हिन्दुहरूका घरमा महान चाड विजया दशमीको हलपहल छ । यो पर्वमा आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवरात्र भनेर शक्तिको आराधना गरिन्छ र दसौँ दिन मान्यजनबाट टीका र जमराका साथ आशीर्वाद ग्रहण गरिन्छ । यही दिन विजया दशमी हो।
नेपालभित्रै पनि ठाउँअनुसार टीका–जमरा ग्रहण गर्ने र आशीर्वाद लिने चलन फरक छ । पश्चिम नेपालका केही ठाउँमा विजया दशमीका दिनमात्र टीका लागाइन्छ । पूर्वी नेपालतिर दशमीदेखि पूर्णिमासम्म टीका लगाउन चलन छ । खास गरी टाढाबाट आउने पाहुनाका लागि पूर्णिमासम्म टीका लगाउने चलन चलेको हुनुपर्छ । एकैदिन मात्र टीका लगाउने प्रचलनले टीका ग्रहण गर्न मान्यजनकोमा जानुपर्नेलाई निक्कै समस्या भएको देखिन्छ ।
शरद ऋतुको आगमनसँगै प्रकृति सुन्दर हुन्छ । अनेक थरी फूलहरू फुल्छन्। गाउँघरका डाँडापाखा हराभरा हुन्छन्। वृद्धवृद्धाले मात्र धानेको त्यो उजाड बस्ती थोरै दिनका लागि भएपनि सहरबाट गाउँ पुगेका युवाहरूले चलायमान बनाउँछन् । प्राकृतिक र सामाजिक वातावरण रमाइलो हुन्छ ।
शरद ऋतुको आगमनसँगै प्रकृति सुन्दर हुन्छ । अनेक थरी फूलहरू फुल्छन्। गाउँघरका डाँडापाखा हराभरा हुन्छन्। वृद्धवृद्धाले मात्र धानेको त्यो उजाड बस्ती थोरै दिनका लागि भएपनि सहरबाट गाउँ पुगेका युवाहरूले चलायमान बनाउँछन् । प्राकृतिक र सामाजिक वातावरण रमाइलो हुन्छ ।
त्यो रमाइलोबीच पनि धेरैलाई खिन्नता पनि हुन्छ । कतिपयलाई त दसैँ नआएकै भए पनि हुन्थ्यो भन्ने पनि लागेको हुन्छ । कसैले दसैँका छोराछोरी विदेश जान बिदा गर्नु परेको छ । विदेशबाट घर आउन तयार परेको कोही आउन नपाउने भएको छ ।
सुन्दर सपना लिएर इजरायल पुगेर आफ्नो काम सुरु गर्दै गरेका सन्तानले हमासको आक्रमणमा ज्यान गुमाउनु परेका तथा बेपत्ता भएका जवानको परिवारमा के हालत होला ! घर फर्किन पाए हुन्थ्यो भनेर उतै कुरी बसेकाको मनमा के खेल्दो होला !
