बेलायतमा स्वास्थ्य रोजगारीका लागि ६०९ आवेदन

रमेश भारती
Read Time = 6 mins

काठमाडौं । बेलायतमा स्वास्थ्य क्षेत्रको रोजगारीमा जान छ सय नौजना नेपाली नर्सले आवेदन दिएका छन् । गत वर्ष नेपाल र बेलायत सरकारबीच भएको श्रम समझदारीअनुसार पहिलो चरणमा एक सय नेपाली नर्स बेलायत स्वास्थ्य क्षेत्रको रोजगारीमा पठाउन सरकारले गत साउनमा आवेदन खुलाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सय नेपाली नर्सका लागि गत जुलाई २० अर्थात् साउन ४ गते आवेदन माग गरेको हो । हालसम्म छ सय नौजना नर्सले आवेदन दिएको श्रम मन्त्रालयले जनाएको छ । तर, सबै प्रक्रिया पूरा गरेर ३० जना नर्सले मात्र आवेदन दिएको मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

बेलायत सरकारसँग भएको श्रम सम्झौताअनुसार सबै मापदण्ड पूरा गरी आवेदन पेश गरेका ३० जनामध्ये दुर्ईजनाले आइएलटिएसको नम्बर राखेर आवेदन पेश गरेका छन् भने ओइटी गर्ने २८ जना रहेको उहाँले बताउनुभयो । सहायक प्रवक्ता सुनुवारले भन्नुभयो, ‘बेलायतसँग भएको श्रम सम्झौतामा अंगे्रजी भाषा परीक्षा आइएलटिएसमा औसत सात र अक्युपेसनल इंग्लिस टेष्ट ओइटीमा ‘बी’ अंक ल्याएको हुनुपर्नेछ । अंग्रेजी भाषा परीक्षाको समेत नम्बर राखेर आवेदन पेश भएकाको संख्या ३० मात्र छ । ‘बेलायत रोजगारीका लागि आवेदन दिन नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुर्ई वर्षको अनुभव हुनुपर्छ । साढे दुर्ई महिना अवधिमा छ सय नौजनाले आवेदन दर्ता गराए पनि मापदण्ड पूरा गरेर ३० जनाले मात्र आवेदन पेश गरेका छन् ।’

छ सय नौजना नर्सले आवेदन दिए पनि सबै प्रक्रिया पूरा गरेर ३० जना नर्सले मात्रै आवेदन दिएको श्रम मन्त्रालयले जनाएको छ ।

हालसम्म आवेदन दिने नर्सको संख्या हेर्ने हो भने बेलायतले मागेको कामदारको संख्या परीक्षामा सामेल गराउन मुस्किल हुने उहाँको भनाइ छ । इच्छुक नर्सले १९ अक्टोबर २०२३ सम्म वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत् आवेदन दिन सक्ने श्रम मन्त्रालयले जनाएको छ ।

यस्तो छ मापदण्ड
बेलायत स्वास्थ्य क्षेत्रको रोजगारीमा जाने स्टाफ नर्स, बिएन, बिएससी नर्सिङ, एमएन गरेकाले आवेदन दिन पाउँछन् भने अंग्रेजी भाषा परीक्षा आइएलटिएसमा औसत सात र ओइटीमा ‘बी’ अंक ल्याएको हुनुपर्नेछ । बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि पारिश्रमिक र सेवासुविधा थप बढ्न सक्छ । भर्ना प्रक्रियालाई नेपाल र बेलायतले पाइलट परीक्षणका रूपमा लिएका छन् । दुर्ई देशबीचको समझदारीअनुसार भर्ना प्रक्रियामा रोजगारदाता, कुनै संस्था वा म्यानपावर कम्पनी वा कुनै पनि एजेण्ट समावेश हुने छैनन् । भर्नाको सबै प्रक्रिया वैदेशिक रोजगार विभाग र हृम्यासपेयर हस्पिटल (एनएचएस) फाउण्डेसन ट्रष्ट युकेले गर्नेछन् ।

मासिक चार लाखसम्म तलब
बेलायतमा जाने नेपाली नर्सले मासिक चार लाख नेपाली रुपैयाँसम्म तलब पाउने श्रम मन्त्रालयले जनाएको छ । बेलायत गएका नेपाली नर्सले त्यहाँको स्वास्थ्यकर्मीसरह अधिकार, सेवासुविधा, सुरक्षा र सम्मान पाउने श्रम मन्त्रालयको भनाइ छ । दुर्ई देशबीच भएको श्रम सम्झौतामा त्यहाँ जाने स्थास्थ्य क्षेत्रका कामदारले छनोट भएपछि लागत खर्च तिर्नुनपर्ने श्रम मन्त्रालयले जनाएको छ ।

सरकारले बेलायतमा नेपाली नर्स पठाउन श्रम सम्झौता गरेको एक वर्षपछि मात्र परीक्षा गराउन लागेको हो । नेपाली नर्सका लागि बेलायत राम्रो रोजगार गन्तव्य देश बन्ने श्रम मन्त्रालयले बताउँदै आए पनि आवेदन दिने नर्सको संख्या हेर्दा मागअनुसारका नर्स पठाउन समस्या हुने श्रम मन्त्रालयकै कर्मचारी बताउँछन् । नेपालका विभिन्न अस्पताल र स्वास्थ्य क्षेत्रमा कार्यरत अथवा कुनै पनि मान्यताप्राप्त हस्पिटलमा दुर्ई वर्षको अनुभवसँगै अंग्रेजी भाषा राम्रो भएका नर्समात्र बेलायतले रोजगारीमा लिने गरी श्रम सम्झौता भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?