प्रदर्शनकारीलाई घृणायुक्त अभिव्यक्ति बन्द गर्न र सरकारलाई अनावश्यक बल प्रयोग नगर्न आयोगको आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँलगायतद्वारा बिहीवार काठमाडौँमा भएको प्रदर्शन र त्यसपश्चात् विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।

प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानुनी र मानव अधिकारका मूल्य मान्यता र मर्यादा विपरीत एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको पाइएको आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जसका कारण बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्तिहरू घाइते समेत भएको, राज्यका निकायका उच्च तहमा रहेका व्यक्तिहरू लक्षित गाली गलौज र घृणा फैलाउने अभिव्यक्तिहरु सहितका पोष्टर तथा श्रव्यदृश्य सामग्रीहरु विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको सञ्चार अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य मान्यता विपरीत रहेको आयोगको ठहर छ ।’

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न सरकारसँग आयोगले आग्रसमेत गरेको छ ।

आयोगको टोलीले शुक्रबार दुर्गा प्रसाईँ पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईँको भक्तपुरस्थित निवास क्षेत्रको अनुगमन गरेको थियो ।

तीनकुनेमा प्रदर्शनका लागि भेला भएकाहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?