च्याम्पियन्स लिग : बार्सिलोना र टोटनहमको जित

Read Time = 4 mins

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिक क्लब भिक्टोरिया प्लेजेनमाथि उसकै मैदानमा ४-२ को जित हात पारेको छ । बार्सिलोनाको जितमा फेरान टोरेसले दुई तथा मार्काेस अलन्सो र पाब्लो टोरेले समान एक गोल गर्नुभयो । भिक्टोरियाका थोमस चोरेले दुई गोल गर्नुभयो ।

खेलको छैटौँ मिनेटमा मार्काेस अलन्सोको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लियो । ४४औँ मिनेटमा फेरान टोरेसले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाउनुभयो ।

५१औँ मिनेटमा थोमस चोरेले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याउनुभयो । ५४औँ मिनेटमा राफिन्हाको पासमा टोरेसले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्नुभयो । ६३औँ मिनेटमा थोमस चोरेले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याउनुभयो । त्यसपछि पाब्लो टोरेले राफिन्हाको पासमा गोल गर्दै बार्सिलोनालाई ४-२ को सहज जित दिलाउनुभयो ।

यस जितसँगै बार्सिलोना समूह ‘सी’ मा ६ खेलबाट सात अंक जोडेर तेस्रो स्थानमा रहृयो । पराजित भिक्टोरिया अंकविहीन हुँदै पुछारमा रहृयो । यो समूहबाट बायर्न १८ अंक जोडेर शीर्षस्थानमा तथा इन्टर मिलान १० अंक जोडेर दोस्रो स्थानमा रहृयो । यस्तै, अर्को खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी मार्से इंग्लिस क्लब टोटनहमले २-१ को जित हात पार्‍यो । जितसँगै टोटनहम च्याम्पियन्स लिगको समूह ‘डी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोटनहमको जितमा क्लेमेन्ट लेङ्लेट र पिएरे इमिल होज्वजर्गले गोल गर्नुभयो । मार्सेका चान्सेल म्हेम्वाको गोल सान्त्वना बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा चान्सेलको गोलबाट मार्सेले सुरुवाती अग्रता लियो । ५४औँ मिनेटमा क्लेमेन्ट लेङ्लेटले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयमा पिएरे इमिलले हृयारी केनको पासमा गोल गर्दै टोटनहमलाई जित दिलाउनुभयो ।

अर्काे खेलमा जर्मन क्लब फ्रान्कफुर्टले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि २-१ को पुनरागमन जित निकाल्दै समूह उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको छ । फ्रान्कफुर्टको जितमा दाइची कामदा र राण्डल कोलो मुएनीले गोल गर्नुभयो । स्पोर्टिङका आर्थरको गोल सान्त्वना बन्यो ।

यस नतिजासँगै टोटनहम ६ खेलबाट ११ अंक जोड्दै समूह विजेता बन्यो । फ्रान्कफुर्ट १० अंक जोडेर दोस्रो हुँदा स्पोर्टिङ सात अंकसहित तेस्रो तथा मार्से ६ अंक जोडेर पुछारमा रहृयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?