कांग्रेस नविन ढंगले रुपान्तरित हुँदैछ : महामन्त्री शर्मा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडी बढ्ने क्रममा रहेको बताउनु भएको छ ।

कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीले बुधबार सिन्धुलीमाडीमा आयोजना गरेको ‘वीपीको प्रजातान्त्रिक समाजवाद : अभ्यास, चुनौती र सम्भावनाहरु’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले कांग्रेस रुपान्तरित हुँदै गएको बताउनुभएकाे हाे ।

‘कांग्रेस सङ्लिने बेला हो, तंग्रिन बेला पनि हो । कांग्रेस नविन ढंगले अगाडी बढ्ने क्रममा छ । रुपान्तरित हुँदैछ । अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ,’ उहाँले भन्नुभयो ।

देश रुपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उहाँले सबै नेपालीले आत्मा सम्मानका साथ बाच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबको १५ वर्षमा हामी यस्तो देश बनाउन चाहन्छौँ, जहाँ कसैले पनि विभेदको सिकार हुनु नपरोस्, सबैले आत्मा सम्मानका साथ बाच्न सकुन् ।’

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीका संयोजक तथा कांग्रेस उपसभापति दीपक कुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २३ जनाभन्दा बढी कांग्रेस नेता, शुवेच्छुकहरुले राखेको सुझाव तथा जिज्ञासालाई पनि कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमा झन्डै आठ सय जना नेता तथा कांग्रेसका शुवेच्छुकहरुको सहभागिता थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?