दसैँमा पनि डेंगु त लागेकै छ । घरैपिच्छे कसै न कसैलाई ज्वरो आएकै छ । दैनिक आवश्यक पर्ने २२२० क्यालोरी शक्ति प्राप्त हुने गरी खान नपाउने परिवार पनि छन्। तिनले पनि दसैँको केही न केही जोहो गरेकै हुन्छन्।
हामीले महान चाड भनेको र मानेको यही दसैँले कतै सामाजिक विभेदको खाडल झन् गहिरो त बनाउँदै छैन भन्ने पनि लाग्छ । मेरो मनमा यस्ता अनेक प्रश्नहरू दौडिन्छन्।
खै किन हो कुन्नि! मेरा लागि पनि यसपालिको दसैँ सधैँको जस्तो छैन। मन फिक्का लाग्दैछ । स्कुल–कलेज पढ्दा दसैँ नजिकिँदै आएपछि मन फुरुंग हुन्थ्यो । छुट्टी हुन यति दिन बाँकी भनेर औँला गनेको गन्यै, क्यालेन्डर पल्टाको पल्टाइ हुन्थ्यो। नयाँ नोट साट्न बैंकमा लाइन लाग्न गएपछि चाहिँ घर जाने दिन आइहाल्थ्यो ।
दसैँका मुखमा धेरै वर्षदेखि काठामाडौंमा यस्तै चल्दै आएको हो। सानोतिनो किनमेल पनि हुन्थ्यो; हजुरआमालाई श्रीखण्ड चन्दन, गोकुल धुप र प्रसादको पोको, बाबालाई ज्वारीकोट, आमालाई एउटा पछ्यौरा र खत्राकखुत्रुक सामान ।
दसैँका मुखमा धेरै वर्षदेखि काठामाडौंमा यस्तै चल्दै आएको हो। सानोतिनो किनमेल पनि हुन्थ्यो; हजुरआमालाई श्रीखण्ड चन्दन, गोकुल धुप र प्रसादको पोको, बाबालाई ज्वारीकोट, आमालाई एउटा पछ्यौरा र खत्राकखुत्रुक सामान ।
यसपालि नोट साट्न बैंकमा लाइन लाग्नु परेन, घर जाने भनेर केही किन्नु पनि परेन। दसैँमा घर जानु पनि छैन। किनभने, यसपालि हाम्रो घरमा दसैँ छैन, दसैँ आउँदैन।
दसैँ हर्षोल्लासको प्रतीक पनि हो। घरमा दसैँ नभएपछि हर्षोल्लास हुँदैन । सामाजिक रूपमा जेजस्तो भए पनि प्रकृति सबैका लागि समान छ । दसैँ नआएका घरमा पनि बिहानको घाम उस्तै छ। कुनै वर्ष छिमेकमा दसैँ आएन त कुनै वर्ष कोही आफन्तकोमा । यसपालि हाम्रो घरमा आएन।
प्रकतिको आफ्नो निमय छ, अकाट्य छ। समाजको आफ्नै नियम छ। प्रकृतिको सामना नगरी हुने भएन, समाजको थिति आफ्नो ठाउँमा छँदैछ।
दसैँ नभए तापनि सहरलाई रित्तो पारि सबै साथीभाइ आआफ्नो गाउँघरतिर लागेको देख्दा मेरो मनले पनि त्यतै निर्देशन गर्दै भन्छ : गाउँमा त्यो झुपडीले तँलाई कुरेको छ। तँ हिँडेका र खेलेका पाखापखेराले सम्झिराखेका छन्। सहरबाट र विदेशबाट गाउँ पुगेका साथीहरूले पनि बाटो हेरेका होलान्। सरायँ नाचको हुलमा पनि मलाई खोज्न साथीहरू आँखा डुलाउँदा हुन् !
पढाइ र कामको सिलसिलामा काठमाडौं बसेको डेढ दशक हुनै लागेछ । एकएक गर्दै फर्केर हेरेँ, दसैँमा घर नगएको यस वर्षमात्रै रहेछ ।
आफ्नो घरमा दसैँ नभए पनि घर जान मन नगरेको होइन । बसको टिकट काट्न खुट्टा नउचालेको पनि होइन । जाऊँ कि नजाऊँको दोधारले बेलामा निर्णय भएन ।
एक दिन त टिकट काट्न भनेर बसपार्कतिरै हिँडेको थिएँ, अलिक पर पुगेर फर्कें। टोलाउँदै ओछ्यानका पल्टेँ। श्रीमतीले सोधिन्– के भो? टिकट काट्न जानुभएन? टिकट ल्यउँछु भनेर हिँड्नुभएको होइन?
