कर्णाली प्रदेशमा प्रसव फिस्टुलाको उपचार निःशुल्क

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रसव फिस्टुलाको निःशुल्क उपचार हुँदै आएको छ । विदेशी चिकित्सकको लगानीमा एक गैरसरकारी संस्थाले कर्णाली प्रदेशको प्रदेश अस्पतालमा सञ्चालन गरेको अस्पतालमा प्रसव फिस्टुलाको निःशुल्क उपचार सुरु गरिएको हो ।

सोमबार कालीकोटको सदरमुकाम मान्ममा रहेको होटल चन्द्रसूर्यमा आयोजित समन्वयात्मक तथा फिस्टुलासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गराइएको छ । आइएनएफ नेपालको फिस्टुला कार्यक्रम हेर्ने कान्ती शर्माले कर्णालीका महिलालाई लक्षित गरी प्रदेश अस्पताल र आइएनएफ नेपालले सुर्खेतमा निःशुल्क उपचार गर्दै आएको बताउनुभयो ।

बिरामीको उपचारसँगै कुरुवालाई बस्न खान बाटो खर्च सबै उपलब्ध गरिरहेकाले रोग पालेर घरमै गुपचुपमा नबस्न आग्रह गर्नुभएको छ । प्रसव फिस्टुला रोग लामो र कठिन सुत्केरी व्यथाका कारणले पिसाब थैली वा पिसाब नली वा आन्द्रामा प्वाल पर्नेगर्छ ।

सुरुमा नेपाल सरकारले नेपालमा फिस्टुलाका बिरामी नभएको दाबी गरिरहेका बेला काठमाडौँमा विदेशी चिकित्सकले बिरामी भेटाएर उपचार गरेको स्वास्थ्य विभागको भेलामा जानकारी गराइएको छ । नेपाल सरकारले पनि यस रोगका विषयमा जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ । यो रोग भएका महिलाले दिसा–पिसाब केही पनि रोक्न सक्दैनन् ।

निरन्तर चुहिने भएकाले यो रोगबाट पीडित महिला वा पुरुषलाई समाजले पनि विभेद गर्ने गरेको छ । सानो उमेरमा छोराछोरीबिच गरिने विभेदले छोरीलाई पोषणयुक्त खानेकुरा कम दिनु, जबरजस्ती करणीमा पर्नु, सानै उमेरमा विवाह गर्दा बच्चा जन्माउँदा पाठेघरको मुख च्यात्तिनुजस्ता कारणले प्रसव फिस्टुला हुनेगरेको अध्ययनले देखाएको छ ।

गैरसरकारी संस्था महासंघ कालीकोटका अध्यक्ष बिरेन्द्र बुढाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा आइएनएफ सुर्खेतका कान्ति शर्माले फिस्टुला हुनुको कारण, फिस्टुला रोगले महिलाहरुमा पर्ने असर, यसको प्रभाव र प्रसव फिस्टुला रोकथाम यसको उपचारका बारेमा जानकारी गराउनुभयो ।
फिस्टुला भएका महिलाहरु शारीरिक मात्र नभई मानसिक तथा सामाजिक समस्याबाट समेत पीडित भइरहेका हुने उहाँले जानकारी दिनुभयो । साथै उहाँले सुविधायुक्त स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थकर्मीबाट सुत्केरी गराउने चलन कम भएको र हाम्रो जस्तो अविकसित देशमा यस्ता समस्याहरु धेरै रहेको कार्यक्रममा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

फिस्टुला रोग समस्या सम्बन्धी सन् २०१२ को यूएनएफपिएको प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष २ सय देखि ४ सय जना महिलाहरुमा यस्तो समस्या देखापर्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार प्रति एक हजार जना महिला प्रसव हुँदा तीन जना महिलामा प्रसव फिस्टुलाको समस्या देखिन्छ ।
प्रसव फिस्टुलाको समस्या भनेकै पिसाब चुहिने डरले खुट्टा सधैँ खुम्च्याएर बस्दा खुट्टा खुम्चिदै जाने, पिसाब धेरै चुहिने डरले पानी कम पिउँदा जलवियोजन तथा मिर्गौला सम्बन्धी समस्या हुने, योनीबाट दिसा निस्किरहने डरले खाना कम खाँदा कुपोषण पनि हुने, पिसाब चुहिरहने भएकोले आफनो दैनिक कार्यमा बाधा पुग्ने, घर, परिवार र समाजबाट अपहेलित भई, दुब्र्यवहार तथा बहिस्कृत हुनसक्ने लगायतका समस्याहरु देखापर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रमको समापन गर्दै गैरसरकारी संस्था महासंघ कालीकोटका अध्यक्ष बिरेन्द्र बुढा, इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नमराज योगीले प्रसव फिस्टुलाका बारेमा स्थानीय तहमा समेत अभिमुखिकरण कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?