भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन : अर्थमन्त्री डा महत

फाइल तस्बिर

रासस
Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा सरकारका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिरहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उहाँले गएरातिदेखि नै भूकम्पपीडितको राहत र उद्धारमा तीनै तहका सरकारअन्तर्गत सबै संयन्त्रहरु परिचालित भइरहेको जानकारी दिनुभयो ।

भूकम्पबाट पश्चिम नेपालको खासगरी रुकुम र जाजरकोट जिल्लामा ठूलो जनधनको क्षति भएको विवरणहरु प्राप्त भइरहेको जनाउँदै अर्थमन्त्री डा महतले यस विपत्तिको घडीमा सबै पक्षबाट सहयोगका लागि अपिल गर्नुभयो । उहाँले भूकम्पबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदन प्रकट गर्नुभयो ।

अर्थमन्त्री डा महतले प्राकृतिक विपत्तिका घटनाको दीर्घकालीन समाधान र तयारीका निम्ति आवश्यक कार्य गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्पपीडितको राहतका लागि महासङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि भूकम्प प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?