नागरिक उड्डयन प्राधिकरणको निर्णयले मारमा यात्रु

हिमालय टाइम्स
Read Time = 8 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । नागरिक उड्डयन प्राधिकरणले गत साउन १४ गतेबाट देशका ३० वटा विमानस्थलहरूमा दिउँसो १२ बजेपछि उडान गर्न रोक लगाउने निर्णय गरेपछि दुर्गम जिल्लामा रहेका यात्रुहरू मर्कामा परेका छन् । बर्षातका समयमा हवाई दुर्घटना हुनसक्ने भन्दै प्राधिकरणले उक्त निर्णय गरेको थियो । सो निर्णयले नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पा, सिमिकोट, रारा र बाजुरा जिल्लालगायत अन्य पहाडी जिल्लाका यात्रुहरू मारमा परेका हुन् ।

‘मुगुको रारा विमानस्थलमा हवाई उडान नभएको ६ दिन भयो । यात्रुहरू अहिले रारा विमानस्थलमा हवाई जहाजको पर्खाईमा बसेका छन् । तर, विमान कहिले आउने हो टुंगो छैन, हेभन रारा टा«भल्सका बजार व्यवस्थापक सोभबहादुर भाम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपछि आकाश खुल्ला हुन्छ । तर, नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजेपछि उडान गर्न मिल्दैन ।’ आफ्नो टा«भल्सबाट मात्र तारा एयरलाइन्समार्फत नेपालगञ्ज जाने ४३ जना यात्रुहरूले टिकट लिएर जहाजको पर्खाईमा बसेको उहाँले सुनाउनुभयो ।

प्राधिकरणको निर्णयले सबैभन्दा बढी बिरामी मारमा परेका छन् । मुग कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्व छ । उहाँको नाकभित्र मासु पलाएर सास फेर्न गाह्रो भएपछि उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । तर, उहाँ पाँच दिनदेखि विमानस्थलमा जहाज कुरेर बसिरहनु भएको छ । ‘गाउँपालिकाले २० दिनलाई मात्र बिदा दिएको छ । पाँच दिन रारा विमानस्थलमा सकिसकेको छ । जहाँजको पर्खाईमा बस्दाबस्दै उपचार गर्न नपाई सबै बिदा विमानस्थलमै सकिने चिन्ता लागेको छ,’ बुढाले दुःखेसो पोख्नुभयो । यस्तै, एक गैरसरकारी संस्थामा अन्तर्वार्ताका लागि साउन २३ (मंगलबार) काठमाडौं पुग्नुपर्ने भए पनि तीन दिनदेखि जहाज कुर्दाकुर्दै सो समय खुस्किएको छायानाथ रारा नगरपालिका-४ का धीरेन्द्रबहादुर भामले सुनाउनुभयो ।

दिउँसो १२ बजेभन्दा पछि उडान रोक गर्ने प्राधिकरणको निर्णय हुनुभन्दा पहिला रारा विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट, तारा एयरलाइन्सले दैनिक दुईदेखि तीन उडान भर्दै आएका थिए । नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो । ६ दिनदेखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन् ।

रारा नागरिक उड्यन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराई रारा विमानस्थलको लागि प्राधिकरणको निर्णय उपयुक्त नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘रारा विमानस्थलको मौसम १२ बजेपछि खुल्ला हुने गर्छ । प्राधिकरणको निर्णयले साढे १२ भित्र जहाज उडिसक्नुपर्ने हुन्छ । यो निर्णय यहाँको लागि उपयुक्त छैन ।’ लामो समय जहाज उडान नहुँदा सडक यातायातमार्फत आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरू पनि अहिले वर्षातको कारण पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा जहाजकै भर परेका छन् । कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकप्टर वा जहाँजबाट सुविधासम्पन्न स्थान लैजानुपर्ने हुन्छ यो निर्णयले सर्वसाधरण मर्कामा परेको छायानाथ रारा-१० का दिर्ग बुढा बताउनहुन्छ । रारा विमानस्थललगायत अन्य विमानस्थलका लागि गरिएको यो निर्णयलाई संशोधन गर्न माग गर्दै संघीय पर्यटन मन्त्रीलाई ज्ञापनपत्रसहित सुझाव दिएको र प्रधानमन्त्रीसँगसमेत यो विषयमा छलफल गर्नका लागि प्रयास गरिरहेको पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्णा रोकायाले जानकारी गराउनुभयो ।

कर्णाली राजमार्ग नाम मात्रको राजमार्ग छ यो सडकमा सडक मापदण्डका कुनै संरचनाहरू छैनन् । त्यसमा वर्षाको समयमा कर्णाली राजमार्ग कति जोखिम छ भनेर साध्य छैन । हत्केलामा ज्यानको बाजी राखेर यात्रा गर्नुपर्ने बाध्यता छ । विश्वमा ९९ प्रतिशत यात्रा सुरक्षाको ग्यारेण्टी रहेको हवाई उडानमा यात्रा गर्न सबै यात्रु चाहन्छन् तर रारा विमानस्थलसहित ३० विमानस्थलमा मौसमको कारण देखाउँदै सम्भावित दुर्घटनाबाट जोगाउन भन्दै प्राधिकरणले गरेको निर्णयले दुर्गमका जनता झन् पीडामा परेका छन् । विमानस्थलमा दिउँसो उडान हुँदा बिहानै घरबाट हिँडेर विमानस्थलसम्म पुग्ने गरेका ग्रामीण क्षेत्रका यात्रुहरूलाई प्राधिकरणको निर्णयले खर्च बढाएको छ । बिहानै उडान हुने भएपछि अघिल्लो दिनमै बजारमा आएर बस्नुपर्ने बाध्यता यात्रुहरूमा रहेको सञ्चारकर्मी जीवन सेजुवाल बताउनुहुन्छ ।

हवाईजहाजलाई मात्र होइन प्राधिकरणको निर्णय हेलिकप्टरलाई समेत लागू हुने भएकाले दिउँसो १२ बजेपछि हुने घटना, दुर्घटना र विपतमा परेका नागरिकलाई समेत हेलिकप्टरबाट उद्धार गर्न पाइने छैन भने सडक सञ्जालसँग नजोडिएका जिल्ला तथा गाउँहरूमा हुने विकास निर्माणका सामानहरू हेलिकप्टरको माध्यमबाट ओसार्दै आएकोमा अब दिउँसो ओसार्न पाइने छैन । यस हिसाबले सबैतिरबाट दुर्गम तथा ग्रामीण क्षेत्रका जनता नै प्राधिकरणको निर्णयबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?