देशको राष्ट्रियता र राजनीतिक प्रणालीमा समेत संकट देखापर्दै गयाे: पूर्वप्रधानमन्त्री खनाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियताका साथै राजनीतिक प्रणालीमा समेत सङ्कट देखा पर्दै गएको बताउनु भएको छ ।

जनसाहित्यिक मञ्च नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरब बढाउन सकिने उहाँले बताउनुभयो ।

स्वदेशका सांस्कृति, सामाजिक पक्षका साथै सभ्यताको जगेर्ना हुन नसकेकाले भाषा, साहित्यको अतिक्रमण हुँदै गएकामा हामी सबै त्यसतर्फ सचेत रहनुपर्ने नेता खनालको भनाइ थियो । मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राजनीतिक अस्थिरता आउन सक्ने खतरा रहेको बताउँदै उहाँले त्यस्तो कार्यले सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा प्राप्त अधिकार सङ्कुचित हुन सक्ने औँल्याउनुभयो ।

नेता खनालले मुलुकमा विद्यमान विभेद, वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न सरकारलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले विगतमा मुलुकमा राष्ट्रिय औद्योगीकरणको विकास गर्न नसकेकाले आर्थिक सङ्कट आएको उल्लेख गर्दै यसलाई समाधान गर्न सबै दलहरुले प्रष्ट नीति बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले मुलुकका विभिन्न समयमा भएको आन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएकाले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिनुभयो । समाजवादको मुख्य आधार उद्यमशीलताको विकास तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने भएकाले जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने नेता खनालको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?