सिन्धुली । स्वादिलो चट्पटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । ‘दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,’ उहाँले भन्नुभयो ।
तामाङ मंगलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नम्बर ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चट्पटे पसलमा भेटिनुभएको थियो ।
जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा व्यवसायी ठेलागाडामा चट्पटेका सामान राखेर बिक्रीका गर्न बस्छन् । साथीहरुसँग भेटघाट हुँदा होस् वा दिउँसोको खाजा खाने समय तन्नेरी तामाङ त्यतै पुगिहाल्नु हुन्छ ।
उहाँजस्तै चट्पटे, पानीपुरी खाने ग्राहकको रहर लाग्दो उपस्थितिले व्यवसायीलाई जाँगरिलो बनाएको छ । ठेलागाडामा चट्पटे, पानीपुरी मात्रै बेच्दै आएका व्यवसायी तथा व्यापारीले खाजाका ‘आइटम’ थप्दै गएछन् ।
चट्पटे, पानीपुरीसहित समोसा, जुलेवी, चनाभुजा, आलुचप, पकौँडा, कचौँडी एकै ठाउँमा राख्न थालेका छन् । ठेलागाडामा व्यवसाय गर्नेहरुले बनाएका खानेकुरा स्वादिष्ट हुने उपभोक्तामा छाप बस्दै गएको छ । जतिनै प्रकारका खानेकुरा बोकेपनि सबैभन्दा बढी बिक्ने पिरो, अमिलो जिव्रोमा च्वास्सै लाग्ने चट्पटे र ट्वाक्क परेको पानीपुरी हो । यसको व्यापार सदाबार हुने व्यवसायी समिरा सुब्बाले बताउनुभयो ।
‘चट्पटे, पानीपुरी सबैले मन पराउँछन्,’ विशेषगरी दिउँसो खाजा खाने समय र विद्यार्थीहरुको विद्यालय छुट्टी भएपछि बनाएर दिन भ्याईनभ्याई नै हुन्छ । विद्यार्थी, कर्मचारी, युवायुवती बढी आउँछन्, उहाँले भन्नुभयो ।’
दुधौली नगरपालिका–११ पत्रिङ्गामा उहाँको घर छ । पाँच वर्षदेखि छोराछोरी पढाउन जिल्ला सदरमुकामस्थित मधुटारमा कोठाभाडामा लिएर बस्दै आउनु भएकी सुब्बाले आफ्नो कोठा नजिकै चट्पटे व्यापार गर्न थाल्नु भएको दुई वर्ष पुग्नै लाग्यो ।
एक छोरा र एक छोरीकी आमा सुब्बा कोठाको कामधन्दा सकाएर दिउँसो १२ बजे मात्रै व्यापार गर्न निस्कनु हुन्छ । साँझ ६ बजेसम्म ठेलागाडामा चट्पटे पानीपुरी बेच्न खटिनु हुन्छ । यसको व्यापार कम लगानीमा गर्न सकिने भएकाले जोकोहीले गर्न सक्ने उहाँको बुझाई छ । उहाँले २५ हजारबाट व्यवसाय सुरु गर्नुभएको हो ।
‘१५ महिनाअघि २० हजार ठेलागाडा र ५ हजार चट्पटे, पानीपुरीको सामानमा लगानी गरेर यो व्यवसाय सुरु गरेको थिए,’ उहाँले भन्नुभयो, ‘व्यापार, व्यवसायले हामीलाई आत्मानिर्भर बनाउने रहेछ । दुई वर्षदेखि रोजगारी नपाएर श्रीमान घरैमा हुनुहुन्छ । ४ जना परिवारको खर्च यसैको कमाईले टारिराखेको छु ।’
३० हजारको लगानीमा सुरु भएको चट्पटे व्यवसायबाट मासिक ४० हजार बचत हुने मुकेश चौधरीले बताउनुभयो । पढाईमा ५ कक्षा उत्र्तिण नगर्नु भएका चौधरीले सिन्धुलीमाडी बजारमा चट्पटे व्यापार गरेरै १५ वर्ष विताईसक्नु भएको छ ।
