राजकुमार कार्की/हिटा
ओखलढुंगा । ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले आफ्नो नयाँ भवनबाट सेवा सुरु गरेको छ । सानो भवनबाट सेवा दिइरहेको नगरपालिकाले ठूलो भवन निर्माणपछि सेवा प्रवाह सहज भएको छ । पुरानो भवनमा धेरै शाखा एउटै कोठामा राखेर सेवा प्रवाह गरिरहेको थियो भने नयाँ भवनमा सरेपछि विषयगत शाखालाई सेवा प्रवाह गर्न सजिलो भएको हो ।
पुरानो भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राही बस्ने ठाउँ पनि थिएन, नयाँ भवनबाट सेवा सुरु गरेपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको कार्यकारी अधिकृत बलराम लम्सालले बताउनुभयो । चारतले नवनिर्मित भवनको प्रत्येक तलामा सेवाग्राही प्रतीक्षा कक्षको व्यवस्था गरिएको छ । केही विषयगत शाखाहरूले भने पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
२०७८ साल असोजदेखि सुरु भएको भवन निर्माण कार्य तोकिएकै समयमा सम्पन्न भएको थियो । दुई करोड ५८ लाख आठ हजार ९४८.१९ लागतमा भवन जगदम्बा काली जेभी काठमाडांैले निर्माण गरेको हो । आयोजना सुरु गर्नुपर्ने मिति २०७८ साल असोज १ गते र सम्पन्न गर्नुपर्ने मिति २०७९ साल माघ ३ गते तोकिएको थियो । नयाँ भवनबाट सेवा प्रवाहपछि सेवा थप प्रभावकारी हुने र नागरिकले छिटोछरितो रूपमा सेवा लिनसक्ने नगरप्रमुख तेज खनाल (तेजेन्द्र) ले बताउनुभयो । नवनिर्मित उक्त भवन भदौ १७ गते उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रशासनिक नीतिगत कुरालाई सुधार गर्दै लैजाने र ओखलढुंगाको थप विकास गर्न पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सो अवसरमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री प्रदिपकुमार सुनुवारको पनि उपस्थिति रहेको थियो । तर, प्रशासनिक भवन अपांगमैत्री र ज्येष्ठ नागरिकमैत्री नभएको स्थानीयवासीले गुनासो गरेका छन् । चारतले भवनमा लिफ्टको व्यवस्था नभएकाले सेवा लिन अपांगता भएका तथा वृद्धवृद्धालाई सिँढी चढेर माथिल्लो तलामा जानुपर्ने बाध्यता छ । भवनमा लिफ्टको स्टिमेट डिजाइन गर्न चुकेकाले यस्तो भएको कार्यकारी अधिकृत लम्सालको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच