समाजवादी मोर्चा कि समाजवादी यात्रा

Read Time = 14 mins

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र बिप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । डा.बाबुराम भट्टराई र वामदेव गौतम मोर्चामा सहभागी हुने चर्चा चले पनि उनीहरू मोर्चामा सहभागी भएनन् । चार दलीय मोर्चाले समाजवादी यात्रा तय गर्लान त ? एमालेसहितका धेरै जसो कम्युनिष्ट पार्टीहरू मोर्चामा सामेल छैनन् । यो मोर्चाको के अर्थ ? नेपालमा भएका सबै कम्युनिष्ट पार्टीहरू मिलेर मोर्चा गठन गरेको भए अब केही हुन्छ है भन्ने सोच्न सकिन्थ्यो । एमालेसहितका धेरैजसो कम्युनिष्ट पार्टीहरू मोर्चादेखि बाहिर रहँदा त्यति आसलाग्दो मोर्चा बनेको छैन ।

नेपालका कम्युनिष्टहरू कुरा बढी गर्छन् काम र उपलब्धि शून्य । चर्का भाषण गर्न बहुत सिपालु छन् । भोलि काम गर्न सकियोस् या नसकियोस् कुरा भने गरिहाल्छन् । कम्युनिष्टको नेतृत्वमा नेपालमा पटक–पटक सरकार बनेको छ । अहिले पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा गैरकम्युनिष्ट दल सामेल भएर सरकार चलेको छ । यसै बेलामा समाजवादी मोर्चा बनाएर प्रधानमन्त्री पुष्पकमल दाहालले के गर्न खोजेका हुन् भनेर प्रश्न पनि उठने गरेको छ । कम्युनिष्टका नेताहरू सेवासुविधामा रमाइसकेका छन् । यसलाई चटक्क छोडेर समाजवादको यात्रामा उनीहरू जालान् भनेर विश्वास गर्ने कुनै ठाउँ नै छैन ।

नेपालमा लगभग दुई दर्जन वाम पार्टी छन् तर तिनको अवस्था दिनदिनै दयनीय बन्दैछ । बाबुराम भट्टराई, मोहन वैद्य, विप्लप, सिपी मैनाली, मोहन विक्रमजस्ता नेताको आजभोलि खासै चर्चा छैन । कम्युनिष्टको नाममा विभिन्न खालका पसल खोलिएका छन् तर खासै चलेको देखिँदैन ।

बेलुकापख तारे होटल, रेष्टुरेन्ट आदि इत्यादि जस्तामा खान पल्किएकाले के समाजवाद ल्याउलान भनेर पत्याइहाल्न सकिँदैन । किनभने नेताहरूको बानी बिग्रिसकेको छ । बेलुका भयो कि मुख सकसक गर्छ । यस्तो भएपछि समाजवादका कुरा गर्नु बेकार जस्तो लाग्छ । अधिकांश नेताहरूलाई आफ्नो घरको भात मीठो हुन छाडिसक्यो । नेताहरू सुधार्ने हो भने यो सम्भव पनि छ । सम्भव नभएको होइन । अर्को कुरा नेताहरूले लोभ त्याग्नुपर्छ । निजी सम्पत्ति जोड्ने कुरामा तछाडमछाड गर्नु हुँदैन । देश र जनताको भलाइका लागि मात्र सोच्ने नेता तयार गर्नुपर्छ । अब बुढा नेताबाट यो सम्भव छैन । नयाँ दल र नयाँ नेताहरू यस बाटामा इमानदारीका साथ अघि बढ्ने हो भने सम्भव छ ।
देशको ढुकुटी लुटेर निजी सम्पत्ति जोड्न पल्केकाबाट यो सम्भव छँदै छैन । कुरो तीतो भए पनि यो कुरा सत्य हो । सत्य कुरा सुरुमा तीतो हुन्छ । समाजवाद भनेको के हो ? यो कुरा बुझ्न जरुरी छ । कुरामात्र गरेर हुन्छ कि व्यवहारमा पनि देखाउनुपर्छ । समाजवाद एउटा यस्तो आर्थिक व्यवस्था हो जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहीत हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनीतिक व्यवस्था अंगीकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्छन् ।

सामाजिक स्वामित्वका पनि विभिन्न प्रकार हुन्छन् जस्तै : साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा सञ्चालित स्वतन्त्र संस्थान आदि जनाउँछ । तर, समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा फरक–फरक हुनसक्छ । आज देश कतातिर जाँदै छ । कता लान खोजिएको छ । नीति, सिद्धान्त, विचार नमिल्ने पार्टीहरूलाई मिलाएर सरकार बनाइएको छ । सत्ता छोड्न ज्यान गएजस्तो हुन्छ । सत्ता स्वार्थका लागि जे पनि गर्न तयार हुने । यसरी त जनताले कसरी विश्वास गर्ने ? झुक्याउने, छक्याउने पनि त सीमा हुन्छ नि ।

अब जनता भ्रममा पर्दैनन् । यो कुरा नेताहरूले बुझे हुन्छ । हल्काफुल्का राजनीतिक गफले मुलुक बनाउन सकिँदैन । मुलुक बनाउन नेतृत्वमा इमानदारी चाहिन्छ । खोइ इमानदारी ? बालेन, हर्क किन वावा छन् ? उनीहरूले जे बोलेका थिए आज त्यही गरेर देखाए । समृद्धि, लोकतन्त्र र समाजवादका कुरा धेरै भए । व्यवहारमा लैजाने कुरामा कम्युनिष्टहरू चुक्दै आएका छन् । समाजवाद के हो भन्ने कुरामा भने यत्तिको स्पष्टता र मतैक्यता छैन । कम्युनिष्ट र प्रजातान्त्रिक समाजवादीबीच आ-आफ्नै खाले समाजवाद नै ‘वास्तविक समाजवाद’ हो भन्ने कुरा उहिल्यैदेखि विवाद हुने गरेका विषय हुन् । समाजवादी भनिएका कतिपय देश बजारभक्त नवपुँजीवादमा परिणत भएका छन् भने केही भने पूर्णतया अपारदर्शी एकदलीय तानाशाहीमा समेत परिणत भएका छन् ।

नेपालको संविधानले नै समाजवादउन्मुख भनेको यो लोकतान्त्रिक संघीय गणतन्त्रमा शिक्षा र स्वास्थ्य कस्तो हुनुपर्छ ? बजारको शक्तिलाई कसरी कुन ठाउँमा राख्ने ? वर्तमान संविधानले नै ‘समाजवादउन्मुख’ भनेकाले यति महत्वपूर्ण चिन्तन गर्ने अवसर हामी नेपालीलाई मिलेको छ । समाजवाद बारेको छलफल अझै गहिराइमा पुग्न सकेको छैन । समाजवादी मोर्चा बनाएर हुँदैन, चरित्र निर्माणको मार्गचित्र बनाउन सक्नुपर्छ । समाजवादका कुरा गरिन्छ तर कार्ययोजनामा ठोस प्रष्टता र निश्चित योजनासमेत छैन ।

यसरी समाजवादी यात्रामा जान सकिँदैन । समाजवादी मोर्चा निर्माणपछि खासै तरंग आउन सकेन । कारण जनताले यो विषय पत्याउन र विश्वास गर्न सकेनन् । यो सत्ता टिकाउने दाउ हो भन्ने कुरा जनताले राम्रोसँग बुझेर बसेका छन् । यस्ता मोर्चा गठनबाट कोही तर्सिएका छैनन् । खासै चर्चासमेत पाउन सकेन यो मोर्चाले । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चा गठनका लागि ठूलो पहल गरेको देखिन्छ । संसद्मा बलियो शक्तिको रूपमा रहन मोर्चा निर्माण गरेको हुनुपर्छ । सबै वामशक्तिलाई एकताको सूत्रमा बाँध्न नसक्ने यो मोर्चाको कुनै अर्थ छैन ।

अहिले नेपालका कम्युनिष्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आदर्शसँग मिल्ने प्रकारको छैन । कम्युनिष्टहरूले पटक-पटक सरकारको नेतृत्व गरे तर देश र जनताको भाग्य र भविष्य चम्काउने कुनै काम गरेर देखाउन सकेनन् ।

नेपालमा लगभग दुई दर्जन वाम पार्टी छन् । वामशक्तिहरूको अवस्था दिनदिनै दयनीय बन्दैछ । बाबुराम भट्टराई, मोहन वैद्य, विप्लप, सिपी मैनाली, मोहन विक्रमजस्ता नेताको आजभोलि खासै चर्चा छैन । उनीहरू चोइटिएर तितरबितर छन्, कम्युनिष्टको नाममा विभिन्न खालका पसल खोलिएका छन् तर खासै चलेको देखिँदैन । माओवादी पनि निरन्तर ओरालो यात्रामा छ । अर्को निर्वाचनमा माओवादीको अवस्था निकै दयनीय हुने अवस्था देखिन्छ । त्यसो भएर पनि होला दाहालले मोर्चा गठनको पहल गरेको । लामो समयदेखि कम्युनिष्टहरू चोइटिएर बसेका छन् र कहिले जोडिएर बस्ने गर्दछन् ।

यिनीहरूको विश्वास गर्ने कुनै भरपर्दो आधार अझै देखिएको छैन । नाम चाहिँ एकीकृत राख्छन् तर फुटिरहन्छन् । यस्तो लाजमर्दो छ । नेपाली राजनीतिमा कम्युनिष्ट ओरालो लाग्दै छन् । सबै कम्युनिष्ट मिले भने देशको ठूलो शक्ति बन्न सक्छ । अर्को निर्वाचनमा कम्युनिष्टको हालत कस्तो हुन्छ त्यो त हेर्न बाँकी छ । आफूलाई ठूलो भन्ने कम्युनिष्ट पार्टीले पनि लोकप्रियता निरन्तर गुमाउँदै छ । पहिलेभन्दा झण्डै १२ लाख बढी मतदान भएको अघिल्लो निर्वाचनमा उसले पाएको लोकप्रिय मत पहिलेभन्दा सात लाख कम छ । समाजवादी मोर्चा बनाएर हुने केही होइन ।

नागरिक अल्मल्याउने खेल केही हदसम्म हुन सक्छ । अरू केही हुँदैन । नेताहरूको सोच, चरित्र र आचरणमा स्खलन भइसकेको छ । समाजवादी भनिने अधिकांश नेताको जीवन तथा आचरण समाजवादी चरित्र अनुरूप छैन । हिजो आफूलाई सर्वहाराका नेता भन्ने नेताहरूको आज शहरका विभिन्न ठाउँमा जग्गा, जमिन, घर बनिसकेका छन । जनतालाई भ्रम छरेर हिँड्नेहरू आज मुख छोपेर हिँडने भएका छन् । नेताहरूको विलासी जीवन भनी साध्य छैन । कम्युनिष्टका नेताहरू महँगा गाडी र हेलिकप्टरमा सवार हुन्छन् । अधिकांश कम्युनिष्ट नेता व्यापारीभन्दा धनी छन् । उनीहरूको जीवनशैली नै भड्किलो छ । अधिकांश नेताहरू घमण्डी छन् । जनतासँग भेट गर्न खोज्दैनन् ।

यसरी जनताको भलो हुँदैन । उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लीन छन् । कम्युनिष्टका नेताहरू परिवारवादभित्रको घेरामा छन् । उनीहरू त्यो घेरा टोड्न अझै सकिरहेका छैनन् । हिजो राजामहाराजाहरूले राज्यको दोहन त्यति गरेनन् होला आज नेताहरूले जति गरेका छन् । उनीहरू आफ्नो र परिवार बनाउन कम्मर कसेर लागेका छन् । देश बनाउन होइन, आपूm बन्नमात्र उनीहरूको ध्यान केन्द्रित छ । संसारभरबाट कम्युनिष्टहरू पतन हुँदै जानुको कारण यो हुन सक्छ । अहिले नेपालका कम्युनिष्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आदर्शसँग मिल्ने प्रकारको छैन । कम्युनिष्टहरूले पटक–पटक सरकारको नेतृत्व गरे तर देश र जनताको भाग्य र भविष्य चम्काउने कुनै काम गरेर देखाउन सकेनन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
badriprasaddahal
badriprasaddahal
2023-06-23 8:26 am

देशकाे समसामयिक प्रवृतिमा शल्यक्रिया ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?