काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि रहेको एमालेले जनाएको छ । अभियानअन्तर्गत विकासका समस्या पहिचान गर्दै समृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेको दाबी छ ।
यही मंसिर १४ गते बिहान साढे ८ बजे बैतडीको झुलाघाटबाट अभियानको थालनी गर्ने जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौँ । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ ।’ उक्त अभियान बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ । ज्ञवालीका अनुसार अभियानको सुरुवात बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर थालनी गर्नुहुनेछ ।
पहाडी क्षेत्रमा विकास र पूर्वाधार पुगिरहे पनि बसाइँसराइ बढ्दै गएकाले यो विरोधाभाषलाई अन्त्य गर्नु अभियानको एक उद्देश्य रहेको एमालेले जनाएको छ । सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार तय गर्ने विषयमा पनि अभियान केन्द्रित रहने जानकारी दिँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘अहिले निराशाको खेती छरिएको छ, परिवर्तनको विपक्षमा उभ्याउने कोसिस भइरहेको छ । पुष्पलालले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी ७५औँ वर्षमा पुगिरहँदा यो बीचमा के काम गर्यौँ । यो देशलाई हामीले नै राम्रो बनाउन सकिन्छ । परिवर्तनका लागि लडेकाहरू हामी यहीँ जनताको साथमा छौँ भन्ने सन्देश हामीले दिनेछौँ ।’ अभियानअन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको टोली खटिनेछ । अभियानअन्तर्गत एमालेले जनतासँग संवाद गर्दै उनीहरूका कुरासमेत सुन्नेछ । यो अभियान तीन साता चल्नेछ । एमालेले यो अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ ।
केन्द्रीय कमिटी बैठक आहृवान
यसैबीच, नेकपा एमालेले पार्टी केन्द्रीय कमिटीको बैठक आहृवान गरेको छ । एमालेले आगामी मंसिर ६ गते बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको हो । बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नको लागि केन्द्रीय कमिटी बोलाइएको एमालेले जनाएको छ । एमालेले यसअघि कैलालीको धनगढीमा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो । तर, बुधबार बसेको सचिवालय बैठकले धनगढीमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने निर्णय गरेको हो । मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियानबारे निर्णय गर्न ढिलाइ हुने भएकाले काठमाडौंमा नै बैठक राख्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशनको ‘डेडलाइन’ जेठ मसान्त
नेकपा एमालेले जिल्ला र पालिका अधिवेशनको डेडलाइन (मिति) पछि सारेको छ । यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्न सर्कुलर गरेको एमालेले उक्त मिति सार्दै जेठ मसान्तसम्म पु¥याएको हो । बुधबार बसेको सचिवालय बैठकले जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्ने गरी मिति परिमार्जन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
६ केन्द्रीय सदस्यको पद रिक्त
नेकपा एमालेका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । पार्टी विधानको व्यवस्थाअनुसार, प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय सदस्यहरूको पद रिक्त भएको हो । पद रिक्त भएको जानकारी बुधबार बसेको सचिवालय बैठकमा दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । प्रदेश अध्यक्षको उम्मेदवार बनेकाले गुलाबजंग शाह, कैलाश ढुंगेल, हरि रिजाल, मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र विनोद ढकालको पद रिक्त भएको हो । शाह कर्णाली र ढुंगेल बागमती प्रदेशको अध्यक्ष निर्वाचित हुनुभएको छ । तर, रिजाल, अधिकारी, दाहाल र ढकाल प्रदेश अध्यक्षमा पराजित हुनुभएको थियो । रिजाल लुम्बिनी, अधिकारी गण्डकी, दाहाल बागमती र ढकाल कोशी प्रदेश अध्यक्षको उम्मेदवार बन्नुभएको थियो ।
जाजरकोट र रुकुममा एक हजार स्वयंसेवक खटाउने
नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘एक हजार स्वयंसेवकहरू मंसिर एक गतेबाट खटिनुहुने छ । हामी पाँच हजार कार्यदिनभन्दा बढी हामी त्यहाँ खट्नेछौँ । त्यो एक करोडभन्दा बढीको श्रम हुनेछ । जसमा हजारौँ अस्थायी आवास बनाएर नागरिकहरूलाई न्यानो प्रदान गर्नेछौँ ।’ स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्नेछ ।
नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने
नेकपा एकीकृत समाजवादी (नेकपा एस)को पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ । यसअघि महाधिवेशनको मिति टुंगो लागे पनि स्थानका बारेमा निर्णय भइसकेको थिएन । सो पार्टीले आगामी माघ १४ देखि १८ गतेसम्म पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । महाधिवेशन काठमाडौंमै हुने निश्चित भएको र त्यहीअनुसार गृहकार्य अघि बढेको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार महाधिवेशनका लागि सबै जनवर्गीय संगठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मंसिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनोटका मापदण्डसम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ । पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसंख्यक, दलित, सीमान्तकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । आसन्न महाधिवेशनले पार्टीको नीति र नेतृत्व दुवै चयन गर्नेछ । महाधिवेशनअगावै युवालक्षित कार्यक्रम सञ्चालन गर्ने पनि नेकपा एसले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच