नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की
ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले बिपन्न ज्येष्ठ तथा अपाङ्ग नगरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
नगरभित्रका ३ वटा वडाका ज्येष्ठ तथा अपाङ्ग नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । गत वर्ष पनि ३ वटा वडाका ज्येष्ठ नागरिकलाई वितरण गरिएको र यो वर्ष पनि ३ वटा वडाका नागरिकलाई न्यानो कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यो वर्ष नगरभित्रका वडाहरु बिगुटार, जन्तरखानीमा वितरण गरिसकिएको र बर्णालुमा वितरण गरिने बताएका छन् । चिसो समय आएसँगै न्यानो कपडा वितरण गर्दा ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न सहयोग पुग्ने नगरप्रमुख तेजेन्द्र खनालले बताउनु भयो । कतिय ज्येष्ठ नागरिकहरु अभावमै बाच्न बाध्य अवस्थालाई मध्यनजर गरेर जाडो महिनामा न्यानो कपडाको कार्यक्रम ल्याएको बताउनु भयो । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख खनालले स्थानिय सरकार भनेको बोलाउँदा सुन्ने, छुँदा थाहा पाउने सरकार भएकाले नागरिकका हरेक समस्यालाई समाधान गर्न तत्पर रहेको बताउनु भयो । चिसोका कारण अधिकांस ज्येष्ठ नागरिकलाई रुघाखोकी, निमोनिँया जस्ता रोगहरु लाग्ने भएकाले चिसो बाट बचाँउनको लागी थोरै भए पनि सहयोग गरेको बताउनु भयो ।

त्यसै गरी ‘बिगुटार’ चिसोको समयमा निक्कै चिसो हुने र अधिकाँस ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको थियो । यो न्यानो कपडाले केहि हद सम्म सहयोग पुगेको वडाध्यक्ष भल बहादुर कटवालले बताउनु भयो । ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने नगरको कार्यक्रम भए पनि अपाङ्गलाई समेत जोडेर वितरण गरिएको अध्यक्ष कटावालले जानकारी दिनुभयो । बिगुटारका ५७ जना ज्येष्ठ नागरिक तथा अपाङ्ग नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । चिसोको सयमा न्यानो कपडा पाएपछि स्थानिय ज्येष्ठ नागरिकहरु खुशी भएका छन् । चिसोको समयमा तातो लुगा (ब्लाङकेट) पाएकाले वडा र नगरलाई धन्यवाद समेत ब्यक्त गरेका छन् । न्यानो लुगा पाएपछि खुशी ब्यक्त गर्दै ८४ वर्षिय चन्द्र बहादुर भुजेलले नगरप्रमुखलाई धन्याबाद दिनु भयो । उहाँका परिवारमा दुईजना बृद्ध दम्पति मात्रै हुनुहुन्छ । उहाँले आफूलाई चाँहि भयो तर बुढीलाई पुगेन भन्ने गुनासो समेत गर्नु भयो । नगरको योजना अनुसार प्रत्येक ज्येष्ठ नागरिकलाई नभई ज्येष्ठ नागरिक भएका प्रत्येक एकघर परिवारलाई वितरण गर्ने हो ।

नगरभित्रका वडाहरु मध्ये ज्यादै चिसो हुने वडाहरु बिगुटार, जन्तरखानी र बर्णालुको माथिल्लो भाग रहेका छन् । यहाँ प्रत्येक विहान तुसारो झर्ने गर्छ भने हिउँ समेत खस्ने गर्छ । विशेष गरी नगरभित्रका धेरै चिसो हुने वडाका नागरिकलाई प्राथमिक्तामा राखि न्यानो कपडा वितरण गरिएको पनि जनाएका छन् । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर गरिने नगरप्रमुखको भनाई छ । ज्येष्ठ नागरिक दिवासेवा एण्ड मिलन केन्द्रलाई कुर्सी, चकटी, कार्पेट र म्याटिस समेत वितरण गरिएको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?