
काठमाडौं । विगत वर्षजस्तै यसवर्ष पनि महँगीका कारण नेपालीहरूको महत्वपूर्ण चाड दशैँ, तिहार र छठ बोझिलो बन्ने भएको छ । २०८० भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा पनि यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को भदौसम्मको तथ्यांक अनुसार मूल्य वृद्धि ८.१९ प्रतिशत पुगेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३, तराई ७.०३, पहाड ८.०९ र हिमालको ११.३२ प्रतिशत रहेको छ । २०७९ भदौमा उक्त क्षेत्रहरूको मुद्रास्फीति क्रमशः ७.६२, ९.३३, ८.८२ र ६.६८ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.४६, चिनी तथा चिनीजन्य वस्तु १७.८६, तरकारी १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थ १३.३८ र दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत छ । त्यसो त केन्द्रीय बैंकको तथ्यांकभन्दा पनि महँगीदर उच्च रहेको विज्ञहरूले बताउने गरेका छन् ।
विदेशिने घट्दा पनि रेमिट्यान्स बढ्यो
चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स आय २२.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.८ प्रतिशत मात्रै वृद्धि भएको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने २८.३ प्रतिशतले घटेर ७४ हजार चार सय ५५ मा झरेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८.३ प्रतिशतले घटेर ३२ हजार चारमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।
५३ अर्बभन्दा बढी शोधनान्तर बचतमा
चालु आर्थिक वर्षको भदौमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २० अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेर २०८० भदौमा १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।
निर्यात, आयात दुवै खस्कियो
आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले घटेर २६ अर्ब ४५ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५.६ प्रतिशतले घटेको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३३८.५ र ५.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, अलैँची, पार्टिकल बोर्ड, पोलिस्टर धागो, जुसलगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैँचा, औषधि (आयुर्वेदिक) लगायत वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले घटेर दुई खर्ब ५९ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.२ प्रतिशत र २१.५ प्रतिशतले घटेको छ भने चीनतर्फको आयात २५.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा एमएस तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामानलगायतको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधि, एमएसविलेट लगायतको घटेको छ । चालु आर्थिक वर्षको दुई महिनामा कुल वस्तु व्यापारघाटा ४.७ प्रतिशतले घटेर दुई खर्ब ३३ अर्ब ३० करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच