पिएसजीको जितमा मेस्सी र एम्बाप्पेको गोल

Read Time = 2 mins

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि तीन-शून्यको जित हात पारेको छ । पिएसजीको जितमा एम्बाप्पेले दुई तथा लियोनल मेस्सीले एक गोल गर्नुभयो । एम्बाप्पेलाई दुवै गोलमा मेस्सीले र मेस्सीलाई एक गोलमा एम्बाप्पेले असिस्ट गर्नुभएको थियो । खेलको २५औँ मिनेटमा एम्बाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । २९औँ मिनेटमा मेस्सीले एम्बाप्पेको पासमा टोलीका लागि दोस्रो गोल गर्नुभयो । ५५औँ मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २५ खेलबाट ६० अंक पुगेको छ । पराजित मार्से ५२ अंक जोडेर दोस्रो स्थानमा छ । पिएसजीले मार्सेलाई ८ अंकले पछि पारेको छ ।

यता, युनियन बर्लिनलाई पनि तीन-शून्य गोलअन्तरले पराजित गरेपछि बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । बायर्नको जितमा एरिक म्याक्सिम चुपो मोटिङ, किङ्सले कोमान र जमल मुसिएलाले गोल गर्नुभयो ।

खेलको ३१औँ मिनेटमा चुपो मोटिङको गोलबाट बायर्नले अग्रता लिएको थियो । ४०औँ मिनेटमा किङ्सले गोल गर्दै बायर्नको अग्रता दोब्बर पार्नुभयो । पहिलो हाफको इन्जुरी समयमा जमल मुसिएलाले तेस्रो गोल गर्नुभयो ।

यस जितले बायर्न शीर्षस्थानमा उक्लिएको छ । बायर्नको २२ खेलबाट ४६ अंक पुगेको छ । समान ४६ अंक नै रहे पनि बोरुसिया डर्टमुण्ड गोलअन्तरमा पछि छ । पराजित बर्लिन ४३ अंक जोडेर तेस्रो स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?