नेपालीमा पौरस्त्याख्यानलाई उपजीव्य बनाएर लेखिएका काव्य, नाट्य र उपन्यास रहेका छन् । आफ्नोपनामा भन्दा अरूको नक्कलमा रमाउने नेपाली विद्वान्का भाषामा भन्ने हो भने विशुद्ध पौरस्त्येली मिथकलाई आधारभूमि बनाएर लेखिएको प्रथम उपन्यास हो ‘वीरचरित्र’ । यसपछि अलिकति स्वैरकल्पना र अलिकति तन्त्रलाई आधार मानेर लेखिएको नाट्यकृति हो ‘स्वास्नी मान्छे’ । विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ ले पनि आधारभूमिका रूपमा उपनिषत्लाई लिएको छ भने पुराणलाई र मनोविज्ञानलाई समेत मिसाएर समाजमा रहेका सांस्कृतिक चारित्रिक शुद्धता र वद्र्धितायित समाजदर्शन र मानवमनको या पानी र रक्तमिश्रणका कुराको समीचीन व्यख्या प्रस्तुत गरेका छन् ।
उनकै अर्को ‘हिटलर र यहुदी’ तथा ‘मोदिआइन’ ले महाभारतीय कथालाई आधारभूमि बनाएर मानवतावादको राम्रो वकालत प्रस्तुत गरेका छन् । प्रचीन आधुनिक, मनोवैज्ञानिक, सामाजिक, सांकेतिक, समाजविकास तथा मानव मनका उहापोहका दृष्टिले पनि कोइरालाका उपन्यास अहिलेसम्म पनि अद्वितीय रहेका देखिन्छन् । हिन्दीका प्रथम मनोवैज्ञानिक उपन्यासकार इलाचन्द्र जोशी र नेपालीका प्रथम मनोवैज्ञानिक कथाकार कोइराला तुलनीय रहेका छन् ।
पौराणिक आधारमा भन्नु पर्दा मनु भनेको पहिलो मानवमूल्य स्थापना गर्ने प्रथम मानव राजा पनि हो । यसको महनीय कीर्तिपताका छ । आदि मनु भनेको विवस्वान मनु थियो र उसकै वंश परम्परामा अनेकौं मनुहरू पनि भएका छन् ।
मदनमणि दीक्षितको ‘माधवी’ र ‘भूमिसूक्त यस वृत्तका महनीय प्राप्ति हुन् भने ‘योजनगन्धा’ महाभारतीय नारी पात्र सत्यवतीका चरित्रमा आधृत अर्को महनीय प्राप्ति हो नै । काव्यतर्फको प्रथम काव्य हो देवकोटाको ‘शाकुन्तल’ महाकाव्य, ’हुस्सुपथिक’ खण्डकाव्य, ‘नरसिंह अवतार’, बालकृष्ण पोखरेलको ‘सौरी’ आदि आदि । यसै वर्ष प्रकाशित भएको देवीप्रसाद सुवेदीको ‘मनु’ बढी प्रगतिशील हुन खोज्दा चिसो चुलोमा बालकृष्ण सम पछारिए झैँ पछारिनबाट केशप्रमाणले मात्रै बाँचेको ‘मनु’ उपन्यास आजको मेरो छलफलको विषय हो ।
संस्कृत वाङ्मयमा मनुहरू चौधवटा रहेका देखिन्छन् । पौराणिक प्रस्तुतिलाई ध्यानमा राख्दा ब्रहृमाको १०० वर्षको आयु पूरा हुँदा १४ वटै मनु सिद्धिन्छन् । अनेक मनुका पालामा अनेक व्यास पनि भएका छन् । सत्य, त्रेता, द्वापर तथा कलिको चौकडीभित्रको व्यवस्था हो मन्वन्तर पनि । सुवेदीजीले पश्चिमा अनुकरण र हिन्दीका नवनवकृतिको अनुवाद गरेर के के न ग¥यौं भनेर नाक घोक्य्राउने नेपाली केही स्रष्टलाई भने स्वादले जवाफ दिएका छन् । अरूका घरको चियो गरेर जस्केलाबाट मझेरीमा नै पुगे पनि भनिने त चोरै हो नि । त्यसभन्दा त आफ्नै घुरेनबारी खनेर सागपातै लाए पनि कसैले केही भन्न सक्दैन भन्ने उदाहरण देवीजीले प्रस्तुत गर्नुभएको छ र उहाँले मनु परम्परालाई विकसनशील एउटा कुल परम्परा हो भन्ने पनि साबित गरिदिनुभएको छ ।
यो श्लाघ्य काम भएको छ । पौराणिक आधारमा भन्नु पर्दा मनु भनेको पहिलो मानवमूल्य स्थापना गर्ने प्रथम मानव राजा पनि हो । यसको महनीय कीर्तिपताका छ । आदि मनु भनेको विवस्वान मनु थियो र उसकै वंश परम्परामा अनेकौं मनुहरू पनि भएका छन् र नाम परिवर्तनदेखि भिन्न व्यक्ति नै मनुभएका कुरा पनि आएका छन् पुराणमा । उपन्यासकारले उपजीव्यको ऐतिहासिक छवि नधमिलिने गरी परिवर्तन, परिवद्र्धन र आंशिक संशोधन समेत गर्न पाउँछ उपन्यासकारले । यसलाई देवीले घोल सिद्धान्त या कलमी सिद्धान्त अपनाउँदा अलिकति समस्या भएको छ ।
उहाँलाई पश्चिमको जातीय विकासका (पश्चिम ठूलो र पुरानो देखाउने रोगग्रस्त) रिंगटेले लेखेका कुरालाई आधार मानेर पौरस्त्येली खोरिया खनेर घैया छर्नुपर्दा भूगोल क्षतविक्षत भएको छ । डोजरे विकासले भत्काएका हाम्रा विकसनशील पहाड पर्वतको अवस्था आएको छ । पात्र पाठकका स्मृतिकोषमा अट्दै नअट्ने गरी वरण गरिएको छ । आवश्यक पात्र नछुटुन् अनावश्यक पात्रको घुइँचो नलागोस् भन्ने कुरो देवीले बिर्सेको देखियो । यहाँ आएका धेरै पात्रको भूमिका नै छैन । एउटा वाक्यमा एउटा कुनै पात्र आयो तर त्यो प्रसंगात् आयो सकियो । यो उपन्यासको कमजोर पक्ष त हुँदै हो त्यसमा पनि अधिकांश हामी पौरस्त्य भाषावाङ्मय पढेकै मान्छेका लागि पनि परिचय गाँस्न सगरमाथा चढेको जत्तिकै प्रयत्न गर्नुपर्ने भयो ।
त्यसमाथि कतै पुरुहुत, पुरन्दर, सुत्रामा, वज्री, इन्द्र ऋभु आदि नामका कतिपय पात्रमा आख्यान नमिलेको अवस्था छ । यी सबै एउटै अमरावतीको राजा भनिएको इन्द्रका नाम हुन् । देवलोक, अमरावती, सुरलोक सुरपुर आदि । यसरी पर्यायवाची शब्दले पौरस्त्य वाङ्मय पढ्न खोज्ने बुझने प्रयास गर्न खोज्ने तर विचरा त्यो अथाह सागर कहिल्यै नदेखेका लर्डमेकाले कोर्समा १०० मा ३०, ३२ या ३३ ल्याएर तह पारगरी बसेकालाई त भालुको कम्पट भयो कि भएन ? ती पनि त पाठक त हुन् नि । मदनमणिको माधवी र कोइरालाका उपन्यासमा यसरी अलमलिनु पर्दैन भने देवीजीले पनि अलिकति ध्यान दिएको भए पात्र पनि सीमित र भूमिका स्पष्ट भएका आउनेथिए ।
तक्षशिलाको विश्वविद्यालयको महिमोद्गान गरेको देखिन्छ तर यो काल्पनिक किसिमले देवलोकसँग जोडिए पनि यो पौराणिक कुरो नभएर आजभन्दा २००० या २२०० वर्ष पहिलेको कुरो त भयो नि । यसलाई यसको ऐतिहासिकता कायम गर्दा के बिग्रन्थ्यो र ?
योजनगन्धामा सत्यवती र व्यास अनि पराशरै पनि कसरी टलक्क टल्किएर नयाँ चहकमा देखिएका छन् । वशिष्ठ र विश्वामित्रको खीर झगडामा पात्र बनेको गालवको कस्तरी महिमा उठाएर गालवोपनिषत् स्रष्टा बनाईदिए मदनमणिले । मनु त धेरै ठूलो र व्यापक भूमिका भएको पात्र थियो । एतद्देशप्रसूतस्य...जस्तो शाश्वत् चिन्तन प्रक्षेपण गर्ने मनु यस उपन्यासमा टलक्क टल्केर देखिएन । इन्द्र ऐयासी, विलासी, कामुक, स्त्रैण इष्र्यालु, षड्यन्त्रकारी, गोत्रहत्यारा भएको हुनाले पुराणहरूले गरेजति निन्दा पनि उपन्यासकारले नगरेको देख्दा आश्चर्य लाग्छ ।
मदनमणिको सम्बाला गण चाहिँ कम्युनिष्टहरूको अव्यावहारिक प्रकल्पना हो । बाँकी कुरामा उनी अधिकृत बनेर देखिएका छन् । देवीको मनुले मानव धर्मशास्त्र प्रणयन गरेर भारत वर्षलाई दियो भन्ने कुरो गरेर पौरस्त्य सभ्यता वानरबाट होइन मान्छे नै आफ्ना ज्युने संघर्षका कारणले विकसित हुँदै आएको हो भन्ने प्रमाणित गर्न खोजेको देखिन्छ तर त्यसको प्रविधि कमजोर अपनाइयो । वरुणले कुलो नील (नाइल) नदीबाट खनेर पूजा र नाम पाएको कुरो गरियो । पौरस्त्य दर्शनमा रहेका वरुण, यम, अग्नि, निऋिति, वसु, इन्द्र, वायु, ऋषि ऋग्वेददेखि नै निरन्तर आएका तत्व हुन् यसो भएको हुनाले यिनको त्यो प्राचीन टहक धमिलिनु हुँदैन भन्ने मलाई लाग्छ ।
एसपी आशा या डायमन शमशेरका ऐतिहासिक उपन्यासले ऐतिहृयतत्वलाई अति मसिनो गरी हेरेर त्यो मर्यादामा अविश्वास पैदा नहोओस् भन्ने ख्याल गरेको देखिन्छ । ऐतिहृय पनि सुरक्षित भएन पुनरुत्पादन पनि भएन भने त्यस्ता कृतिले कृतिकारलाई नै अन्त्यतः हानी पु¥याउँछन् । ‘काणेन चक्षुषा किं वा चक्षुपीडैव केबलम्’ । यद्यपि यो सानो लेखमा ‘मनु’ जस्तो गम्भीर उपन्यासको मूल्यांकन सम्भव छैन । तरपनि सरसर्ती पढ्दा मेरा मनले भेटेका ठानेका केही गौंडा गल्छेडालाई मात्र यहाँ उल्लेख गरेको छु । धेरै वर्ष समान व्यवशायमा रहेर काम गरेका साथीको उपन्यास भएको हुनाले पनि । ‘वालमीकि र व्यास’ जस्तो खोजपरक कृतिका स्रष्टाले ‘मनु’ जस्तो गम्भीर विषयको प्रस्तुतिमा आवश्यक गाम्भीर्य नअपनाएको देखेर मलाई अचम्म लागेको छ ।
ऋग्वेदको आठौं मण्डलमा अनेकौं प्रकारका पानक बनाउने र सेवन गर्ने विधिको वर्णन भेटिन्छ । उपन्यासमा सीमित मापसेका कुरामात्रै आएका छन् । ऋग्वेदले अग्निलाई सप्तजिहृव भनेर सात प्रकारको भूमिका निर्वाह कर्ताका रूपमा प्रस्तुत गरेको छ । उपन्यासमा यसको पनि कर्मक्षेत्र र कर्मसामथ्र्य घटाइएको छ ।
गोरु, राँगा, गधा, खच्चड, भेडा, चौंरी आदिलाई बाहन बनाउन त धेरै पछि आएर थालेका हुन् मान्छेले । मुसो, मयूर, बाघ, गरुड, हाँस जस्ता जीवको बाहनत्व वरण आदि राजाका बेला आएन भने कहिले आउला ? भाषा ऋग्वेदकालीन सामाजिक उपन्यास भनिएको हुनाले संस्कृतमय छ । यो स्वाभाविक नै हो पनि । संस्कृतमा ऋभु भनेको शिल्पकार हो जसलाई आजको भाषामा सिकर्मी भनिन्छ । बाज एउटा पात्र छ यसको भूमिका राम्रो देखाइए पनि शायद यो काल्पनिक पात्र होला । ऋग्वेद दशौं मण्डलमा देव र असुरका बीचमा वैमनस्य पैदा भएको सङ्केत गर्ने केही ऋचाहरू छन् तिनकै आधारमा हरप्पा (हरियुपिया) मोहन जोदडो (पुस्कलावती) यी दुबै सिन्धु सभ्यताको विकास र विनास बोकेका ठाउँ हुन् ।
यसलाई स्कन्द पुराणले त्रिपुर दाह भनेर चित्रण गरेको छ जुन कुरो स्वस्थानी व्रत कथामा पनि आएको छ र सारा नेपालीले पढेका छन् । हरेक पुराणमा नवद्वीप वर्णन छ । त्यसलाई उपन्यासकारले एउटा हिमपर्वतबाट चारतिर चार धारा भएर बगेका नदीका आधारमा ऋग्वैदिक भूगोलको कुरो गरेका छन् । विमलचरण लाहाले ‘वैदिक कालीन भारत’ भन्ने पच्चीसौं वर्ष लाएर गरेका अनुसन्धानले तत्कालीन भूगोल र आधुनिक भूगोललाई तुलनात्मक रूपमा नै प्रस्तुत गरिसकेका सन्दर्भमा यो कल्पना पनि विश्वसनीय बन्न सकेको देखिन ।
ऋग्वेदको आठौं मण्डलमा अनेकौं प्रकारका पानक बनाउने र सेवन गर्ने विधिको वर्णन भेटिन्छ । उपन्यासमा सीमित मापसेका कुरामात्रै आएका छन् । ऋग्वेदले अग्निलाई सप्तजिहृव भनेर सात प्रकारको भूमिका निर्वाह कर्ताका रूपमा प्रस्तुत गरेको छ । उपन्यासमा यसको पनि कर्मक्षेत्र र कर्मसामथ्र्य घटाइएको छ किन हो ? आकर्षक आवरण चित्रमा सजिएको ‘मनु’ उपन्यास ३२७ पृष्टको पाठ्य सामग्रीमा रहेको छ । विवस्वानको पाठशाला, देव र असुर, पुरा कथा, यम यमी यसरी चारवटा शीषकोपर्शीकमा परिच्छेद एकलाई विभाजन गरिएको छ । यसै गरी दोस्रो शासकको खोजीमा अहुरमज्द, देवलोकमा अहुरमज्द, यमको राज्याभिषेक जस्ता तीन शीर्षकोपशीर्षकमा विभाजि त छ ।
मद्र देशबाट दुई युवा, देवलोकका नवागन्तुक, ऋभुहरूको देवलोकमा प्रयाण, किंपुरुषको बस्तीमा, विशाला पुरी समेत चारवटा शीर्षकोपशीर्षक छन् । त्वष्टाको कार्यशाला, विश्वरूप, अहिदास वृत्र, चौथो तीनमा उनिएको छ । अमरावतीको खाली सिंहासन, नाममात्रको राजा, इन्द्रविनाको इन्द्रसभा, नहुषको पतन, मानसरोवर, पाँचौंमा छवटा उपशीर्षकको व्यवस्था छ । अश्विनी र राजकुमारी घोषा, मातृगृहमा सरण्यु, छैटौंमा दुई वटा मात्रै व्यवस्था गरिएको छ । अंगिराको सन्देश, सातौं परिच्छेदमा एउटामात्रै शीर्षक छ । सौत्रामणि इष्टि, विवस्वान परिवारको सायं भोज, ऋतधर्म, आठौं परिच्छेदमा तीनवटा शीर्षक रहेका छन् ।
दासत्वबाट उन्मुक्ति, नवौं परिच्छेदमा एउटामात्रै शीर्षक छ । देवलोकबाट प्रस्थान, सविता उपासना, हेराततिर, सरयु उपत्यका, हेरात् सम्राट, सुवास्तु, यसरी दशौं परिच्छेदमा छवटा शीर्षक उपशीर्षकको व्यवस्था गरिएको छ । तक्षशिला, मानवधर्मशास्त्र, ब्रहृमावर्तमा इक्ष्वाकु, तूरानी तीर्थयात्री, वरकलोक, ऋभुगणको प्रत्यागमन, एघारौं परिच्छेद छवटा शीर्षकमा विभक्त छ । उपसंहारः वानप्रस्थ, भनेर बाह्रौं परिच्छेदको व्यवस्थामा यो उपन्यास पर्यवशित हुन्छ ।
लेखक : डा.देवीप्रसाद सुवेदी
विधा : उपन्यास (ऋग्वैदिक सामाजिक उपन्यास) ।
पृ : जम्मा ५+३२७+३= ३३५ ।
प्रकाशक : बुक हिल पब्लिकेसन प्रा.लि. ।
प्रथम संस्करण २०७९ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच