दुबई । बेलायतका राजा चाल्र्स तृतीयले शुक्रबार विश्व नेताहरूसँग दुबईमा संयुक्त राष्ट्रसंघीय कोप-२८ जलवायु वार्ता जलवायु परिवर्तनविरुद्धको लडाइँमा ‘वास्तविक रूपान्तरणकारी कार्य’ सहित ‘महत्वपूर्ण मोड’ हुनुपर्ने बताउनुभएको छ ।
उहाँले दुबईको प्रचण्ड घामले तातेको खाडी शहरमा राज्य र सरकारका प्रमुखहरूको दुई दिने भाषणको सुरुवात गर्नुभयो । कोप२८ सम्मेलनमा जिवाश्म इन्धनको भविष्यलाई केन्द्रमा राखिएको छ ।
‘म हृदयदेखि नै प्रार्थना गर्दछु, कोप२८ वास्तविक रूपान्तरणकारी कार्यको दिशामा एउटा महत्वपूर्ण मोड हुनेछ’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासहित भेला भएका नेताहरूसँग राजा चाल्र्सले भन्नुभयो, ‘पृथ्वी हाम्रो होइन, हामी पृथ्वीका हौं ।’आजीवन पर्यावरणविद् राजा चाल्र्स कथितरूपमा बेलायतका तत्कालीन प्रधानमन्त्री लिज ट्रसको आपत्तिका कारण गत वर्ष इजिप्टमा कोप२७ मा सहभागी हुन पाउनुभएको थिएन ।
राष्ट्रहरू प्राकृतिक प्रकोपबाट विनाश भएका मुलुकहरूका लागि ‘नोक्सान र क्षति’ कोष स्थापना गर्न सहमत भएसँगै कोप२८ सम्मेलन बिहीबार प्रारम्भिक रूपमा विजयका साथ सुरु भएको छ । यद्यपि जलवायु वार्तालाई लामो समयसम्म अल्झाइराखेको तेल, ग्यास र कोइलाको भविष्यबाट सुरु हुने धेरै मुद्दामा प्रतिनिधिले दुई साताको कठिन वार्ताको सामना गर्नुपर्नेछ ।
करिब दुई सय मुलुकद्वारा वार्ता भइरहेको सम्झौताको पहिलो मस्यौदामा जिवाश्म इन्धनको ‘फेजआउट (चरणबद्ध अन्त्य)’ र ‘फेजडाउन (चरणबद्ध कम गर्ने)’ भाषा समावेश गरिएको छ । जिवाश्म इन्धन हरितगृह ग्यास उत्सर्जनका लागि सबैभन्दा बढी जिम्मेबार छ ।
सन् २०२३ को वर्ष कीर्तिमानी सबैभन्दा तातो वर्ष बन्ने मार्गमा रहेको चेतावनी राष्ट्रसंघले दिएपछि विश्व तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने लक्ष्य पूरा हुँदैन भन्ने आशंका बढेको छ । ‘विज्ञान स्पष्ट छ : यदि हामीले सबै जिवाश्म इन्धनको प्रयोग बन्द गर्यौँ भने एक दशमलव पाँच डिग्रीको सीमा सम्भव छ’, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भन्नुभयो ।
युएईको तेल कम्पनी एडिएनओसीका प्रमुख सुल्तान अल जाबेरलाई कोप२८ को अध्यक्षका रूपमा सम्मेलन सञ्चालन गर्न नियुक्त गरिएपछि कोप२८ मा ऊर्जाको उद्योग लबीको प्रभावका बारेमा चिन्ता व्यक्त गरिएको छ । नवीकरणीय ऊर्जा फर्मका अध्यक्षसमेत रहनुभएका जाबेरले बिहीबार ‘जीवाश्म इन्धनको भूमिका’ लाई अन्तिम कोप२८ सम्झौतामा समावेश गर्नुपर्ने बताउनुभएको थियो । ‘म आफूले पूरा कोसिस गर्नेछु, यो चुनौतीसँग लड्न सहयोग गर्नेछु र वास्तविक, कारबाहीयोग्य निष्कर्ष दिनेछ’, उहाँले भन्नुभएको थियो ।
मस्यौदा पाठले जीवाश्म इन्धनकोे ‘फेजआउट (चरणबद्ध अन्त्य)’को आहृवान गर्ने र कम कठोर ‘फेजडाउन (चरणबद्ध कम गर्ने)’ गर्ने पक्षहरूबीचको द्वन्द्व स्थापना गर्दछ । यद्यपि पर्यवेक्षकहरूले यस्तो भाषा समावेश हुनु महथ्वपूर्ण थियो भनेका छन् । ‘यो कोप२७ मा प्रस्तुत गरिएको कुनै पनि कुराको तुलनामा महथ्वाकांक्षी छ, त्यसैले विकल्पमा यो हुनु पनि एउटा ठूलो कदम हो’, फ्रान्सेली जलवायु थिंकट्यांक आइडिडिआरआईका विशेषज्ञ लोला भालेजोले भन्नुभयो । (रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच