काठमाडौं शहरलाई युनेस्कोले ‘फिल्मको रचनात्मक शहर’का रूपमा सूचीकृत गरेको छ । यो एउटा गौरवको रूपमा हामीले लिनुपर्ने हुन्छ । नेपाल संसारका सुन्दर देशहरूमध्येको एक हो । नेपाल सानो देश हो । भौतिक रूपमा पनि सम्पन्न छैन । त्यस अर्थमा हामीसँग साधन-स्रोत पर्याप्त भएर पनि तिनको सदुपयोग गर्न नसकेका कारण पछि परिरहेका छौं । बोल्न सक्ने देशहरूले हामीभन्दा कम स्रोत-साधन भएर पनि हाम्रोभन्दा बढी उन्नति र प्रगति गरिरहेका छन् । भएका साधन-स्रोतहरूको चरम उपयोग गर्न सकिरहेका छन् । हामीले भने आफ्ना भौतिक सम्पदाको धेरैभन्दा धेरै उपयोग गर्न नसकेकाले गरिब राष्ट्रको परिचय बोक्नु परिरहेको छ ।
हालै एशियाकै सबैभन्दा गरिब राष्ट्रका रूपमा हामी दर्ज हुन पुगेका छौं । त्यसबाट हामीले बोल्नेको पिठो पनि बिक्छ र नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान चरितार्थ हुन पुगेको छ । तर, हाम्रो देशमा भएका विभिन्न पौराणिक ऐतिहासिक स्थल, मठमन्दिर आदि धेरै सुन्दर र प्रसिद्ध छन् । तिनलाई हामीले संरक्षण गर्नुपर्छ । संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले यस्ता ठाउँ मानव निर्मित वा प्राकृतिक स्थललगायत कुरालाई संरक्षण गर्ने गरेको छ । तिनलाई विश्व सम्पदा सूचीमा राख्ने गरेको छ । यस्ता विश्व सम्पदा सूचीमा राखिएका सम्पदाहरूमाथि ठूलाठूला द्विपक्षीय तथा बहुपक्षीय युद्ध नै भएछ भने पनि तिनमा हमला गर्न पाइँदैन भन्ने गरिन्छ ।
नेपालका यस्ता दश ठाउँ विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् । तीमध्ये केही मानवनिर्मित छन् भने केही प्राकृतिक स्थल पनि छन् । पशुपतिनाथको मन्दिर, चाँगुनारायण मन्दिर, स्वयम्भूनाथको स्तुप, बौद्धनाथको स्तुप, हनुमानढोका दरबार परिसर, पाटन दरबार परिसर, भक्तपुर दरबार परिसर, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज हाम्रा विश्वसम्पदा सूचीमा सूचीकृत विश्व सम्पदाहरू थिए । यीबाहेक अरू केही सम्पदालाई पनि सूचीकृत गरिपाऊँ भनेर नेपालले माग गरिरहेको अवस्था थियो । यस अवस्थामा हालै युनेस्कोले नेपालको काठमाडौं उपत्यकालाई फिल्म निर्माण शहर भनेर घोषणा गरिदिनाले पनि हामीलाई गौरवको अनुभूति हुनु स्वाभाविक हो । यसका साथै यसबाट हामीले यसलाई आयआर्जनको स्रोत बनाउनसमेत सक्नेछौं, सक्नुपर्छ ।
अन्तर्राष्ट्रिय स्तरमा यसले यर्दा हाम्रो ख्याति विस्तार हुन सक्नेछ भने अर्कोतिर विश्वका विभिन्न मुलुक फिल्म निर्माणका लागि आकर्षित भएर नेपाल आउने हो भने निश्चिय हामीलाई आर्थिक तथा प्रसिद्धिमा सहयोग पुग्छ । काठमाडौं नेपालकै सबैभन्दा पुरानो शहर हो । यसको इतिहास निकै पुरानो छ । यहाँभित्र अनेकौं मठमन्दिर, चैत्य, गुम्बा, धारा, पँधेरा, पुराना दरबारलगायत विभिन्न छन् । तीमध्ये धेरै भग्नावशेष भएरसमेत रहेका छन् । पश्चिमा सम्पन्न देशहरूमा यस्ता शहरलाई ‘डाउन टाउन’ भनेर संरक्षण गर्ने प्रचलन छ तर हाम्रोमा भने साधन–स्रोतको अभावले तिनको उचित संरक्षण हुनसकेको छैन । ती लथालिंग अवस्थामा रहेका छन् ।
अरूले संरक्षणमा सहयोग गरिदिऊन् भनेर हामीले तिनको अपेक्षा गर्नुपर्ने अवस्था छ । हाम्रो दुर्भाग्य भनेकै यही हो । हाम्रो दैनिक प्रयोगमा आउने सरकारी विद्यालय, सरकारी कार्यालय, अस्पताललगायत भवनसमेत धेरै अरू देशले निर्माण गरिदिएका छन् । विभिन्न विकास निर्माणका योजना पनि उनीहरूकै आर्थिक प्राविधिक सहयोगमा बन्ने गरेका छन् । हामीले निर्माण गर्ने वार्षिक बजेटसमेत घाटा बजेटका रूपमा निर्माण हुन्छ र त्यसका वार्षिक आयको एउटा शीर्षक ‘ऋण तथा अनुदान सहयोग लिने’ भन्ने रहने गर्छ । यस्तो अवस्थाबाट गुज्रिरहेको हाम्रो देशमा युनेस्कोले राजधानी काठमाडौं शहरलाई ‘फिल्मको रचनात्मक शहर’ घोषणा गर्नु गौरवको विषय हो ।
यसबाट विश्वका विभिन्न फिल्म निर्माता कम्पनी, सरकार वा वृत्तचित्र निर्माताले काठमाडौंलाई प्राथमिकतामा राखे भने हाम्रो प्रचारप्रसार हुने त छँदैछ यसका साथै आर्थिक सबलताका लागिसमेत यसबाट केही भरोसा प्राप्त हुन्छ । तर, यसका लागि हामीले पनि प्रचारप्रसार गर्नुपर्छ र त्यसरी फिल्म निर्माण गर्न चाहनेका लागि पर्याप्त मात्रामा सेवा तथा साधन-स्रोतको व्यवस्था गरिदिनुपर्ने हुन्छ । यसो भयो भने फिल्म निर्माणबाट मात्र होइन त्यसको माध्यमबाट पर्यटन व्यवसायसमेत आकर्षित बन्न पुग्छ जुन हाम्रो देशको प्रमुख व्यवसायका रूपमा विकसित बन्नसक्ने सम्भावना रहन्छ । यसतर्फ संघीय सरकार, प्रदेश सरकारका साथै फिल्मसंबद्ध सम्पूर्ण सरकारी तथा निजी कम्पनीसमेत सक्रिय बन्न सक्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच