नेपाली कला क्षेत्रमा बहुप्रतिभाका धनी मोहनलाल घिसिङ लामा चिरपरिचित नाम हो । कवि, गीतकार, लेखक, स्क्रिप्ट राइटर, निर्देशक, कलाकारका रूपमा उहाँले आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । विसं. २०१८ साउन १४ मा बुबा जनिलाल घिसिङ लामा र आमा सानीमाया घिसिङ लामाको कोखबाट रामेछाप सुनापति-४ डहुमा जन्मिनुभएका घिसिङ अहिलेसम्म आउँदा ६ हजारभन्दा बढी गीत लेखेको दाबी गर्नुहुन्छ । एक हजारभन्दा बढी गीत रेकर्डिङ गर्नुभएका उहाँ गीतिसंग्रह पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । यस्तै, ‘युट्युब थम्बलसहित मेरा गीतहरू’ गीतिग्रन्थ पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ भने गीति, जीवनी र मिश्रित वंशावलीको बृहत् पुस्तक पनि प्रकाशनको अन्तिम चरणमा रहेको सुनाउनुहुन्छ । समाज परिवर्तनका वैचारिक गीतहरू अलिक बढी लेख्ने गरेको बताउनुहुने घिसिङ लोकलय, आधुनिक, गजल, भजन, पप, र्याप, ज्याज सबै प्रकारका गीत लेख्ने गरेको बताउनुहुन्छ । प्रायः दुई-चार त लेखी नै रहेको बताउनुहुने उहाँसँग एकदिन २३ वटा गीत लेखेको र २६ वटा गीतको पूर्ण छायाँकन गरेको अनुभव छ । लगातार ३० वर्ष थांका आर्टसमेत गर्नुभएका घिसिङ गीत, संगीत, कला संस्कृतिमार्फत् निरन्तर समाज रूपान्तरणमा लागि नै रहेको बताउनुहुन्छ । ल्होछारको अवसर पारेर आफ्ना केही कृति पाठकमाझ ल्याउने तयारीमा रहनुभएका स्रष्टा मोहनलाल घिसिङ लामासँग हिमालय टाइम्सको हिँड्दा-हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
गीत, संगीत, कला संस्कृतिको क्षेत्रमा लागेको व्यक्ति, आफूलाई त्यसैमा समर्पण गरेको व्यक्ति भएको हुनाले त्यससम्बन्धी कार्यमा आफूलाई तल्लीन गर्दै आएको छु । यतिबेला ‘युट्युब थम्बलसहित मेरा गीतहरू’ गीतिग्रन्थ पाठकमाझ ल्याउँदै छु । यस्तै गीति, जीवनी र मिश्रित वंशावलीको बृहत् पुस्तक ल्याउँदै छु ।
बृहत् पुस्तक भन्नुभयो फेरि यसमा गीति जीवनी र वंशावली समेट्दै हुनुहुन्छ । कुन-कुन जातिको वंशावली समेट्दै हुनुहुन्छ ?
हो यो बृहत् पुस्तक हो । यसमा मैले लगभग चार हजार ६०० जति गीत, आफ्नै जीवन वृत्तान्त र चार जात अनि एघार थरको वंशावली यसमा समेट्दै छु । यसमा मैले निर्देशन गरेको भिडियोका ४०० लगभग फोटोहरू पनि समावेश गर्दै छु ।
यो त निकै विस्तृत होला जस्तो छ, कति जति पेजको हुन्छ होला ?
हो, निकै विषय समेट्दै जाँदा विस्तृत नै भएको छ । यो लगभग पाँच हजार पेजको हुने अनुमान गरिएको छ । विश्व मानव जातिहरूको संस्कार, संस्कृति, प्रकृति र विचारलाई पनि समेटेर ल्याउँदै छु ।
मैले समाज परिवर्तनका वैचारिक गीतहरू अलिक बढी लेखेको छु । तर, सबै खालका गीत लेखेको छु । लोकलय, आधुनिक, गजल, भजन, पप, र्याप, ज्याज सबै प्रकारका गीत लेखेको छु । सायद मैले संसारभर रहेको भाकाका गीत लेखेको छु । मैले ६ हजारजति गीत लेखेको छु । आफ्नै जीवन वृत्तान्त र चार जात अनि एघार थरको वंशावली, मैले निर्देशन गरेको भिडियोका ४०० लगभग फोटोहरू र लगभग चार हजार ६०० जति गीत समेटेर बृहत् पुस्तक ल्याउँदै छु । यस्तै, ‘युट्युब थम्बलसहित मेरा गीतहरू’ गीतिग्रन्थ पनि पाठकमाझ ल्याउँदै छु ।
यस्तो पुस्तक सम्भव छ त ?
छ नि । सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो । इच्छाशक्ति भएकै कारण मानिसले ठूला-ठूला कार्य गर्न सम्भव भएको हो । हेरौँ गर्दै छु, यसले छिट्टै मूर्तरूप लिने आशा गरेको छु ।
कहिलेसम्म यो बृहत् पुस्तक पाठकमाझ ल्याउँदै हुनुहुन्छ ?
ल्होछारको अवसर पारेर यो कृति पाठकमाझ ल्याउँदै छु । माघ २७ गते लोकार्पण गर्ने योजनासहित यसैमा तल्लीन भएको छु ।
यहाँले थुप्रै गीत लेख्नुभएको छ, अहिलेसम्म कति जति गीत लेख्नुभयो होला र रेकर्डिङ कति भए होलान् ?
अँ यस्तै ६ हजारभन्दा बढी गीत लेखियो होला । यस्तै हजारभन्दा बढी गीत रेकर्डिङ भएको छ ।
यति धेरै गीत लेख्ने नेपालमा सायद तपाईं पहिलो नै होला है ?
म दाबी त गर्दिनँ तर अहिलेसम्म यति धेरै गीत लेख्ने व्यक्ति मैले सुनेको छैन । कतैबाट सार्वजनिक भएको पनि पाएको छैन । सायद म नै हुँ कि । तपाईं जस्तो व्यक्तिहरूले रिसर्च गर्नुहोस् न ।
यहाँले प्रायः कस्ता प्रकारका गीत लेख्ने गर्नुहुन्छ ?
मैले समाज परिवर्तनका वैचारिक गीतहरू अलिक बढी लेखेको छु । तर, सबै खालका गीत मैले लेखेको छु । लोकलय, आधुनिक, गजल, भजन, पप, र्याप, ज्याज सबै प्रकारका गीत लेखेको छु । सायद मैले संसारभर रहेको भाकाका गीत लेखेको छु ।
पहिलो गीत कहिले लेख्नुभएको थियो, याद छ ?
यस्तै मैले २०३८ साल माघमा लेखेको थियो । तामाङ भाषाको ‘मरलीला भाकारी’ भन्ने बोलको गीत लेखेको थिएँ ।
गीत पनि लेख्दै आउनुभएको छ, विभिन्न लेखहरू पनि प्रकाशन गर्नुहुन्छ, पुस्तकका रूपमा पनि ल्याउँदै हुनुहुन्छ, गीतका भिडियो निर्देशन, फिल्म निर्देशन, स्क्रिप्ट राइटिङ बहुविधामा आफूलाई संलग्न गराउँदै आउनुका साथै सामाजिक कार्यमा पनि त्यत्तिकै रूपमा लागेको पाइन्छ । यो सबै कसरी सम्भव भएको छ ?
मैले गर्दै जाँदा यो सबै सम्भव भएको हो । हरेक मानिस सामाजिक प्राणी हो । समाजप्रति उसको उत्तरदायित्व हुने गर्दछ । मैले आफ्नो उत्तरदायित्व निर्वाह गरेको हु । अर्को रहृयो कला क्षेत्रको कुरा, सायद म यसैका लागि जन्मिएको हुँ ।
यहाँले एक दिनमा कति जति गीत लेखेको अनुभव छ ?
प्रायः दुई-चार त लेखी नै रहेको हुन्छु । तर, एक दिन कति जति गीत लेख्न सक्दो रहेछु भनेर बिहानदेखि बसेको २३ वटा गीत लेखेँछु । यस्तै एक दिनमा २६ वटा गीतको पूर्ण छायाँकन गरेको छु ।
यो असम्भव कार्य गरिरहेको जस्तो लाग्दैन ?
त्यस्तो होइन । मानिसमा लगाव भयो भने गर्न सक्छ भन्ने म आफैं उदाहरण छु त । मैले यति गीत लेखेँ र यति गीतका भिडियोका छायाँकन भयो भनेर म आफैंलाई थाहा भएन । गर्दै जाँदा भयो । पछि आज कति भएछ भनेर हेर्दा त यस्तो तथ्यांक आयो । यस्तै ‘वान म्यान वान ट्याक’मा पनि भिडियो बनेको छ । मैले बिनास्क्रिप्ट, बिना पूर्वअभ्यास फिल्मको निर्माण पनि गरेको छु । यी सबै मोहन घिसिङ अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
यहाँ थांका आर्टिस्ट पनि हो होइन ?
हो, एकदम । म थांका आर्टिस्टबाटै आएको हुँ । मैले लगातार ३० वर्ष थांका आर्ट गरेको छु ।
यहाँ एकखालको वैचारिक सांस्कृतिक आन्दोलनमा पनि लाग्नुभयो, यहाँसँगैका साथीहरू राज्यका विभिन्न निकायमा पुग्न पनि सफल हुनुभयो, आफू पछि परियो भन्ने लाग्दैन ?
हो, म वैचारिक सांस्कृतिक आन्दोलनमा लागेँ । म समाज रूपान्तरणका लागि यसमा होमिएको हुँ । कुनै पद पैसाको लोभमा म लागिनँ । कसैसँगै ज्यू-हजुर गर्न पनि गइएन । म निरन्तर समाज रूपान्तरणका लागि लागि नै रहेँ । वर्तमानमा म कुनै दलसँग आबद्ध पनि छैन ।
यहाँका माथिका कुरा सुन्दा, यहाँले भन्दै गर्दा अद्भूत कार्य गर्दै आउनुभएको छ । यसलाई तथ्यांकका रूपमा राखेर रेकर्डमा दर्ता गर्ने सोच बनाउनुभएन ?
मैले कुनै रेकर्डका लागि काम गरेको होइन । गर्दै जाँदा हुँदै गयो । मलाई कुनै सोच पनि आएन । अहिले साथीभाइहरूले तैंले त अद्भूत काम गरिस् भन्दा यो रेकर्डमा जानुपथ्र्यो भन्ने मनमा चाहिँ लाग्छ । हेरौँ अब गर्ने कार्यका लागि रेकर्डका लागि गर्ने सोच्दै छु ।
तपाईंलाई यो क्षेत्रमा लाग्नका लागि प्रेरणा दिने कोही थिए कि ?
म युवा अवस्थामा अझ भनाँै कमै उमेरमा ०३५/०३६ को आन्दोलनमा रमाइलो हेर्न जाँदाजाँदै त्यही क्रममा एक आन्दोलनकारीसँग कसरी हो सामिप्यता हुन गएछ । त्यही आन्दोलनकारीले तपाईंकै जातको ठूलो मान्छे कहाँ जाऔँ भनेर लाँदा पछि बुझ्दै जादा उहाँ त पारिजात पो हुनुहुँदो रहेछ । यसरी उहाँको संगतले ममा पनि प्रभाव पर्न गयो भन्ने लाग्छ । मलाई पारिजातले नै मेरो रुचिअनुसार वरिष्ठ गीतकार तथा संगीतकार रायनसँग जोड्नुभयो । यसैक्रममा रामेश, जेबी टुहुरे, शरद पौडेल, शक्ति बल्बभसँग सामिप्यता भयो । उहाँहरूसँग मैले सिक्ने मौका पाएँ । उहाँहरूकै प्रेरणाले म अघि बढ्दै गएँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच