काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजमा शानदार जित निकालेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई चार विकेटले हराएको हो । रोहितले ११२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २०५ रनको लक्ष्य दुई बल अगाडि नै पूरा गरेको थियो । २७ बलमा अर्धशतक बनाउनुभएका रोहितले ४७ बलमै शतक पूरा गर्नुभएको थियो । ट्वान्टी २० मा रोहितको पहिलो शतक हो । रोहितले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्नुभएको थियो । उहाँ १९औँ ओभरको पाँचौँ बलमा आउट हुनुभएको थियो । टिमको जितका लागि रोहित एकल लडाइँ लड्नुभयो ।
रोहितबाहेक थप दोहोरो स्कोरका रूपमा कुशल मल्लले १६ रन बनाउनुभएको थियो भने अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट हुनुभयो । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले २४ रन बनाउनुभएको थियो । उहाँले १८ बलमा दुई चौका र एक छक्का हानेर क्याच आउट हुनुभयो । ओपनर अनिल शाह पाँच रन बनाएर क्याच आउट हुनुभयो भने विवेक यादव सात रनमा बोल्ड आउट हुनुभएको थियो । टिमको जितमा अन्तिम समयमा क्रिजमा आउनुभएका गुल्सन झा नौ रन र प्रतिश जिसी पाँच रनमा अविजित रहनुभयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ टोलीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०४ रनको योगफल तयार पारेको थियो । वेष्ट इण्डिज ‘ए’ का लागि कदिम एलियन १४ र किमो पल शून्य रनमा नटआउट रहनुभयो । कप्तान रोष्टन चेस ४७ रन बनाएर क्याच आउट हुन पुग्नुभएको थियो । ४६ बलमा नौ चौका र दुई छक्का हान्नुभएका रोष्टन अन्तिम ओभरको चौथो बलमा दीपेन्द्रको बलमा कुशल मल्लको हातबाट क्याच आउट हुन पुग्नुभएको थियो ।
ओपनर एलिक एथानाजेले ४६ रन थप्नुभयो । एलिस सातौँ ओभरको पाचौँ बलमा रोहित पौडेलको बलमा ललित राजवंशीको हातबाट क्याच आउट हुनुभयो ।
३८ रन बनाउनुभएका केसी कार्टी अविनाश बोहोराको बलमा दीपेन्द्रसिंह ऐरिको हातबाट क्याच आउट हुन पुग्नुभएको थियो । आन्द्रे फ्लेचर १३ रन बनाएर रन आउट हुनुभयो । जोनसन चाल्र्स शून्य रनमा नै कमल सिंह ऐरिको बलमा बोल्ड आउट हुनुभयो ।
पहिलो चार ओभरमा ५० र पावर प्लेको पहिलो ६ ओभरमा ७७ रन जोडेर वेष्ट इण्डिजको टोलीले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । एलिक एथान्जेको आक्रामक र कप्तान रोस्टन चेजले इनिङ्स तानेपछि वेष्ट इण्डिज ‘ए’ ले विशाल स्कोर बनाएको थियो ।
अनुभवी तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीबिनै खेलिरहेको नेपालबाट अविनाश, रोहित, दीपेन्द्र र कमलले एक-एक विकेट लिनुभयो । अविनाशले चार ओभरमा २८ रन मात्र खर्चनुभयो भने दीपेन्द्रले तीन ओभरमा ३० रन दिनुभयो । रोहितले आफ्नो एकमात्र ओभरमा १० रन दिनुभयो । कमलले तीन ओभरमा ५३ रन खर्चनुभयो । ललित राजवंशीले चार ओभरमा ३४ रन खर्चनुभयो ।
दुवै टोलीले अर्को वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने ट्वान्टी २० विश्वकपको तयारीका लागि यो शृंखला खेलिरहेका छन् । जितसँगै नेपालले पाँच खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल आज (आइतबार) हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच