पाल्पा । अन्नको भण्डारको रूपमा रहेको पाल्पाको माडीफाँटमा कुनै बेला खेतमा हुर्किएका रैथाने जातको भोटी माछाले जो कोहीको मन लोभ्याउने गथ्र्यो । दुई दशक अगाडिसम्म फाँटका खेतमा रोपाइँको समयमा माछा मारेर आफ्नो गर्ज टार्नेको संख्या ठूलो थियो । आजभोलि त्यही खेतमा पाइने जलचर प्राणीहरू संकटमा पर्न थालेपछि माछा मारेर गर्जो टार्नेहरू सकसमा परेका छन् । स्थानीय जितबहादुर घर्तीको जीविका माछा मारेर नै बितिरहेको छ । उहाँको छरछिमेक सबैको जीविकोपार्जन माछाबाटै चल्दै आइरहेको छ । तर, केही वर्षहरूदेखि भने माछा मारेरै जीविकोपार्जन गर्नेहरू सकसमा परेका छन् । माछा मारेर जेनतेन परिवार पाल्दै आएका यहाँका केही स्थानीयहरूलाई दिनभर मेहेनेत गर्दा पनि जलाशयमा माछा नपाइँदा जीविकोपार्जनमा धौ धौ भएको छ ।
असार लाग्नासाथ फाँटमा धान रोपाइँ हुन्थ्यो । ‘असारदेखि कात्तिकसम्म खेतमा मारेका माछालाई आगोको रापमा सुकाएर वर्षभरि बिक्री गर्न पुग्थ्यो तर अहिले माछा पाउनै छोड्यो’ स्थानीय घर्तीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘माछा बेचेरै चामल किन्ने हो, दशैँ तिहारको लागि मासुको खर्च राम्रोसँग चल्थ्यो, अहिले भने विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्नाले माछा नै पाउन छाडेको छ, जसले गर्दा परिवार पाल्नै सकस भएको छ ।’ ज्यालादारीको पैसा पनि नउठ्ने भएकाले कमै मात्रामा माछा मार्ने गरेको उहाँ सुनाउनुहुन्छ ।
जितबहादुर जस्तै सुग्रिम सारुको समस्या पनि उस्तै छ । माडीफाँटका खेतहरूमा माछा मार्दै आउनुभएका उहाँ अहिले माछा नै नपाउने बताउनुहुन्छ । विषादीको प्रयोगले माछाहरू नष्ट हुनु, करेन्ट लगाएर माछा मार्ने गरेकाले माछा नै नपाइएको उहाँको भनाइ छ । ‘पहिला एकाध घण्टामा दुई÷तीन किलो माछा मारिन्थ्यो, अहिले दिनभरि सानो पनि मुस्किलले पर्छ । कहिले कहिले त एकाध पाउ मारेर घर फर्किने गरेको छु ।’ उहाँ सुनाउनुहुन्छ ।
माडीफाँटको बीच भाग भएर तिनाउ नदीमा मिसिने धेरै खोलाहरूमा भोटी, सिद्रा, फकेटा, बाम, सेगी जस्ता दर्जनौँ प्रजातिका माछा भेटिन्थ्यो । तर, हिजो आज भने ती माछाको वंश नै समाप्त भएको छ । माछाको पहिलो मुख्य स्रोत भनेको खोला हो । त्यही खोलामा करेन्ट लगाउने, जथाभावी रूपमा किटनाशक विषादीको अन्धाधुन्ध प्रयोग गरेका कारण माछासँगै गंगटासमेत समाप्त भएको स्थानीय हरिबहादुर कुमाल बताउनुहुन्छ । ‘खोलामा जथाभावी विषादीका कारण जलचर प्राणी नै समाप्त भयो । खोलामा विषादीका कारण माछा समाप्त भएपछि खेतमा कसरी हुन्छ ?’ कुमालले भन्नुभयो ।
