हाम्रा कर्माचारी सक्षम छन् भन्ने लागेको थियो तर अझै परिणाम निकाल्न सकिएन : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताउनु भएको छ ।

ललितपुरमा आज "नेपालको अर्थतन्त्र र शासकीय सुधार सम्बन्धी अन्तरक्रिया’’ कार्यक्रममा बोल्दै उहाँले सेवामा सुधार देखेनन् भने जनतालाई फिलोसोफी र आइडोलोजीको मतलब नहुने बताउनु भयो ।

प्रधानमन्त्री दाहाले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लागि पुरै प्रयास जारी राखेको बताउनु भयो । उहाँले भन्नुभयो, ’ जनता पुरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन। अर्थतन्त्र सुधारतर्फ उन्मुख त छ तर दवावमुक्त भैसकेको छैन।’

‘साना साना कामहरूमा सुधार गरेर ठूला लक्ष्यलाई सहयोग पुग्ने गरी काम गर्न जरुरी छ । हामीले तत्काल जनतालाई सेवा प्रवाह गर्नेमा सुधार गर्नु जरुरी छ । जनताले यो वाद र त्यो वादभन्दा पनि सेवा प्रवाहमा सुधारको अपेक्षा राख्छन् । जनताले प्रत्यक्ष रुपमा सेवा प्रवाहको अनुभूत गरेन भने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रप्रति पनि भरोसा कमजोर हुँदै जान्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

उहाँले तत्काल सेवा प्रवाह गर्ने कुरालाई केन्द्रित गरेर जनतालाई सेवा दिन सकिने गरी विद्यमान प्रणालीमा सुधारका लागि लाग्न पनि कर्मचारी संयन्त्रलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्ने बताउँदै त्यही सन्तुष्टि र असन्तुष्टिमा राजनीतिक चलखेल समेत हुने गरेको बताउनु भयो ।

प्रधानमन्त्रीले अरू देशका भन्दा हाम्रा कर्माचारी सक्षम छन् भन्ने लागेको भए पनि परिणाम निकाल्न भने नसकिरहेको अवस्था विद्यमान रहेको स्वीकार्नु भयो ।

‘हामीले गर्न खोजिरहेका छौँ, गरिरहेका पनि छौँ तर हाम्रा कामबाट जनताले लाभ लिन सकिरहेका छैनन्, हाम्रो कार्यप्रणालीप्रति जनताको गुनासो छ । धेरै कुराको ‘ग्याप’ छ त्यसलाई समाधान गर्नेतर्फ यो अन्तरक्रिया कार्यक्रम केन्द्रित हुनेछ भन्ने विश्वास छ।’ उहाँले भन्नुभयो ।

मुलुकको कर्मचारीतन्त्रप्रति जनताको भरोसा रहेकाले नै सानासाना कुरामा परिवर्तनको महसुस गरेर सेवा प्रवाहबाट नागरिकले सन्तुष्टि लिन सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

‘हामी १५ औं योजनाको समिक्षा र १६ औं योजनाको तयारीको समयमा छौँ । आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा छौँ ।' उहाँले भन्नुभयो, 'यो मौलिक कार्यक्रमले त्यसको लागि सरकारलाई मद्दत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।' उहाँले भन्नुभयो ।

अन्तरक्रियामा मन्त्रीहरु, मुख्यसचिव, नेपाल  सरकारका सचिवहरू, नेपाल राष्ट्र बैङ्कका गभर्नरलगायत नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारीहरूको उपस्थिति थियाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?