार पाँच सय नगद पुरस्कार बाँड्नुभयो । १–ओभर ६९ सहित समग्रमा ६–ओभर २७८ स्कोरमा रामे मगर नवौँ हुनुभयो । उहाँले २८ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
यसैगरी समग्रमा ७–ओभर २७९ सहित सञ्जय लामा र भुवनकुमार रोक्काले संयुक्तरूपमा दशौँ स्थानमा प्रतियोगिता पूरा गर्नुभयो । सञ्जयले ५–ओभर ७३ र भुवनले १–ओभर ६९ मा खेल पूरा गर्नुभएको हो । उहाँहरूले जनही २४ हजार नगद प्राप्त गर्नुभयो ।
एमेच्योरतर्फ समग्रमा १३–ओभर २८५ सहित सद्भाव आचार्यले उपाधि जित्नुभयो । उहाँले ७–ओभर ७५ मा खेल पूरा गर्दै टासी छिरिङलाई दश स्ट्रोकले हराउनुभयो । टासीले समग्रमा २३–ओभर २९५ स्कोर गर्नुभयो । उहाँले १२–ओभर ८० मा खेल पूरा गर्नुभयो । राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कुल ३०० स्कोरसहित तेस्रो हुनुभयो ।
निरजले कोर्स रेकर्ड बराबरी गर्ने क्रममा फ्रन्ट नाइन ५–अण्डर २९ मा पूरा गर्नुभयो । उहाँले पहिलोदेखि चौथो होलमा लगातार चार बर्डी प्रहार गर्नुभयो । नवौँ होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तिमा भुवनभन्दा मात्र एक स्ट्रोकले पछि हुनुहुन्थ्यो । भुवनले भने फ्रन्ट नाइन १–ओभर ३५ पूरा गर्नुभयो । भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलमा डबल बोगी र पाँचौँ होलमा बोगी खेप्नुभयो ।
निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिनुभयो । १०औँ होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गर्नुभयो । यसपछि १३औँ र १४औँ होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाउनुभयो ।
१६औँ होलमा हजार्डबाट बोगी खेले पनि १७औँ होलको उत्कृष्ट बर्डीले पुनः दुई स्ट्रोकको अग्रता बनाउनुभयो । उहाँले ब्याक नाइन ३–अण्डर ३१ मा पूरा गर्दा एक स्ट्रोकको जित निकाल्नुभएको थियो । भुवनले भने १२औँ होलको बोगीका विरूद्ध ११औँ र १८औँ होलमा बर्डी प्रहार गर्नुभयो । ब्याक नाइन १–अण्डर ३३ मा पूरा गर्नुभयो ।
जयरामले फ्रन्ट र ब्याक नाइन दुवै २–अण्डर ३२ मा पूरा गर्नुभयो । फ्रन्ट नाइनमा उहाँले दोस्रो, चौथो र आठौँ होलमा बर्डी प्रहार गर्नुभयो भने नवौँ होलमा एक सट खेर फाल्नुभयो । ब्याक नाइनमा उहाँले १३औँ, १४औँ र १७औँ होलमा एक–एक सट बचाउनुभयो भने १६औँ होलमा बोगी प्रहार गर्नुभयो ।
चारदिने प्रतियोगितामा ३२ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए । कुल पुरस्कार राशि सात लाख तीन हजार पाँच सय रहेको थियो । जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच