लगातार किन बढिरहेको छ सुनको मूल्य ?

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक उच्च बन्यो । सोमवार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर, मंगलबार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । तर, सुनको मूल्य अझै बढ्ने व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, मंगलवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो । तर, पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ । तर, मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दी बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्रभन्दा सुन सुरक्षित लगानीको रुपमा लिदाँ विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दी, मूल्यवृद्धि र उद्योगधन्दाहरु समस्या परेको कारण लगानीकर्ताहरुको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताउनुभयो ।

उहाँले दुई।तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारीक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताउनुभयो । उहाँले विश्व ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको बताउनुभयो ।

उहाँले विश्वका लगानीकर्ताहरुले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गर्नुभयो । संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले केही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाउन थालेको बताउनुभयो ।

‘विश्वका शक्तिशाली देशहरु युद्धहरुमा संलग्न हुनु, व्यापारमा ठूलो अन्तर आउनु,विश्व व्यापीहरुमा दिनप्रति दिन मूल्यवृद्धि हुँदै जानु र उद्योगधन्दाहरु फस्टाउने भन्दा पनि समस्यामा पर्न लागेको कारणले गर्दा सबैको ध्यान सुनमा गएको कारण पछिल्लो समय सुनको मूल्य उतारचढाव आएको आएको छ । दुई, तीन हप्तामा किन यति धेरै सुनको मूल्यमा वृद्धि भयो भन्दा रुस र युक्रेनको युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा परेको छ भने अमेरिका र चीनबीचको व्यापारीक युद्ध र कोभिडको असर बाँकी रहेको छ । सुनको मूल्यमा उतारचढाव आउनुको मुल कारण प्यालेस्टाइन र इजरायलको युद्ध हो ।’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा व्यवसायीहरुले विभिन्न क्षेत्रमा लगाएको लगानी कहाँ लगेर लगाउने भन्ने चिन्तामा रहेकाले अन्य क्षेत्रमा लगाएको लगानी अब सुनमा लगाउन थालेका छन् । सुरक्षित लगानी भनेकै सुनमा रहेको भन्ने विश्वासले सुनमा लगानी बढेको छ । विश्वको सुरक्षित लगानी भनेकै सुनमा भएको विश्वास बढेकाले सुनको मूल्य उच्च रुपमा बढेको हो । अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णय पछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाएकाले पनि सुनको मूल्य बढ्यो ।’

उहाँले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलवार मूल्यमा गिरावट आएको बताउनुभयो । उहाँले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताउनुभयो । उहाँले नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?