काठमाडौं । हिमाली मुलुक नेपालको गहनाका रूपमा रहेका याक चौंरी संकटमा पर्न थालेका छन् । सरकारी बेवास्ता, पुँजी, प्रविधि र बजारीकरणमा समस्या, नयाँ पुस्ता पेशाबाट पलायनलगायतका कारण याक, चौंरी संकटमा परेका हुन् । हिमाली रेन्जमा रहने भएकाले नेपाललगायत दक्षिणपूर्वी एसियाका सीमित मुलुकमा मात्रै याक चौंरी पाइन्छन् । नेपाल, चीन, भारत, पाकिस्तान, भुटान, मंगोलिया, काजकिस्तानमा मात्रै याक, चौंरी पाइन्छन् । संख्याका आधारमा चीनमा सबैभन्दा बढी रहेका छन् भने हालसम्म दोस्रो नम्बरमा नेपाल रहेको छ । खासगरी याक, चौंरी नेपालको पूर्वपश्चिम उच्च पर्वतीय र हिमाली रेन्जमा पालन गरिँदै आएको छ ।
नेपालको कृषिमा तुलनात्मक लाभको क्षेत्र मानिने याक चौंरीले निर्यात व्यापारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना त छँदैछ, त्यतिमात्र नभई याक चौंरी बहुआयामिक महत्वका पशुधन हुन् । पर्यावरणीयका साथै धर्म, कला संस्कृतिको पहिचान, पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान रहेको छ । याक, चौंरी भएकै कारण उच्च पर्वतीय क्षेत्रमा मानव बसोबास सम्भव भएको हो, उच्च पर्वतीय क्षेत्रको संरक्षण सम्वद्र्धन हुन सकेको हो, त्यहाँका जडीबुटी, वनस्पति संरक्षित भएका हुन् । याक, चौंरी लोप भएमा उच्च पर्वतीय क्षेत्रका सबै विशेषता लोप हुनेछन्, हराएर जानेछन् । किनभने याक चौंरीको मलमूत्रले त्यहाँका जडीबुटी फस्टाएका छन् । स्थानीयवासीको जीवनयापन सहज भएको छ, पर्यटनमा टेवा पुगेको छ । हिमाल हेर्न आउने पर्यटकहरू याक चौंरीसँग रमाउने गरेका छन् । चौंरी गोठालाले पर्यटकलाई गाइड गर्ने, बाटो देखाउने, स्थानीय विविध कला संस्कृतिलाई पर्यटकमार्फत् विश्वमा पु¥याउने कार्यमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
यस्तो बहुआयामिक याक चौंरीको व्यावसायीकरणमा जोड दिएमा पर्वतीय क्षेत्र र पर्वतीयवासीमात्रै नभई समग्र मुलुक नै समृद्ध बन्न सक्छ ।
याक, चौंरी दूध तथा दुग्धजन्य पदार्थमा मात्रै सीमित छैन । दुग्ध तथा दुग्धजन्य पदार्थबाहेक पुच्छर, रौं, छाला हड्डीसमेत बहुमूल्य मानिन्छ । उच्च पर्वतीय क्षेत्रका जडीबुटी खाने भएकाले याक चौंरीको दूध तथा दुग्धजन्य पदार्थमा औषधीय गुणसमेत हुने याक चौंरी कृषक महासंघका उपाध्यक्ष लालकुमार केसी बताउनुहुन्छ । केसीका अनुसार नेपालका २८ जिल्लामा चौंरीपालन हुन्छ । २८ मध्ये २५ जिल्ला हिमाली रेन्जमा पर्छन् । हिमाली रेन्जको ४० प्रतिशत भूभाग चौंरीको चरीचरन क्षेत्र छ ।
व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै
नेपालमा महत्वपूर्ण राजनीति परिवर्तन भए । राजतन्त्र गयो, लोकतन्त्र हुँदै गणतन्त्र आएको छ । मुलुकमा आत्मनिर्भर अर्थतन्त्र र समृद्धि ल्याउने भन्दै चर्का भाषणबाजी चल्ने गरेको छ । तर, मुलुक भने हरेक क्षेत्रमा झन्–झन् परनिर्भरतातर्फ धकेलिँदैछ । कृषि प्रधान मुलुकमा अर्बौंको खाद्यान्न आयात हुने गरेको छ भने यहीं हुने अन्य वस्तु तथा सेवाको आयात अवस्था झन् डरलाग्दो छ । वार्षिकरूपमा झण्डै १२ खर्बको आयात हुँदा एक खर्बको पनि निर्यात छैन । सोही कारण पनि लोकतन्त्र र गणतन्त्रले के दियो भन्ने प्रश्न पनि उठिरहेको छ ।
याक चौंरी किसानको गुनासो पनि त्यस्तै छ । व्यवस्था परिवर्तन भए पनि याक चौंरी किसानको अवस्था परिवर्तन भएन, बरु याक चौंरी किसानका समस्या झन् थपिँदै गए । सोही कारण याक चौंरीको संख्या निरन्तर घट्दै गएको हो । विगतमा नेपालमा दुई लाख हाराहारीमा याक चौंरी रहेकोमा अहिले घटेर ६८ हजार आठ सय ३१ मा झरेको केसी बताउनुहुन्छ ।
नेपालमा बहुदलीय व्यवस्था आएको ३५ वर्षसम्म पनि याक चौंरी कृषक संगठित नभएको र याक चौंरीको प्रवद्र्धनमा सरकारले बेवास्ता गरेकाले किसान नै संगठित नभई चौंरी संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुन नसक्ने ठहरसहित महासंघ गठन गर्नुपरेको उहाँको भनाइ छ । लोकतन्त्र र गणतन्त्रपछि अन्य क्षेत्र संगठित भए पनि याक चौंरी किसान संगठित हुन नसक्नुका मुख्य कारण भने विकट भौगोलिक दूरीले गर्दा एकअर्का किसानबीच सम्पर्क र निकटता नहुनु नै रहेको केसीको ठहर छ ।
भौगोलिक विकटताका कारण राज्यसँगको पहुँच नहुँदा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट याक चौंरी किसान वञ्चित हुँदै आएका छन् । तथापि याक चौंरी अभियन्ताको निरन्तरको दबाबपछि इसिमोड, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) समेतको पहलमा याक चौंरी कृषक महासंघ गठन सम्भव भएको केसी बताउनुहुन्छ । २०७९ को वैशाखमा पोखरामा भएको पहिलो भेलाले याक चौंरी कृषक महासंघ गठनको निर्णय गरेकोमा गत असोजमा विधिवत्रूपमा महासंघ दर्ता भएको थियो ।
याक, चौंरी जोगाउने चुनौती
चौंरीपालन पेशा कष्टकर भएकाले पुस्तान्तरण हुन नसक्दा याक चौंरीको संख्या घट्दो छ । याक चौंरीको संरक्षण र विस्तारका लागि सबैभन्दा पहिले सरकारले किसानलाई आकर्षित गर्नुपर्ने र त्यसका लागि विशेष प्याकेजसहित अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । चौंरीको वंश सुधारका लागि कृत्रिम गर्भाधानसँगै स्रोत केन्द्र व्यवस्था गर्न सकेमा चौंरीको संख्यासँगै उत्पादन पनि बढाउन सकिन्छ । जलवायु परिवर्तनको असरले खर्कहरूमा अखाद्य घाँस फैलिँदा पनि चौंरीको आहारामा प्रतिकूल असर परेको छ । त्यसैले खर्क सुधार कार्यक्रम, गोठ सुधार कार्यक्रम, प्र्रत्येक खर्कमा चिज प्रशोधन केन्द्र,, किसानका सन्तानलाई स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवा सुविधामा जोड दिनुपर्ने महासंघका माग रहेका छन् ।
त्यसैगरी चौंरीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि सहज नीतिगत व्यवस्था र वातावरण बनाइनुपर्ने, चौंरीलाई पनि गाईकै वर्ग राख्नाले चौंरीको मासुलगायतको बिक्री तथा निर्यात निरुत्साहित भएको र बुढा याक चौंरी व्यवस्थापनमा समस्या हुँदै आएकाले मासु उपयोग र निर्यात व्यवस्था गरेमा चौंरीपालन फस्टाउने महासंघले जनाएको छ ।
दोलखाका तत्कालीन जिल्ला सभापतिसमेत रहनुभएका महासंघका उपाध्यक्ष केसीका अनुसार याक चौंरीका तीन प्रकारका रौं हुन्छन् । जसबाट राडीपाखीदेखि उच्चस्तरको पस्मिनासमेत उत्पादन गर्न सकिन्छ भने हड्डीको टाँक, माला, पुच्छर चम्मरलगायतमा उपयोग हुन सक्छ । चौंरीको सबैभन्दा बढी उत्पादन घिउ र छुर्पी हो तर चौंरीपालन हुने धेरै ठाउँमा चिज कारखाना छैन । हाल सोलुखुम्बु, दोलखा र रसुवाका सीमित स्थानमा मात्रै चिज कारखाना छन् भने पाँचथरमा नेपाल डेरीको सहयोगमा हालै कारखाना स्थापना भएको छ ।
अहिले चौंरीको वंश सुधार नहुँदा नेपालमा रहेका चौंरीबाट दैनिक दुईदेखि साढे दुई लिटरमात्रै दूध उत्पादन छ । जसले गर्दा किसानले लागतअनुसार फाइदा पाउन सकेका छैनन् । चौंरीको चरीचरनमा समस्या हुँदै गएको छ । सामुदायिक वनले चर्काे शुःल्क लिने गरेका छन् भने राष्ट्रिय निकुञ्जहरूमा कडाइ गरिएको छ । त्यस्तै, बिमा समस्या छ । उल्लेखित समस्या समाधान गर्दै कृषि, वन, पर्यापर्यटनलाई जोडेर एकीकृत मोडलसाथ अघि बढ्न सकेमा मुलुक समृद्ध बन्न सक्ने केसी बताउनुहुन्छ ।
याक चौंरीको वंश सुधारका लाागि हाल सोलुको स्याङबोचेमा सरकारी फार्ममा परीक्षण भइरहेको छ । परीक्षणबाट नौ लिटरसम्म उत्पादन लिन सकिने देखिएको छ । चौंरी वर्षैपिच्छे ब्याउँछ भने सात महिना दूध दिन्छ तर कुनै कुनैले वर्षैभरि पनि दिने गरेको छ ।
केसीका अनुसार चौंरी अन्य पशुको तुलनामा निरोगी पनि हुन्छन् । शुद्ध खानपान तथा जडीबुटी खाने हुँदा हत्तपत्त रोग लाग्दैन भने दूध अत्यधिक पोषिलो र फुल फ्याटयुक्त हुने भएकाले महँगोमा विदेश निर्यात गर्न सकिने सम्भावना छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल पनि याक चौंरीबाट मुलुकले चौतर्फी लाभ लिन सक्ने सम्भावना रहे पनि राज्यले उपेक्षा गरेको बताउनुहुुन्छ । गाईभंैसीको दूध तथा दुग्धजन्य पदार्थको तुलनामा चौंरीको दूध तथा दुग्ध पदार्थ हाई भ्यालु प्रोडक्ट भएकाले चौंरी संरक्षण, प्रवद्र्धन र विस्तार गर्दै निर्यातमा राज्यले जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
अब पनि केही नगरे चौंरी लोप हुनेछन्
लालकुमार केसी
उपाध्यक्ष
याक चौंरी कृषक महासंघ
नेपालमा याक चौंरीको अवस्था कस्तो छ ?
विगतमा राम्रै थियो तर पछिल्लो समय नेपालमा याक चौंरी संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्था छ । किनभने याक चौंरीपालन निकै कठिन पेशा भएको र सरकारले चौंरी र चौंरी किसानलाई उपेक्षा गर्दै आएकाले नयाँ पुस्तामा आकर्षण छैन । नयाँ पुस्ता कि वैदेशिक रोजगारीमा जाने कि शहर केन्द्रित अन्य पेशा व्यवसायमा लाग्ने गरेकाले चौंरी पेशा संकटमा पर्दै गएको हो ।
अहिले देशभर याक चौंरीको संख्या कति छ ?
विगतमा दुई लाख हाराहारी रहेकोमा अहिले याक चौंरीको संख्या झण्डै आधाले घटेको अवस्था छ । निरन्तररूपमा घट्दोक्रममा रहेकोमा अहिले घटेर ६८ हजार आठ सय ३१ मा झरेको छ ।
सबैभन्दा बढी कुन जिल्लामा छन् ?
सोलुखुम्बुमा सबैभन्दा बढी १२ हजार दुई सय ३५ संख्यामा रहेका छन् भने सबैभन्दा कम लमजुङमा २५ मात्रै रहेका छन् ।
कति जिल्लामा याक चौंरीपालन हुने गरेको छ ?
नेपालका २८ जिल्लामा चौंरीपालन हुन्छ । २८ मध्ये २५ जिल्ला हिमाली रेन्जमा पर्छन् । किनभने हिमाली रेन्जका जिल्लाका ४० प्रतिशत भूभाग चौंरीको चरिचरन क्षेत्र रहेको छ ।
चौंरी प्रवर्द्धनका लागि सरकारले पनि केही त गरेको होला नि ?
सरकारको सहयोग नभएकै कारण यो पेशा संकटमा परेको हो । चौंरीपालक किसानसम्म राज्यको पहुँच नै छैन । किनभने चौंरीपालन उच्च पर्वतीय रेन्जमा हुन्छ । जहाँबाट राज्यका निकायहरू धेरै टाढा रहेका हुन्छन् । किसानले अधिकांश समय चौंरी गोठमै बिताउनुपर्ने भएकाले किसानसँग राज्यका निकायसम्म धाउने फुर्सद पनि हुँदैन भने धेरैजसो किसानलाई राज्यबाट सहयोग पाइन्छ, सहयोग माग्नुपर्छ भन्ने ज्ञान पनि हुँदैन ।
हालैै याक चौंरी कृषक महासंघ गठन भएको छ, महासंघ केका लागि ?
चौंरी नेपालको ऐतिहासिक धरोहर हो, सांस्कृतिक सम्पदा हो । यो कृषिमा तुलनात्मक लाभको क्षेत्र पनि हो । याक चौंरी कला, संस्कृति, पर्यटन प्रवद्र्धन, पर्यावरणसँग पनि जोडिएको छ । याक चौंरीकै कारण हाम्रो देशका उच्च पर्वतीय र हिमाली रेन्जमा बहुमूल्य जडीबुटी संरक्षित छन् भने चौंरीकै कारण उच्च पर्वतीय रेन्जमा मानव बस्ती छ । याक, चौंरी त्यहाँका मानिसको जीविकोपार्जनको माध्यम बनेको छ भने उनीहरूकै कारण नेपालमा याक चौंरी अस्तित्वमा छ । तर पनि अहिलेसम्म चौंरी र चौंरीपालक किसानलाई राज्यले केही दिएन । यस्तै अवस्था रहेमा नेपालबाट याक चौंरी नै लोप भएर जाने चिन्ता बढेको छ । त्यसैले यसको संरक्षण, प्रवद्र्धन, चौंरीपालक किसानको हक हितको संरक्षण गर्ने उद्देश्यले हामी संगठित भएका हौं ।
अहिले चौंरी किसान कति छन् ?
चौंरी किसानको तथ्यांक नै छैन । चौंरीको दूध तथा पदार्थ उत्पादन कति छ भन्ने पनि यकिन तथ्यांक हामीसँग छैन । सोही कारण हामी संगठन विस्तारसँगै किसानको तथ्यांक संकलनको काम पनि गर्दैछौँ ।
कति जिल्लाका किसान संगठित गर्नुभयो ?
हामीले ११ जिल्ला संघसमेत १३ संघ मिलेर महासंघ स्थापना गरेका थियौँ । हाल सात प्रदेशमध्ये लुम्बिनी र मधेश प्रदेशबाहेक पाँचवटा प्रदेशस्तरीय संगठन निर्माण भइसकेका छन् । १८ वटा जिल्ला संघ बनिसकेका छन् भने २८ वटै जिल्लामा संगठन बन्ने क्रममा रहेका छन् । हामी प्रथम महाधिवेशनको तयारी गर्दैछौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच