फेसियल हाउसको महिला सशत्तीकरण विचार गोष्ठी तथा तीज कार्यक्रम

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । फेसियल हाउसले महिला सशत्तीकरण विचार गोष्ठी तथा तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गर्नुभयो । उहाँले सुन्दर हुन सबैलाई मन लाग्ने भन्दै आफू पनि सुन्दर हुन फेसियल हाउस आउने गरेको खुलासा गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले जबसम्म आर्थिक रूपका सशक्तीकरण भइदैन तबसम्म महिला सशक्तीकरण नहुने धारणा राख्नुभयो । महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताउनुभयो । उहाँले राम्रो काम गर्नेको पक्षमा आफू सधंै रहने गरेको जिकिर गर्नुभयो । राणाले फेसियल हाउसले सँधै राम्रो काम गर्ने गरेको र आफू सधंै फेसियल हाउसका साथमा रहेको बताउनुभयो ।

यस्तै, कर्पोरेट खबरका सञ्चालक उज्ज्वलजंग शाहले अहिले नेपालमा जुनसुकै काम गर्न निकै कठिन रहेको सुनाउनुभयो । अहिले निजी क्षेत्रलाई चौतर्फी रूपमा गिराउने कोसिस भइरहेको उहाँको भनाइ थियो । शाहले दैनिक हजारौं युवा रोजगारीका लागि विदेश जाने गरेको भन्दै केटाले मात्र कपाल काट्ने नभएर केटीले पनि कपाल काट्नुलाई पेशाको रूपमा बदल्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफू संस्कृति जोगाउन सधैं लागि पर्ने बताउनुभयो । उहाँले आफूले जेलमा बसेको बेलामा पनि गीत गाउने गरेको सुनाउनुभयो । कार्यक्रममा उहाँले आफ्नो प्रेमसम्बन्धको बारेमा पनि खुलासा गर्नुभयो । नेता चौधरीले श्रीमती रञ्जितलाई भगाउँदा गोजीमा ५० रुपैयाँ पैसा भएको सुनाउनुभयो ।

कार्यक्रममा हाउसकी प्रमुख कार्यकारी अधिकृत सुष्मा महराले तीज आउने बितिकै महिलाहरू व्यस्त हुने गरेको बताउनुभयो । उहाँले फरक प्रसंगमा महिलाको दुश्मन महिला नै हुने गरेको गुनासो गर्नुभयो । उहाँले अहिले देखिएको आर्थिक मन्दीको असरले देशलाई समस्यामा पार्ने बताउनुभयो । महराले आफूले धेरै मानिसलाई रोजगारी दिएको स्मरण गर्दै अनाहकमा पाउने दुःख, झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु आफ्नो गल्ती हो कि भन्ने जस्तो लाग्ने गरेको दुःखेसो पोख्नुभयो ।

कार्यक्रममा हाउसका उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरूको सहभागिता थियो । सो अवसरमा फेसियल हाउसले मन्त्री चौधरी र उहाँका श्रीमान् तथा नेउपाका नेता रेशम चौधरीलाई पुरस्कार प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?