जोखिम मोलेर डुङ्गामा रमाउछन् रारा पुग्ने पर्यटकहरु

हिमालय टाइम्स
Read Time = 6 mins

-नृपेन्द्रबहादुर मल्ल

मुगु । नेपालको सबैभन्दा ठुलो र गहिरो ताल रारामा पर्यटकहरु जोखिमपुर्ण डुङ्गा यात्रा गर्न बाध्य छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा अवस्थित रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले डुङ्गा चढेर वारपार गर्ने अनि रमाउने गरेका छन् ।

पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गर्ने लाईफ ज्याकेटहरू पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भैरहँदा यहाँ पुग्ने पर्यटकहरूले जोखिम मोलेर तालको यात्रा गर्नु परेको हो ।

चितवन जिल्ला बाट रारातालमा घुम्न आउनु भएका र्‍याप्टिङ गाइड, आन्तरिक पर्यटक सुक बहादुर गुरुङ भन्नुहुन्छ- 'रारा तालमा डुङ्गाबाट यात्रा गर्नेहरुले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने रहेछ । यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै ड्यामेज भएका छन् , त्यसैमा पनि रारामा चलाउने डुङ्गा एक पटकमा दश जना सम्म बोक्ने क्षमता भएका रहेछन् तर यहाँ डुङ्गामा १४ देखि १६ कहिले काहिँ २० जना सम्म राखेर सवार गर्ने गरिएको छ जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।' लाइफ जाकेट कुनैको खोल च्यातिएका पेट र छातिमा बाध्ने फिताका कभर फुटेकाले कुनै पनि बेला दुर्घटनाको जोखिम मोल्नु पर्ने सम्भावना रहेको पनि गुरूङले बताउनु भयो ।

यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवानको भरोसामा ताल माथि यात्रा गर्नुपर्ने रहेछ । म ८० जनाको टिम लिएर रारा आउदैछु । यस्तो अबस्था देखे के भन्लान समय मै लाइफ ज्याकेट मध्यवर्तीक्षेत्रले हेर्ने हो कि निकुन्ज कार्यालय कस्ले गर्ने हो, फेर्नु पर्ने पर्यटन घुमाउन ल्याउनु पुर्व व्यवस्थापनका लागि रारा पुग्नु भएका पर्यटन व्यवसायी डम्बर थापा सुझाव दिनुहुन्छ ।

रारामा प्रयोग भएका लाइफ ज्याकेट वढीमा तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका रहेछन् । यहाँका लाइफ ज्याकेट भनेका यात्रुलाई सान्त्वना दिने खालका मात्र रहेको पनि पर्यटन व्यवसायी थापाले गुनासो गर्नुभयो ।

यता रारा घुम्न आउने आन्तरिक र वाह्य पर्यटक झण्डै दिनमा एकसय भन्दा माथि संख्यामा रारा तालको मिलीचौर देखि रारा हुटु सम्म डुङ्गा चडेर आउने गरेको रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिकाे भनाइ छ ।

नाम बताउन नचाहने डुङ्गा चालक भन्छन, 'राराका डुङ्गा चालकहरु विना तालिम अनुभवका आधारमा चलाउँदै आएका छौ लाइफ ज्याकेट पुराना भए फेर्नु पर्यो नयाँ ल्याउनुस भन्दा निकुन्ज र मध्यवर्ती समितिले वास्ता गर्दैनन् । कुन दिन ठुलो दुर्घटना हुन्छ अनि थाहा पाउँछन् ।'

रारा मध्यवर्ती क्षेत्र विकास समितिका कार्यालय सचिव लोकेन्द्र वमले कार्यालयको तथ्यांक अनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ वटा डुङ्गा रहेका छ्न् । लाइफ ज्याकेट रारा राष्ट्रिय निकुञ्जले खरिद गरेको ६ देखि ७ वर्षसम्म पुगिसकेका छन् । कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेट सम्बन्धि त्यस्तो गुणस्तरीय चेकजाँच गरेको छैन । ३० देखि ४० ज्याकेट काम नलाग्ने खालका रहेका र डुङ्गा चड्ने यात्रुको चापका कारणले क्षमता भन्दा वढी यात्रु राख्नु पर्ने वाध्यता रहेको पनि सचिव बमले बताउनुभयो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेका अनुसार केही कुरामा सत्यता भए पनि बाहिर आए जस्तो सबै कुरा सत्य नभएको र सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रुपमा लिदै छिटो गुनासाहरु सम्बोधन गरि राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको रारा यात्रा भरपर्दो र सुरक्षित बनाउन यहाँ रहेका कमीकमजोरीहरु क्रमशः सुधार गर्दै जाने रारा राष्ट्रिय निकुन्ज कार्यालय मुगुका मुख्य निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गत साउन १ गते देखि कात्तिक मसान्तसम्म रारामा आन्तरिक पर्यटक ४ हजार ४९०, सार्क मुलुकका २६ अन्य विदेशी मुलुकबाट ९५ जना सहित ४ हजार ६११ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?