सन्नाटा छायो । एक छिनपछि बोलेँ– अहँ, अब यसपालि घर नजानेँ, जान मन भएन ।
हाम्रा हजुरबाआमाको परिवार निकै ठूलो, पाँच भाइ छोरा एक छोरी । मैले मेरा हजुरबुबालाई देख्नजान्न पाइँनँ। हजुरबा निकै विद्वान्, संस्कृतका पारङ्गत, कथावाचक पण्डित हुनुहुन्थ्यो रे! यो पनि सुनेको कुरा, उहाँसँग संगत गर्ने अवसर जुरेन। गाउँमा बुढापाकाले नन्दलाल पण्डितको नाति भन्थे, हजुरबाजस्तै विद्वान् भएस् भनेर आशीर्वाद दिन्थे।
हजुरबासँग पढ्न र संगत गर्न नपाए पनि वंशानुगत गुणले हो कि, मैले संस्कृत भाषा पढेँ। संस्कृतमै आचार्य तहसम्मको पढाइ गरेँ। संस्कृत पढाइले कानून पढ्न मद्दत ग¥यो। संस्कृत वाङ्मयले जीवनको आदर्श र मूल्य सिकायो।
अर्घाखाँचीको हाम्रो गाउँ रानिबास टप्प मिलेको छ। बस्ती सुन्दर छ । नामै रानिबास, कुनै समयकी रानी घुम्दै आउँदा बास बसेको ठाउँ भएर रानिबास भनेको रे! त्यही गाउँमा हाम्रा हजुरबाआमाका सन्तान फैलिएर बसेका थियौँ। हाल सबै त्यहीँ नभए पनि निख्रिएका छैनौँ।
केही वर्षअघिसम्मको कुरा, बाटोको छेउमै ठूलोबाको घर, सबभन्दा पल्लो छेउमा हाम्रो, बीचमा बुढो घर, यसै अरू घर पनि थिए । घर नपुग्दै म गाउँ पसेको आमालाई थाहा हुन्थ्यो। सबैसँग ढोगभेट गर्दै पल्लो छेउको आफ्नो घर पुग्थेँ। आमा बाटो हेरेर बस्नुहुन्थ्यो।
सबैभन्दा पहिला ठूलोबालाई भेट्थेँ। ठूलोबा लामो समयदेखि दमको बिरामी । नजिकैको आँपको बोटको छाहारीमा कुर्सीमा बसेर कुरा गर्दा आफ्नो बिमार सन्चो भए जस्तो मान्नुहुन्थ्यो । कोही न कोही आएर गफ गर्न पाए हुन्थ्यो, एक्लै हुन नपरे हुन्थ्यो भन्ने ठान्नुहुन्थ्यो। केटाकेटी, बुढाबुढी सबैसँग घुलमिल हुने र सानै कुरामा पनि खुसी हुने स्वाभाव थियो ।
ठूलाबा दुई वर्षअघि यो संसारबाट बिदा हुनुभयो। त्यो खबर आउँदा म अफिसमा थिएँ । ठूलाबासँग खुब घुलमिल थिएँ, अफिसमा मन थामे। कोठामा आएपछि मन थामिएन, निकै बेर घुँक्कघुँक्क रोएँ।
लोकसेवा आयोगको परीक्षामा सहभागी हुनु थियो, म शोकको त्यो घडीमा परिवारजनमा सहभागी हुन सकिनँ। दाइ जानुभो। दसैँको छुट्टीमा गएँ तर ठूलाबा हुनुहुन्थेन। ठूलीआमालाई भेट्न निकै साहस बटुल्नु प¥यो। गह्रौँ पाइला उचाल्दै साँझमा पुगेँ। ठूलीआमाको फेरिएको श्वेत पहिरनमा आँखा परे।
भारी मन लिएर गोडामा निहुरिन गएँ, ढोग्न मिल्दैन भन्नुभयो। उही पुरानै शैलीमा सन्चो बिसन्चो सोध्नुभयो– 'सन्चै आइयु? अइले त अल्लि मोटाइचिउ।'
यति बोलिसक्दा नसक्दै ठूलीआमाका आँखा भरिएर बगे। मेरो मन थामिएन।
यसपालि उस्तै छ। बाटोमा साइँली आमालाई भेटेर अघि बढ्थेँ। दाजुभाइहरू परदेशमा भएकाले घरमा प्रायःजसो साइँलीआमा एक्लै बस्नुहुन्थ्यो। म ‘दर्शन आमा’ भन्दै बाहिरैबाट बोलाउँथे। साइँलीआमा ‘सन्चै राम्रै आइयु’ भन्दै बाहिर निस्किनुहुन्थ्यो। निहुरिँदै ढोगेरमात्र अघि बढ्थेँ।
साइँली आमा सकेसम्म खुट्टा ढोग्न नदिने, ‘काँ खुट्टो समातिरा’ भन्दै हात दिनुहुन्थ्यो। म खुट्टामै ढोग्थेँ।
बोल्दाबोल्दै केही न केही खाने चिज तयार पारिहाल्नुहुन्थ्यो। छुट्टी कति दिन छ, कति दिन बस्ने, कहिले जाने; यस्तैमा हुन्थ्यो उहाँको चासो। पानी नमिसाई दूधको चिया पकाउनुहुन्थ्यो। गाउँभरिमा साइँली आमाले नै हो त्यस्तो चिया खुवाउने।
चिया खाँदै गर्दा गाउँघरका सबै खबर सुनाइसक्नुहुन्थ्यो। जस्तै दुःखमा पनि नआत्तिने, राम्रो लुगा लगाउनुपर्ने, मिठो खानुपर्ने उहाँको स्वभाव थियो। स्वस्थ, हट्टकट्टा देखिनुहुन्थ्यो।
साइँली आमा यसपालि हुनुहुन्न। साँच्चै, साइँलीआमा हुनुहुन्न। यी शब्द लेख्दै गर्दा सझंग भएँ, कतै गलत कुरा पो लेख्दै छु कि भनेजस्तो पनि भयो तर गलत होइन। उहाँ परमधाम जानुभयो, पैतालीस दिन हुन बाँकी नै छ।
यसैकारण यसपालि हाम्रो घरपरिवारमा दसैँ छैन। दसैँमा घर जानु छैन। छुट्टीको उपयोग निम्ति पनि जान इच्छा भएन।
बिसन्चो भएर अस्पताल आउनु भएको थियो। गाडीबाट झरेर आफै हिँड्दै अस्पतालको बेडमा पुग्नुभएको थियो। पुगेको दुई घण्टा नहुँदै ईहलीला समाप्त गरेर परमधाम प्रस्थान गर्नुभयो। साइँलीआमा बितेर घर गएपछि म फर्केको एक महिनामात्रै हुँदैछ।
यसैकारण यसपालि हाम्रो घरपरिवारमा दसैँ छैन। दसैँमा घर जानु छैन। छुट्टीको उपयोग निम्ति पनि जान इच्छा भएन।
जीवन र मृत्युको दूरी एक रौँको मोटाइ बराबर पनि नहुने रहेछ। साइँलीआमाको निधनमा मैले यस्तै अनुभव गरेँ। घरमा ९० वर्ष उमेरकी हजुरआमा हुनुहुन्छ। दुई वर्षअघि जेठो छोराको र एक महिनाअघि साइँली बुहारीको निधन भयो। हजुरआमा सन्तानवियोगको पीडाले थलिनु भएको छ। साइँलो बुबाको अवस्था झनै उदेगलाग्दो छ। प्रदेशिएको भाइको आर्तनाद उस्तै छ। त्यसैले दसैँ त आएको छ तर दसैँबिनाको आएको छ। यस्तो परिवेशमा दसैँ भनेर गाउँ कसरी जाऊँ!
(लेखक नेपाल टेलिकमका कानून अधिकृत हुहुनुहुन्छ ।)
कृष्न जी, सार्है राम्ररी वस्तबिकतालाई कथाकृत गरि प्रस्तुत गर्नुभएछ, मन छोयो । यी भावगङगा लाई यसरी नै वग्न दिनुहोला, शुभकामना छ ।