२० हजारको ठेलागाडामा चट्पटे, पानीपुरीको सामान, पकौडा, आलुचप, चनासहितको खाजासेट तयार गर्न ग्यास चुलो राखिएको हुन्छ । सोही ठेलागाडा ठेल्दै उहाँ मधुटारदेखि लोकतान्त्रि चोक, १ नम्बरबजार, गैरीबजार हुँदै २ नम्बर बजारसम्म पुग्नु हुन्छ । ये यात्रामा विहान ६ बजे निस्कनु भएका चौधरीलाई राती ९ बजेसम्म चट्पटेसहितको खाजा सेट तयार गरेर बेच्न भ्याईनभ्याई हुन्छ । बजारमा कपडा, खाद्यन्न, तरकारी, भाडाकुडाँ लगायतको व्यापार गर्न बसेका अधिकाँस व्यापारी उहाँको ठेलामा तयार भएका खानेकुरा खान रुचाउँछन् ।
पहिला चट्पटे र पानीपुरी मात्रै बेच्नु हुने चौधरीले खाजाको ‘आइटम’ थपेसँगै व्यस्तता बढेर गएको छ । दिउँसोको खाजा खाने समयमा जीवन संगिनी रानीदेवी चौधरी र उहाँलाई धौधौनै पर्छ । रानीदेवीकाअनुसार उहाँकोमा दैनिक ५० देखि एक सय जना बढी खाजा खाने ग्राहक हुन्छन् ।
ठेलागाडामा गरेको व्यवसाय भएपनि सफा, स्वादिष्ट र गुणस्तर हुने भएकाले सबैको रोजाइमा परेको उहाँको बुझाई छ । ‘चट्पटे, पानीपुरी स्वादिष्ट बनाउन सबै मरमसलाको मात्रा मिलाउन सक्नुपर्छ । गेडागुडी, काक्रो, बन्दाकोभि, आलुचप, कचेडी, टमाटर, प्याज, चाउचाउ, दालमोट लगायतका कुरा भुजामा मिसाएर हेर्दै खाँऊ–खाँऊ लाग्ने बनाउनु पर्छ,’ व्यवसायी रानीदेवीले भन्नुभयो, ‘हामीले खुवाउने खानेकुरा गुणस्तर हुनुपर्छ । सरसफाईमा ध्यान दिनुपर्छ । व्यवसायीक सम्मान, सत्कारमा कमी गर्नुहुँदैन । फाइदामात्र कमाउनेभन्दा पनि बजारमा कसरी टिक्ने भन्ने कुरामा ध्यान दिन सके आफुले गरेको व्यापार, व्यवसायप्रति ग्राहकलाई आर्कषण गरिरहन सकिन्छ ।’
व्यापार, व्यवसाय गर्नेहरुले आफ्ना सेवाग्राहीलाई माया गर्न जरुरी रहेको व्यवसायी मुकेशको बुझाई छ । त्यसैले आफ्नो पसलको नाम ‘लभ्ली चट्पटे, पानीपुरी पसल’ राखेको उहाँले बताउनुभयो । यस पसलले चौधरी दम्पती स्वरोजगार मात्रै भएका छैनन्, आम्दानीबाट सिन्धुलीमाडीको धुराफाँटमा ७ धुर घडेरी जोडिसकेका छन् । महोत्तरीमा २ धुर घडेरी किनेर एक तले पक्का घर बनाइसकेको चौधरी दम्पती बताउँछन् । ३ छोरा र एक छोरीको पढाई खर्चसहितकासबै खर्च यसैबाट चलेको छ ।
बाहिरी जिल्लाबाट सिन्धुली आएर चट्पटे, पानीपुरी मात्रै व्यापार गरेर आफ्ना सन्तानलाई बोडिङमा पढाउनेलगायतका सबै खर्च टारेर घरजग्गा जोड्ने चौधरी दम्पती त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता उदाहरण जिल्लामा अरु पनि थुप्रै छन् ।
३५ वर्षपहिले जयलाल शाह तन्नेरीमै सर्लाहीबाट चट्पटे व्यापार गर्नैको लागि सिन्धुली आउनु भएको थियो । ६८ वर्ष पार गरिसक्नु भएका शाहले सिन्धुलीमाडीमा चट्पटे र पानीपुरी बेचेरै घरजग्गा जोड्नु भएको छ ।
अहिले उहाँ बुढ्यौली रोगले व्यापार सक्रिय हुन हुन्न । आफुले गदैँ आएको चट्पटे व्यापार सम्हाल्ने जिम्मेवारी बुहारी मञ्जु शाहलाई दिनुभएको छ । उहाँले दुई छोराछोरीलाई यसैबाट भएको आम्दानीले पढाई रहनुभएको छ । कनपा–६ आनन्दनगरमा बसोबास गर्ने ५ जनाको शाह परिवारले जिविकोपार्जनका लागि अरु कुनै विकल्प सोच्न परेको छैन ।
२५ वर्षे रवि शाहले चट्पटे, पानीपुरी व्यापारमा आफ्नो वर्तमान मात्र नभएर भविष्य पनि देख्नुभएको छ । बाजे र बुबाले गर्नुभएको पेसालाई उहाँले निरन्तरता दिनुभएको हो । १० जना परिवारको जिविका यही व्यापार, व्यवसायबाट चलेको उहाँले बताउनुभयो ।
‘जागिर गर्दा अरुको चाहनामा चल्नु पर्छ । आफ्नो व्यापार, व्यवसायको आफै मालिक हो । कसैको दबाबमा काम गर्नु पर्दैन । आफ्नो इच्छा, चाहना र खुसिअनुसार मन लागेको गर्न पाइन्छ । यसमा स्वतन्त्रता हुन्छ, स्वाभिमानसहितको सम्मानीत जिवन विताउन पाइन्छ,’ युवा व्यवसायी शाहले सुनाउनुभयो ।
उहाँकाअनुसार सिन्धुलीमाडीमा चट्पटेको व्यापार सुरु गर्ने पहिलो व्यवसायी आफ्ना हजुरबा लक्ष्मण र बुबा महन्त शाह हुन् । २०३२ सालमा उहाँहरुले सुरु गर्नुभएको व्यवसायलाई छोरानातीले समेत पछ्याउदै आएका छन् ।
व्यवसायबाट बाबु–बाजेले सबै परिवारको खर्च टारेर घरजग्गा लगायतका सम्पति जोड्न सफल भएकाले आफूहरुले पनि यसैमा भविष्य देखेको युवा व्यवसायी शाहको भनाई छ ।
३० वर्षदेखि सिन्धुलीमाडीमा चट्पटे बेच्दै आउनु भएका सिता देवि ठाकुर र कमला चौधरी पछिल्लो समय चट्पटे, पानीपुरी व्यापार, व्यवसायमा समस्या, चुनौती थपिएका धारणा राख्नुहुन्छ । सामान महंगिएकोले व्यापारबाट पहिलाजस्तो आम्दानी लिन नसकेको, व्यापारी र व्यवसायी बढेकाले एकअर्कामा प्रतिष्पर्धा हुने गरेको, सेवाग्राहीहरु मिठो, सस्तो, गुणस्तर खोज्ने र बजारमा प्रतिष्पर्धा गरेर बेच्नु परेकाले पहिलाको भन्दा आम्दानी घटेको उहाँले बताउनुभयो ।
बजारक्षेत्रमा ठेलागाडामा चट्पटे, पानीपुरी व्यापार गर्ने व्यवसायीहरुलाई नगरपालिकाले विभिन्न बहानामा दुख दिने गरेकोसमेत उहाँले गुनासो गर्नुभयो । स्थानीय सरकारले व्यवास्ता गरेको सानो लगानीमा सुरु गर्न सकिने र खाजाको रुपमा अधिकाँश व्यक्तिको रोजाइमा पर्ने पिरो, अमिलो चट्पटे, पानीपुरी व्यवसाय जिल्लामा फष्ट्याउँदै गएको छ ।
सिन्धुलीको सिन्धुलीमाडी, खुर्कोट, ढुङ्ग्रेवास, चियाबारी, नयाँखर्क, मुलकोट, डकाहा, दुधौली, मरिण लगायत जिल्लाभरका मुख्य–मुख्य चोकमा चट्पटे, पानीपुरीको व्यापार बढेको छ । यसबाट व्यवसायीले राम्रै आम्दानी पनि लिँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच