मुन्दुम पदमार्गसँगै होमस्टे खुल्नेक्रम बढ्दै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 10 mins

भोजपुर । सरकारले सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तब्य सुचीमा भोजपुर र खोटाङ जोडने मुन्दुम ट्रेलको सुरुवातसँगै जिल्लाका पछिल्लो समयमा होमस्टे तथा होटलहरु संचालनमा आउन थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि खुलेका होमस्टे तथा होटलहरुले पनि मद्धत पुर्याउँदै आएको छ ।

मुन्दुम पदमार्गसँगै जोडिएको जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नम्वर २ छिनामखुमा संचालित गोठेसिं होमस्टे स्थानीय तथा अर्गानिक खानपिनमा लागि प्रख्यात मानिन्छ । पुष्पलाल मध्य पहाडी राजमार्ग नजिकै संचानलमा रहेकाले यो होमस्टेमा आउने जानेको संख्या समेत बढदै गएको छ ।

नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सुचिकृत गरेसंगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । सो स्थानमा जानका लागि यही होमस्टे नजिकैबाट जानु पर्ने भएकाले पनि यहाँ आउने जानेको संख्या बढदै गएको छ । फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाईसँग टेम्केडाँडा घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ पनि प्रमुख रोजाईमा परेको स्थानीय भिम घिमिरेले बताउनुभयो । घिमिरेले भन्नुभयो, “स्थानीय स्तरमा संचालनमा आएको यस्तो पर्यटकिय क्षेत्रमा खुलेको होमस्टेको संरक्षण र सम्वर्धनमा सवै पक्ष जुटनु पर्छ ।” अन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढदै जान थाले पछि गोठेसिं होमस्टेसँगै अर्को पनि होमस्टे संचालनमा आएको छ । सो ठाउँमा गत बर्षबाट अर्को होमस्टे संचालनमा आएको हो ।

यो होमस्टे सदरमुकाम देखि करिव ४० किलोमिटर पश्चिममा पर्छ । मिठो किँराती संस्कारको न्यानो अतिथी सत्कार, अग्र्यानिक मिठो खाना र आरामदायी सस्तो बासस्थानबाट सुन्दर प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे जिल्लामा पर्यटकीय गन्तव्य बन्दै गईरहेको टेम्के मैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतको भनाई रहेको छ । होमस्टे संचालनका लागि पालिकाले समेत सहयोग गरेको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

होमस्टेमा अग्र्यानिक स्वाद र सत्कार पाइने गरिएकाले यो होमस्टेले आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पु¥याएको छ । होमस्टेलाई टेम्के मैयुङ गाउँपालिकाका साथै प्रदेश सरकारले समेत सहयोग गरेको संचालक प्रकाश राईले बताउनु भयो । यहाँ घुम्न आउने पर्यटकहरुका लागि एकमात्र आरामदायी बिसौनी बनेको गोठेसिं होमस्टे बस्न नचाहने कमै हुन्छन् । ५७ रोपनी जग्गामा सञ्चालनमा रहेको गरेको होमस्टेमा टेम्के, चखेवाडाँडाको अवलोकनपछि विश्राम गर्ने पर्यटकको आगमन पनि हुने गरेको छ ।

बिगतमा भन्दा अहिले होमस्टेलाई पनि ब्यवस्थापन गर्दे पूर्वाधारहरु समेत निर्माण गरिएको संचालक राईले बताउनुभयो । “स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीहरुलाई सदुपयोग गर्दे, कृषि पर्यटनको पनि प्रवर्धन र स्थानीयलाई पनि रोजगारीको अवसर दिलाउने उद्धेश्यले होमस्टे संचालनमा ल्याएको हुँ ।” संचालक राईले भन्नुभयो ।

अर्को पर्यटकीय स्थल चखेवामा समेत होटल संचालनमा ल्याईएको छ । यो भोजपुर सदरमुकामबाट ४२ किलोमिटरको दुरीमा रहेको पर्यटकीय गन्तब्य हो । चखेवा भन्ज्याङमा रहेको नमुना होटल एन्ड लजका सञ्चालक विशाल राईका अनुसार यो मार्ग क्षेत्रमा दैनिक ५० देखि ६० जनाभन्दा बढीको नियमित आवत जावत हुने गरेको छ । मनोरम डाँडाकाँडा भएकाले यहाँ आउनेहरुको संख्यामा बृद्धि भएको राई भनाई रहेको छ । आगमन बढी हुने थालेसँगै यहाँ रहेका होटलहरु समेत ब्यवस्थित हुँदै गएका छन् ।

चखेवाबाट नजिकै रहेको तीन हजार एक सय ३१ मिटरको उचाईमा रहेको टेम्केडाँडाबाट पर्यटन क्षेत्रको अर्को गन्तब्य मानिन्छ । जहाँ यही चखेवाडाँडा हुदै जानु पर्छ भने यही मार्गबाट छिमेकी जिल्ला खोटाङ पनि जान सकिन्छ । सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँटहरु, कञ्चनजंगा, मकालु लगायत उत्तरतर्फ सेताम्मे मनोरम हिमश्रृंखला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल र भोजपुर सदरमुकाम र अनगिन्ती प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सकिन्छ ।

अर्को पर्यटकीय गन्तब्य मैयुङडाँडामा पनि अहिले मुन्धुम गोठस्टे संचालनमा आएको छ । यस क्षेत्रमा मानव बस्तीहरु कम छन । यो ठाउँ कृषकहरु बसोवास गर्ने गोठस्थल हो । यस्ता ठाउँमा मनोरम दृश्यावोलकनका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि गोठस्टे संचालनमा ल्याएको संचालक दुर्गाधन राईको भनाई रहेको छ । यस क्षेत्रमा गोठ राखेर बसेका कृषकहरुको बसोवास हुने गरेको छ । यहाँ स्थानीय परिकारहरु चौँरीको दुध, फापर, कोदो, गहुँको ढिँडो, लोकल कुखुरा, रायो, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । यस क्षेत्रको पदयात्रामा आन्तरिक तथा बाह्य देश अमेरिका, कोरिया, जर्मनी, स्पेन, क्यानडा लगायत क्षेत्रका पर्यटकहरु आउने गरेको र उनीहरुले स्थानीय उत्पादनलाई मन पराएको गोठस्टे संचालक राई बताउनुहुन्छ ।

‘प्राकृतिक सुन्दरता र पारिवारीक वातावरणमा रम्न चाहनेहरुका लागि बिभिन्न स्थानहरुमा संचालित होमस्टेहरु प्रभावकारी बन्दै गएको उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो । अध्यक्ष मोक्तानले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि संचालित होमस्टेहरु आर्कषणका केन्द्रहरु हुन, यिनीहरुको संरुषण र सम्वर्धनमा पनि बिशेष ध्यान दिन आवश्यक देखिन्छ ।” अन्य पर्यटकीय स्थलमा समेत खान र बस्नका लागि होमस्टेहरु संचालन हुन जरुरी देखिन्छ ।

खोटाङको साकेला गाउँपालिकाको तावाभन्ज्याङबाट सुरु हुने पदमार्ग भोजपुरको टेम्केडाँडा, चखेवाभञ्ज्याङ, धोदे्र, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पापोखरीबाट पुनः मैयुङ भएर एकरोत, बाघखोर हुँदै भोजपुर टक्सार एयरपोर्टसम्म कुल एक सय ५३ किलोमिटर लम्बाई रहेको छ । उक्त पदमार्ग यात्रा पूरा गर्न नेपालीलाई पाँचदेखि नौ दिन लाग्ने र विदेशीका लागि १० देखि २० दिनसम्म लाग्ने स्थानीयको धारणा छ । छोटो दुरीको यात्रा भने तीनदेखि पाँच दिनमै पूरा गर्ने सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटनसँग जोडिएका क्षेत्रको पर्यटन बिकासमा होमस्टेहरु पनि साझेदार रहेकाले यसको संरक्षण र सम्वर्धनमा सम्वन्धित स्थानीय तहहरुले पनि समन्वयकारी भुमिका निर्वाह गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बताउनुभयो । “मुन्धुम पदमार्गको विकास र प्रवर्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनु पर्छ ।” प्रमुख राईले भन्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?