जानकी (बाँके) । बाँकेको कोहलपुरमा आउँदो बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत् कोहलपुर नगरपालिका-२ स्थित तेह्र बिघा मैदानमा ‘मुख्यमन्त्री गोल्डकप फुटबल खेलकुद प्रतियोगिता २०८०’ सुरु हुने भएको आयोजकले जनाएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित यो वर्षको साताव्यापी खेलकुद प्रतियोगिता हुने कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताउनुभयो । उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको छ । अध्यक्ष क्षेत्रीले गोल्डकप विजेता टोलीले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्ने बताउनुभयो ।
‘नकआउट’ बमोजिम खेलाइने उक्त प्रतियोगितामा आयोजक टोलीसहित स्वदेशी र विदेशी गरी आठ टोली सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गोल्डकप खेल्न विदेशी टोली कोहलपुरका लागि हिँडिसकेको छ ।’ खेल हेर्न आउने दर्शकसँग केही शुल्क लिने आयोजकले जनाएको छ । आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुहुने आयोजकले जनाएको छ । अध्यक्ष क्षेत्रीका अनुसार गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकमलगायतले सहकार्य गरेका छन् ।
गोल्डकपको माध्यममार्फत् यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ । गोल्डकप खेल्न आउने स्वदेशी र विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज, प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरलगायत बाँकेको पर्यटकीय क्षेत्रको अवलोकन गराइनेछ ।
प्रतियोगिता सञ्चालन गर्न स्थानीयस्तरबाट पनि सहयोग प्राप्त भएको आयोजकको भनाइ छ । ‘गत वर्षको कमी-कमजोरी तथा चुनौतीलाई सुधार गरेर हामीले यस वर्ष व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ,’ अध्यक्ष क्षेत्रीले भन्नुभयो ।
पत्रकार सम्मेलनमा गोल्डकपको ‘टिसर्ट’ समेत सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा उपस्थित भएका बाँकेस्थित सम्बद्ध सरोकारवालाले आवश्यक सुझावसहित गोल्डकप सफलताको शुभकामना दिएका थिए ।
गत वर्ष पहिलोपटक आयोजना गरिएको कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुनले हात पारेको थियो । ब्वाइज युनियन क्लब काठमाडौंलाई पराजित गरेको एफसीले नगद सात लाख रुपैयाँ प्राप्त गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच