एपिएफ किक बक्सिङ च्याम्पियन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विभागीय एपिएफ वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा शनिबार सम्पन्न प्रतियोगितामा समान चार स्वर्ण, रजत र कांस्य पदकका साथ एपिएफ च्याम्पियन बनेको हो । तीन स्वर्ण, एक रजत र चार कांस्यका साथ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो र दुई स्वर्ण र एक रजत पदकका साथ फाइट क्लब तेस्रो भएको छ । स्ट्रोङगेस्ट एमटिकी सुष्मा चौधरी महिलातर्फ र सो क्योकोसिनका सागर दर्जी पुरुषतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिनुभयो ।

सुष्मा महिला ५५ केजी र सागर पुरुष ६० केजीका स्वर्ण पदक विजेता खेलाडी हुनुहुन्छ । उत्कृष्ट दुवैले समान २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो भने एपिएफकी गौरी घर्तीमगर उदयीमान खेलाडी छनोट हुनुभयो । टिम च्याम्पियन एपिएफले एक लाख, उत्कृष्ट मार्च पास टोलीसमेत घोषित भएको उपविजेता आर्मीले ५० हजार र फाइट क्लबले २५ हजार रुपैयाँ प्राप्त गरे ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा महिला र पुरुषमा समान ६ वटा गरी कुल १२ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । हरेक तौल समूहको विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो भएका दुई खेलाडीले समान ८ हजार रुपैयाँ प्राप्त गरे ।
महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुला गरी ६ तौल तथा पुरुषमा ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र खुला तौल गरी ६ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । बिहीबारदेखि सुरु भएको प्रतियोगितामा देशभरका २८१ खेलाडीको सहभागिता थियो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गर्नुभएको थियो । बागमती प्रदेश सांसद मीनकृष्ण महर्जनको परिकल्पनामा भएको प्रतियोगिताका सहभागी खेलाडी र अतिथिलाई जिल्ला खेलकुद विकास समिति र ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले धन्यवाद दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?