देश : जो फजुलका बहसहरूमा रमिरहेछ !

डा. नारायण चालिसे
Read Time = 14 mins

हाम्रो देश हल्ला र अफवाहहरूमा बढी रमाउँछ । भूपीले त्यसै भनेका होइनन् यो हल्लैहल्लाको देश हो भनेर । सानो कुराकेही भेटियो भने देशै हल्लाउने यस्ताहल्ला, अफवाह र पूर्वाग्रहहरूले देशलाई फाइदा त होइनहानिअवश्य गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोग यति धेरै भइरहेको छ कि सत्य कुरा थाहा पाउन निकै गाह्रो हुन्छ । यो हप्ता देशका प्रधानमन्त्रीको खिल्ली उडाएर सकियो । सामाजिक सञ्जालका समाचारहरू पढ्दा लाग्थ्यो प्रमले कुन मुख देखाएर हिँड्ने ।

उहाँले निरन्तर यो भ्रमण उपलब्धिपूर्ण रहृयो भनिरहनुभएको छ भने विपक्षीहरू भ्रमण व्यर्थ भयो भनिरहेका छन् । तथ्यको खोजी हुनु नराम्रो कुरा होइन तर खोज्दा भेटिएका सबै कुराहरू तथ्यपरक हुन् होइनन् त्यो भने बुझ्न आवश्यक छ । त्यसो त छिमेकी मित्र राष्ट्रभारतको भ्रमणमा गएका उहाँबाट कति ठूलो गल्ती भएको हो थाहा छैन । उहाँले बोलेका भनिएका केही विवाद निम्त्याउने समाचारहरू पनि आएका थिए र केही राम्रा भनिएका कुरा पनि आएका थिए । कुनै पनि देशको सरकार प्रमुखको अर्को देशको भ्रमण धेरै दृष्टिले महत्वपूर्ण हुन्छ ।

केही बोल्नुपर्ने बोलिएका कुरा, केही बोल्न पर्ने तर नबोलिएका कुरा, केही नबोलिएका तर बोलिएका भनिएका कुरा त्यसैगरी गर्नुपर्ने र नपर्ने धेरै काम र कुराहरूको चर्चा सञ्जालमा हुनु स्वाभाविक पनि हो । यस विषयमा सरकार प्रमुखले निकै गम्भीर भएर पाइला चाल्नुपर्ने हुन्छ र सायद चालिएको पनि होला । अति नै सजग हुँदाहुँदै पनि कतिपय त्रुटिहरू पनि हुन्छन् । त्यस्ता त्रुटिहरू जो राष्ट्रको हितविपरीत भए भने त्यो निकै चिन्ताको विषय हो ।

सत्ताबाहिर रहेका हामी सर्वसाधारणले जत्तिको पनि काम नगरेर लिइने सुविधा अनि अवैध कारोबारको चक्र चलाएर देशलाई आर्थिक र नैतिक रूपले सिध्याउने बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने व्यवसाय अब बन्द गर्नुपर्ने बेला आएको छैन र ?

यस पटकको भारत भ्रमणमा पनि प्रमबाट केही गरिनुपर्ने कुरा गरिएनन् र केही नगरिनुपर्ने कुरा गरिए भनेर पनि समाचार आयो । तथापि गम्भीर प्रकृतिको त्रुटिका समाचार त्यति आएनन् बरू भ्रमण अनुत्पादक भयो । भ्रमणको उपलब्धि ज्यादै कम भयो । देश र जनताको हितमा नरहेको विवादास्पद नागरिकता विधेयक भारतको हितमा प्रमाणित गराएर महँगो उपहार लिएर भारत गएका प्रम त्यस्तै बाह्र हो कि तेह्रवटा मुर्रा जातका राँगाहरू लिएर आए । मूल्यका दृष्टिले ती पैँतालिस लाख जतिका होलान् उपयोगका दृष्टिले ती अलि बढी लाखका पनि होलान् तर झट्ट सुन्दा राँगा उपहार लिएर प्रम फर्किनुभयो अरू खास केही भएन भनेर देशका पूर्वप्रमले नै भनेपछि भने कुरा केही गम्भीर नै रहेछ कि भन्ने लाग्यो ।

प्रमको राजनीतिक सिद्धान्त र उहाँले मठमन्दिरमा पूजाअर्चना गरेको दृश्य स्वाभाविक देखिएन । प्रमले सांस्कृतिक क्षेत्रमा देखाएको पछिल्लो अवतार पनि मानिसलाई त्यति स्वाभाविक लागेन भन्ने कुरा पनि आए । पार्टी सिद्धान्तले नै छेकबार गरेको अवस्था एउटा हो त्यसभन्दा पर मानिस स्वतन्त्र प्राणी पनि हो । उसले आफ्नो इच्छाले धर्मकर्म गर्न वा नगर्न पाउँछ । त्यसमाथि मानिस सधैँ एउटै मान्यतामा अडिइरहन सक्दैन पनि । समय सन्दर्भमा मानिसको स्वभाव, चरित्र र व्यवहारमा परिवर्तन आउनुलाई अन्यथा मान्न मिल्दैन । त्यस्तै नागरिकता विधेयक भारतको संसदमा पेश भएको पनि होइन र भारतका राष्ट्रपतिले प्रमाणित गरेको पनि होइन । जानेर नजानेर हामीले नै त्यो गल्ती गरेका हौँ ।

यसरी हामीले आफ्नो अज्ञनता छताछुल्ल पार्दै जाने र दोष जति अरूको टाउकामा थोपर्दै जाने हाम्रो पुरानो प्रवृत्ति यस पटक पनि झल्कियो । तर, जे भएको थियो त्यो ठीकै थियो सानोतिनो टीकाटिप्णी गरेर सकेको भए पनि हुन्थ्यो । संसद्को मुख्य विषय बनाएर गरिमामय संसद्को लामो समय खेर नफालेको भए पनि हुन्थ्यो । मुलुकको गरिमामय संसद्मा देशलाई उन्नति र प्रगतिको पथमा पु¥याउन के गर्नुपर्ला भनेर गहन छलफल र कार्यदिशा तय गर्नुपर्ने काम र कुरा एकातिर रहेको बेला देशका प्रधानमन्त्रीलाई फजुलका कुरामा रूमलेर आफ्नो छद्म कला प्रदर्शन गर्ने महामहिमदेखि सर्वसाधारणसमेतको यस प्रवृत्तिले हामीलाई कति अग्ल्यायो वा होच्यायो त्यसको हेक्का ती स्वनामधन्यलाई होला कि नहोला ?

हाम्रा योग्यताका आफ्नै सीमानाहरू हुँदा रहेछन् । प्रधानमन्त्री भइसकेका व्यक्ति पनि रोस्टममा उभिएर तिनै अनावश्यक कुराको कुतर्क गरिरहेको दृश्य अनि बहालवाला प्रधानमन्त्रीको तिनै विषयको खण्डन गरिरहेको दृश्य जति विरक्तलाग्दो थियो त्यसमाथि सार्थक काम नपाएर बेरोजगार बनेका सांसदज्यूहरूको अवस्था त्यति नै निराशाजनक थियो । संसद्मा गएर मूल कामलाई छोडेर अनावश्यक कुराहरूमा समय खेर फाल्ने सांसद, मन्त्री र प्रधानमन्त्रीसमेतको यो नौटङ्की अख्तियारको दुरुपयोग हो कि होइन ? सांसद वा मन्त्री भएर देश र जनताको सेवा गर्ने भनेर दिइएको तलब, भत्ता र अन्य सुविधा कहाँबाट आउँछ र यसरी देशको समय बर्बाद गरिँदै छ ? यो ज्यादै गम्भीर प्रश्न हो ।

के लोकप्रिय कुरा गर्दैमा वा कसैलाई खिल्ली उडाउँदैमा क्रान्तिकारी र परिवर्तनशील भइने हो ? हामीलाई लाग्छ सत्ताबाहिर रहेका हामी सर्वसाधारणले जत्तिको पनि काम नगरेर लिइने सुविधा अनि अवैध कारोबारको चक्र चलाएर देशलाई आर्थिक र नैतिक रूपले सिध्याउने बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने व्यवसाय अब बन्द गर्नुपर्ने बेला आएको छैन र ? आफूतिर फर्किएर हेर्ने बानी नहुनाले सधैँ हामी अरूकै आङको छारो खोतलिरहेका छौँ । जो यो देशका पूर्वप्रमहरू हुनुहुन्छ उहाँहरूले पनि यसरी नै विदेश भ्रमण गर्नुभएको हो र यसरी नै भैँसी, राँगा वा सो सदृश कुरा नै लिएर आउनुभएको हो वा हुनसक्छ रित्तो हात फर्किनुभएको हो ।

उहाँहरूलाई भलिभाँती थाहा छ छिमेकी राष्ट्रको भ्रमण कत्तिको सार्थक हुने गरेको छ । आफ्नो हैसियत कहाँनेर पाउनुभएको छ । त्यति भएर पनि जसरी देश नै बुझपचाइरहेको छ त्यो साँच्चै दयनीय कुरा हो । देशले आवश्यक बाटो पहिल्याउन नसकेको र अपेक्षित गति लिन नसकेको तीतो यथार्थ आफ्नो ठाउँमा छुट्टै छ । तर, ती सबै समस्याको समाधान पनि प्रमको भारत भ्रमण नै हो त ? प्रमले भारतमा गएर ती सबै कुराको सामाधान लिएरै आउनुपर्ने थियो त ? भन्ने प्रश्न अर्को हो ।

कुनै पनि पार्टीको कार्यकर्ता नभएर देशको शुद्ध नागरिक भएर हेर्दा र नागरिक आचार अनि मर्यादाको कुरा गर्दा राष्ट्रघातको काम गरेको अवस्थाबाहेक अन्य अवस्थामा कसैलाई पनि यसरी अपमान गर्ने वा खिल्ली उडाउने काम हाम्रो आफ्नै अल्पज्ञान हो ।

प्रचण्डलाई हामीले नै प्रधानमन्त्री बनाएका हौँ । हाम्रो देशको कानुनले उहाँलाई प्रम बन्ने अधिकार दिएको हो अनि हामी जस्तै नागरिकका अभिमतले उहाँलाई प्रम बनाएको हो । आज देशमा जे भइरहेको छ र जे हुँदैछ त्यसको पनि नैतिक जिम्मेवारी हामी सबैसँग छ । यस अर्थमा प्रम एकातिर स्वतन्त्र हुनुहुन्छ भने अर्कोतिर हाम्राप्रति जवाफदेही हुनै पर्छ । प्रमले जे गरे पनि हामीले समर्थन गर्नुपर्छ भनेको होइन तर अनावश्यक अनुत्पादक विषयको बहस चलाएर समय बर्बाद गर्दा हुने नोक्सानी पनि हाम्रै भएकाले प्रममात्रै होइन कुनै सांसद वा मन्त्रीलाई पनि त्यो अधिकार छैन ।

त्यत्रो ठूलो औपचारिक भ्रमणमा गएर राँगा बोकेर आउनु जति कमजोर सन्देश हो त्यति नै ठूलो त्रुटि हामीले प्रमको आलोचना गर्नु पनि हो । यही समय मिलेको थियो भारतलाई राँगा उपहार दिने ? के यति सामान्य काम अरू कोहीमार्फत गर्न सकिँदैनथ्यो ? कुन साइत जुराएर यो काम गरियो र किन गरियो भन्ने कुरा त्यत्तिकै गहिरो कुरा हो । यद्यपि दुई देशीय सम्बन्धका अनेक आयामहरूमध्ये कृषि, पशुपालन व्यवसायसँग जोडिएको राँगो उपहारले पनि आफ्नो ठाउँमा महत्त्व राख्ला तर यही समयमा प्रमलाई राँगो बोकाएर भारतले के सन्देश दिन चाहेको हो त्यसको पनि विमर्श हुँदै जान आवश्यक छ । देशको प्रशासनिक वागडोर लिएका प्रम त्यसप्रति कति हदसम्म गम्भीर हुन सक्नुभएको छ त्यो समयले बताउला ।

देशका प्रतिको आफ्नो दायित्व र त्यसैसँग जोडिएर आउने यस्ता विदेश भ्रमणका उपलब्धिका विषयमा उहाँले गम्भीर भएर सोच्नैपर्छ तर हरेक गतिविधिमा प्रमलाई होच्याएपछि मात्रै आफू अग्लो भइन्छ कि भनेर गरिने यस्ता आलोचनाहरूले कहीँ कसैलाई लाभ भएको जस्तो लाग्दैन । प्रम भनेको अहिलेको परिस्थितिमा हामी सबैको प्रतिनिधि व्यक्ति हो । उहाँले गर्ने काम र उहाँले सोच्ने कुरा पनि हाम्रा साझा कुरा हुन् । यस अर्थमा प्रमले पनि आफूलाई थान्कोमा राख्नैपर्छ ।

कुनै पनि पार्टीको कार्यकर्ता नभएर देशको शुद्ध नागरिक भएर हेर्दा र नागरिक आचार अनि मर्यादाको कुरा गर्दा राष्ट्रघातको काम गरेको अवस्थाबाहेक अन्य अवस्थामा कसैलाई पनि यसरी अपमान गर्ने वा खिल्ली उडाउने काम हाम्रो आफ्नै अल्पज्ञान हो । त्यति मात्र पनि होइन आफ्नै मुलुकको प्रधानमन्त्रीको अपमान गरेर हामीले कसको सम्मान गर्ने ? वा हामीलाई सम्मान गर्नै आउँदैन वा हामी दुराग्रही छौँँ वा हामी अशिष्ट हौँ । यी तमाम प्रश्नहरूले खोजेको एउटै कुरा हो अरूलाई सम्मान गर्नेले मात्र आफूले पनि सम्मान पाउँछ । अशिष्टता हाम्रो संस्कार हुँदै होइन । एजेण्डाहरूमा विमति हुन सक्छ । तिनलाई तार्किक रूपले समाधान गरौँ तर उत्ताउलो चरित्र देखाएर जग हँसाउने काम नगरौँ । जय देश, जय जनता ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?