बाहिरबाट आएर केही व्यक्तिहरूले विषादी राख्ने र करेन्ट लगाएर मार्ने गरेका कारण यहाँका जलचर संकटमा परेका हुन् । स्थानीयहरूले खबरदारी गरेपछि बाहिरबाट आएर विषादीको प्रयोग गर्नेहरूको संख्या कम हुँदै गएको स्थानीय शिवप्रसाद श्रेष्ठ बताउनुहुन्छ । खेतमा माछा हराउनुको मुख्य कारण गंगटा, झार नियन्त्रणका लागि विषादीको प्रयोग बढेसँगै जलचर प्राणी नष्ट भएको उहाँको बुझाइ छ ।
खेतमा धानको बोट कलिलो अवस्थामै गंगटाले काटिदियो भनेरै रोपाइँमै विषादीको प्रयोग बढेकाले यस्तो समस्या आएको कृषिविद् राजेन्द्र कोइरालाले बताउनुुभयो । ‘पछिल्लो समयमा किसानले जैविक वनस्पतिक विषादीको तुलनामा किटनाशक, जीवनाशक विषादीको प्रयोग बढी नै गर्दा जलचर प्राणी नष्ट भएको हो’, उहाँले भन्नुभयो । रोपाइँ गरेका केही दिनपछि गंगटाले हैरानी गथ्र्यो । गंगटा नियन्त्रणका लागि खेतको गरागरामा खिर्रोको पात राख्ने चलन थियो । ‘यसले पनि नियन्त्रणका लागि सघाउ पुग्थ्यो । खेतमा गंगटा छोपेर सकिँदैनथ्यो, तर नियन्त्रण हुन्थ्यो । रोपाइँ सकेको दुई चार दिनमा चिउरीको खली प्रयोग गर्दा राम्रोसँग नियन्त्रण हुन्थ्यो । पुराना प्रविधि र उपायको विकल्प खोज्दा आजभोलि जलचर प्राणी नष्ट हुने अवस्थामा आएको पुराना किसान डिलबहादुर राना बताउनुहुन्छ ।
विषादीको प्रयोगका कारण जीव र किट नाश हुन्छ । तर, यसले वातावरणीय क्षेत्रमा कस्तो असर गर्दछ भन्ने विषयमा प्रयोगकर्ताले ख्यालै राख्दैनन् । जिल्ला भित्रको तथ्यांकअनुसार यस्ता प्रकृतिको विषादी दुई सय लिटरभन्दा बढी बिक्री हुने गरेको बिक्रेताहरू बताउँछन् । सूर्य, न्युरल, प्रिती जस्ता झार गंगटा नियन्त्रणका लागि खपत हुने गर्दछ । पाँच रोपनी क्षेत्रफलमा एक सय एमएल प्रयोग गर्ने हो । यस्ता विषादी खेतको आली किनारामा राख्ने गरिन्छ । विषादीको प्रयोग बढ्दो अवस्थामा रहेको बिक्रेताहरूको भनाइ छ । खेतमा रोपाइँ गर्दा पहिले हल गोरुको प्रयोग हुन्थ्यो तर आजभोलि गोरुपालन नै छैन । गोरुको विकल्पमा रोटा भेटरको प्रयोग बढ्यो रोटा भेटरले च्याप्ने गर्दा पनि यस्ता समस्या उत्पन्न भएको हो । यहाँका अधिकांस मानिस खेतमा पाइने माछा मारेर छाक टार्दै आएका थिए । वर्षभरि नै विभिन्न जलाशयमा माछा मारेर जीविकोपार्जन गर्दै आएकामा पछिल्लो समय माछा नपाउँदा हातमुख जोड्न कठिनाइ आएको स्थानीयको भनाइ छ । माछा मारेर पाँचदेखि १० जनासम्मको परिवार चलाउँदै आएका यहाँका केही स्थानीय माछा पाउन मुस्किल हुने गरेकाले थप समस्यामा परेको बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच