०७९ सालमा नेपाली चलचित्र क्षेत्र

Read Time = 23 mins

काठमाडौं । विगतका दुई-तीन वर्ष नेपाली चलचित्र क्षेत्र कोरोना संक्रमणको चपेटामा परेको चलचित्र क्षेत्रले ०७९ साल भने केही राहातको श्वास फेर्‍यो । ०७९ हामीबाट बिदा भएको छ । आज शुक्रबारदेखि हामी ०८० मा प्रवेश गरको छौं । अर्को एक नयाँ वर्षमा प्रवेश गरेका छौं । संसारभरका देशमा आ-आफ्नै प्रकारका नयाँ वर्ष हुने गरेका छन् । हामीले वैशाख १ गते राष्ट्रियरूपमा नयाँ वर्ष मनाउँदै आएका छौं भने साउन १ गतेबाट नयाँ आर्थिक वर्ष । यसका अलवा हाम्रो देशमा एकै वर्षमा दर्जन नयाँ वर्ष मनाउने गरिन्छ । धार्मिक, सरकारी र संस्कृतिको दृष्टिले फरक–फरक किसिमका नयाँ वर्ष हामी मनाउँछौं । विक्रम सम्वत्, ईस्वी सम्वत्, नेपाल सम्वत्, शक, तमु ल्होसार, ग्याल्वो ल्होछार, सोनाम ल्होछार, हजिरी, कृष्ण सम्वत्देखि सृष्टि सम्वत्सम्म नयाँ वर्ष हाम्रो अस्तित्वमा रहेका छन् । त्यस्तै थारू समुदाय र मगर समुदायले माघ-१ लाई पनि नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय सम्वत् मानिएको विक्रम सम्वत् अन्तर्राष्ट्रिय ईश्वी सम्वत् तथा विभिन्न जात, धर्म, समुदाय, समुह र सम्प्रदायका सम्वत्ले नेपाललाई एकै वर्षमा थुप्रै नयाँ वर्ष दिएको छ ।

यतिबेला ०७९ लाई फर्केर विभिन्न कोणबाट समीक्षा भइरहेको छ । नेपाली चलचित्र क्षेत्रमा पनि ०७९ मा विभिन्न चर्चा र परिचर्चा भए । कोरोना महामारीले थला परेको यो क्षेत्र यस वर्ष केही हदसम्म जुर्मुरायो । विसं ०७९ मा चार दर्जन जति चलचित्र सिनेमाघरमा प्रदर्शनमा आए । जसमध्ये दुई चलचित्र ब्लकबष्टर, दुई चलचित्र सुपरहिट र पाँच चलचित्र हिट भए । अन्य वर्षको तुलनामा यो सुखद् हो । तर, लगानी सुरक्षित गर्ने चलचित्रको पोष्टर छपाइको पैशासमेत नउठाउनेको संख्या यो वर्ष पनि सर्वाधिक नै रहृयो ।

विभिन्न चर्चा र परिचर्चामा रहेको ०७९ को अन्तिममा आएर फेरि चर्चामा रहृयो । चैत महिनामा प्रदर्शनमा आउन लागेका दुई चलचित्र प्रसाद-२ र नाई नभन्नु ल-६ अन्तिममा आएर प्रदर्शन रोकिए । विकास बोर्डले मंगलबार वर्ष २०७९ मा प्रदर्शनमा आएका चलचित्रको कमाइ सार्वजनिक गर्‍यो । यसले यो वृतमा चर्चा ल्यायो । सो विषयलाई लिएर अभिनेता एवं निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले आफूहरूको चलचित्र ‘छक्का पञ्जा ४’को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै बोर्ड अध्यक्ष केसीप्रति सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्नुभएको थियो । ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा’ दीपकराजले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

यस विषयमा बोर्ड अध्यक्ष केसीले पनि सामाजिक सञ्जालमार्फत नै गिरीलाई जवाफ दिनुभएको छ । ‘कुन निर्माताको मुखमा कुन फिल्मले कति कमायो, कुन वितरक र हलवालाको मुखमा कति कमायो त्यसको सरकारलाई जानकारी र अर्थ हुँदैन’, अध्यक्ष केसीले लेख्नुभएको छ, ‘नेपाल साकारले बक्स अफिस लागू गरेको छ । देशभरका हल बक्स अफिसमा जोडिएको छ । त्यहाँबाट बक्स अफिसमा देखिएको तथ्यांक नै आधिकारिक हो । कुनै हल बक्स अफिसमा जोडिएको छैन र बाहिरबाट तथ्यांक दिइरहेको छ भने त्यो कानुनविपरीत छ ।’ अध्यक्ष केसीले बक्स अफिस लागू नगर्ने हल कानुनको दायरामा आउने चेतावनी पनि दिनुभएको छ । उहाँले भन्नुभएको, ‘आशा छ, सबै हल बक्स अफिसमा जोडिएको छ ।’

विकास बोर्डले मंगलबार वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको कमाइ सार्वजनिक गरेको थियो । जसमा ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको उल्लेख छ । विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै मंगलबार २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो ।

चलचित्रको कमाइ
चलचित्र बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि १३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार ७ सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार ४६२ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले ६ लाख ७७ हजार ६९९ टिकट बिक्री भएबापत १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ ग्रस कमाएको छ । नेपाली र विदेशीतर्फ सर्वाधिक कमाइ गर्ने यी दुई चलचित्र हुन् । तथ्यांक अनुसार यस वर्ष प्रदर्शन भएका चलचित्र शिवानीको पाँचवटा टिकटमात्रै बिक्री भएका छन् । जसबाट चलचित्रले ५२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ले बोर्डको विवरण अनुसार छ लाख आठ हजार भार सय दुई टिकट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६३४ रुपैयाँ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । यस्तै, चलचित्र ‘प्रेम गीत–३’ नेपाली भाषामा दुई लाख ६९ हजार ७४४ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ र हिन्दी भाषामा ८३ हजार १४४ टिकट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार ३६७ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

सर्वाधिक कमाइ गर्ने चौथो चलचित्र ‘महापुरुष’ बनेको छ । चलचित्रले दुई लाख ४७ हजार ५१७ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार ६७० रुपैयाँको ग्रस व्यापार गरेको छ । त्यस्तै, चलचित्र ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको पाँचौं नम्बरमा छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रको एक लाख ४१ हजार ६३९ टिकट बिक्री भएबापत तीन करोड ८४ लाख ७३ हजार ५२० रुपैयाँको ग्रस कलेक्सन भएको छ ।

०७९ सालमा नेपाली दर्शकमाझ आएका केही चलचित्रले राम्रै सफलता हात पारे भने केहीले औसत र केही चलचित्र त कहिले आए कहीले गएसम्मको पत्तो भएन । ०७९ मा प्रदर्शनमा आएका चलचित्रमध्ये केही चलचित्रको व्यापार सामान्य रहृयो, केही हिट भए, केही सुपरहिट हुन सफल रहे भने केहीले हलमा पानी पनि मागेनन् । चार दर्जनको हाराहारीमा चलचित्र पदर्शनमा आए पनि राम्रो व्यापार गर्ने चलचित्रको संख्या भने औलामा गन्न सकिनेमात्र रहृयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय व्यापार गरेको वर्षका रूपमा यो वर्ष रहन गयो जुन आफैंमा यो क्षेत्रका लागि सुखद् सुरुवात हो ।

यस्तै, रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा छैटौं स्थानमा छ चलचित्रले एक लाख २६ हजार १९० टिकट बिक्री भएबापत तीन करोड ५२ लाख ८९ हजार ४५९ रुपैयाँको ग्रस व्यापार भएको छ । त्यस्तै ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिंगेदाउ’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीको सातौं स्थानमा छ । बोर्डको विवरण अनुसार चलचित्र एक लाख २२ हजार २९० टिकट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार २२३ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

बोर्डले सार्वजनिक गरेको विवरणको १० चलचित्रको सूचीमा ६ वटा नेपाली र चारवटा विदेशी छन् । केजीएफ, पठान, अवतार २ र ब्रहृमास्त्रको कुल कमाइ ४५ करोड नेपाली रुपैयाँ छ । नेपाली चलचित्रहरू कबड्डी ४, छक्कापञ्जा ४, प्रेमगीत ३, महापुरुष, दुई नम्बरी र फूलबारीको कमाइ जोड्दा ६० करोड रुपैयाँभन्दा बढी हुन आउँछ । चलचित्र विकास बोर्डले पहिलोपटक यस वर्षको चलचित्रको कमाइ औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

२०७९ सालको सुरुवातमा झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ सिनेमाघरमा आएको थियो भने वर्षको अन्तिम शुक्रबार अर्थात् चैत २४ मा चलचित्र ‘बहाब’ सिनेमाघरमा आएको थियो ।

ब्रेकअपको चर्चा
विसं २०७९मा विवाह र ब्रेकअपले पनि चर्चा पायो । अभिनेत्री वर्षा शिवाकोटीको यसै वर्ष विवाह र सम्बन्ध विच्छेद गर्नुभयो । गतवर्ष वैशाख ९ गते आशिष गेलालसँग विवाह गर्नुभएकी वर्षाले वर्षको अन्त्यतिर डिभोर्स गर्नुभयो । आशिषले वर्षासँगको पारपाचुके गरेसँगै झापाकी अर्की युवतीसँग लगनगाँठो कस्नुभयो । वर्षाको सम्बन्ध विच्छेदको खबर चर्चामा रहृयो । यस्तै, वर्षको अन्त्यमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअपले राम्रै चर्चा पायो । लामो समयदेखिको प्रेम अन्त्य गर्नुभएका सौगात-सृष्टिले इन्स्टाग्राम अकाउन्टबाट एक अर्कालाई अनफलो गर्नुभयो । एक-अर्काका तस्वीर सामाजिक सञ्जालबाट हटाउनुभयो । ब्रेकअपको विषयमा सृष्टिले केही बाल्नुभएको छैन भने सौगातले सहमतिमै अलग भएको बताउनुभयो । काममा फोकस हुनका लागि प्रेम जीवनबाट अलग भएको उहाँको तर्क थियो । सात वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्ने मोडमा रहेका बेला ब्रेकअप हुनुले चर्चा पायो ।

फागुन दोस्रो साता निर्माता, वितरक तथा प्रदर्शक छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच कानुनी रूपमा सम्बन्ध विच्छेद भयो । यस्तै, अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा फागुन २१ गते सुनुवाइ गर्दै अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दियो । पूर्वमिस नेपाल शृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको सम्बन्ध पनि टुंगिएको चर्चा भयो २०७९मा ।

विवाह
२०७९ मा चलचित्र नगरीका केही व्यक्तिहरू विवाह बन्धनमा बाधिए । वैशाख महिनामा निर्मात्री एवं अभिनेत्री केकी अधिकारी व्यवसायी प्रेमी रोहित तिवारीका साथ विवाह बन्धनमा बाधिनुभयो । त्यसैगरी जेठ महिनमा लोकप्रिय गायिका इन्दिरा जोशीले फेसन डिजाइनर प्रेमी शरद केडियाका साथ विवाह गर्नुभयो । अभिनेता सलोन बस्नेत र मोडल तथा एयर होस्टेज प्रेमीका करिश्मा केसी मंसिरमा विवाह बन्धनमा बाँधिनुभयो । त्यस्तै, अभिनेता संयम पुरी र अभिनेत्री एवं भिजे आस्मा डिसी पनि मंसिर महिनामै विवाह बन्धनमा बाँधिनुभयो । यस्तै, अभिनेता मानव सुवेदी र अभिनेत्री सुरक्षा पन्तले फागुन २५ गते विवाह गर्नुभयो ।

राम्रा चलचित्रलाई दर्शकको साथ
०७९ सालमा नेपाली दर्शक माझ आएका केही चलचित्रले राम्रै सफलता हात पारे भने केहीले औसत र केही चलचित्र त कहिले आए कहीले गएसम्मको पतो भएन । ०७९मा प्रदर्शनमा आएका चलचित्रमध्ये केही चलचित्रको व्यापार सामान्य रहृयो, केही हिट भए, केही सुपरहिट हुन सफल रहे भने केहीले हलमा पानी पनि मागेनन् । चार दर्जनको हाराहारीमा चलचित्र पदर्शनमा आए पनि राम्रो व्यापार गर्ने चलचित्रको संख्या भने औलामा गन्न सकिने मात्र रहृयो ।

राम्रा सिनेमा बनेको खण्डमा त्यसको व्यापार राम्रै हुन्छ भन्ने देखियो । केही राम्रा चलचित्रले नेपाली चलचित्रको साख जोगाए र राम्रै कमाइ पनि गरे । केही चलचित्र प्रदर्शन अगावै राम्रै चर्चा कमाएका भए पनि सामान्य लगानी पनि उठाउन सकेनन् । केही चलचित्रका प्रस्तुति राम्रा भए पनि दर्शक सिनेमाघरसम्म चलचित्र हेर्न आएनन् । एकै मितीमा धेरै चलचित्र जुधाउने रोगले ०७९मा पनि चलचित्र नगरिलाई छोडेन । एकै मितिमा चलचित्र जुधेका कारण सोचे अनुसार उनीहरूले प्रतिफल पाउन सकेनन् ।

नेपाली चलचित्र नचल्नुमा उत्कृष्ट कथावस्तु, योग्य प्राविधि र प्राविधिक नहुँदा चलचित्र धराशायी बनिरहेको भनिए पनि केही राम्रा भनिएकाले लगानी उठाउन नसकेका उदाहरण छन् ।

अन्तर्राष्ट्रिय चर्चा
वर्ष २०७९ मा नेपाली चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषमा समेत प्रदर्शन भई निकै चर्चा पायो । यस चलचित्रले अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान पाउन सफल भयो । संसारका ठूला मल्टिप्लेक्स र चेनमा प्रदर्शन हुने एकमात्र चलचित्र ‘प्रेमगीत ३’ नै बन्यो ।

यता, भारतीय चलचित्र ‘एनिमल’का लागि दौडधुप गरिरहनुभएका अभिनेता विपिन कार्कीले उक्त चलचित्रबाट हात झिक्न प¥यो । अभिनेत्री सुरक्षा पन्त फ्रान्समा सम्पन्न ७५औं सस्करणको कान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट पहिलोपटक सहभागी हुनुभयो । इटालियन लेखक पाओली कगनेको उपन्यासमा फेलिक्स भान ग्रोनिन्जेन र चार्लीटे भान्डरमसर्सको निर्देशनमा फ्रेन्च र अंग्रेजी भाषामा निर्मित चलचित्र ‘द एट माउण्टेन’मा अभिनय गर्नुभएकी सुरक्षाले नेपालमा छायांकन गरिएको केही अंशमा अभिनय गर्नुभएको थियो । चलचित्र कान्समा छानिएकाले सुरक्षा त्यसमा सहभागी हुने अवसर पाउनुभएको हो ।

कान्समै नेपाली चलचित्रले पहिलोपटक अवार्ड जित्यो । अविनाश विक्रम शाह निर्देशित चलचित्र लोरीले सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड चुम्न सफल भयो । त्यस्तै, प्रतिष्ठित एमी अवार्डअन्तर्गत ४९औं संस्करणको डे टाइम क्रियटिभ आर्टस एमी अवार्डस्मा नेपाललाई पहिलोपटक सफलता हासिल भयो । नेपालका अभिनेता तथा डकुमेन्ट्री निर्माता जसवन्तदेव श्रेष्ठको लेखन, निर्देशन र निर्माणमा सरस्वती पूजाको विषयमा निर्मित सांस्कृतिक वृत्तचित्र फेस्टिबल अफ सरस्वती पूजा सो अवार्ड समारोहमा आउट स्ट्यान्डिङ अचिभमेन्ट इन द रिलिजिन विधाको अवार्ड प्राप्त गर्न सफल भयो ।

नेपालमा बलिउड
विसं २०७९मा केही बलिउडका हस्तीहरू नेपाल आए । बलिउड चलचित्र उचाइको छयांकन नेपालमा भयो । अभिनेता अनुपम खेर, बोमन इरानी, परणीति चोपडालगायतले नेपालको मनाङ, लुक्ला नाम्चे, सगरमाथा बेसक्याम्प जस्ता स्थानमा झण्डै ४० दिन बिताउनुभयो । यस्तै, ख्यातिप्राप्त रंगकर्मी तथा अभिनेत्री शबाना आजमी एक कार्यक्रमका लागि अतिथि भएर आउनुभयो ।

त्यस्तै, बलिउड अभिनेता विवेक ओवराय पहिलोपटक नेपाल भ्रमण गर्ने क्रममा काठमाडौंदेखि पोखरासम्मको यात्रामा रहनुभयो । बलिउडकी अनारकली मलाईका अरोरा पनि नेपाल २०७९मा नेपाल आउनुभयो ।

निधन
२०७९मा केही उत्कृष्ट कलाकारको निधनले मनोरञ्जनात्मक क्षेत्रमा ठूलो क्षति पुग्न गयो । जयनन्द लामा, राजेन्द्र लम्साल र निर्देशकद्वय प्रदीप सरकार र प्रताब सुब्वालाई नेपाली कला क्षेत्रले गुमायो २०७९मा ।

संघसंस्थाको निर्वाचनको वर्ष
विसं २०७९ कला क्षेत्रका विभिन्न संघसंस्थाको निर्वाचनको पनि बन्यो । कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित हुनुभयो । चैत ४ गते काठमाडौंमा भएको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै निरौला विजयी हुनुभएको थियो । यस्तै, चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित हुनुभयो । काठमाडौंमा सम्पन्न १५औं साधारणसभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्‍यो । यसैगरी, कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का निर्वाचित हुनुभयो । काठमाडौंमा भएको पाँचौं अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भयो । यस्तै, नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्ष पदमा पुनः पुष्कर लामा निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै, नेपाल चलचित्र नृत्य संघको अध्यक्षमा जनकबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभयो । यसैगरी चलचित्र पत्रकार संघ नेपालको काठमाडौंमा सम्पन्न अधिवेशनबाट अध्यक्ष समीर बलामी निर्वाचित हुनुभयो ।

नयाँ वर्ष नयाँ उमंग लिएर आएको छ । यो वर्ष विगतका वर्षमा जस्तो देशले अनेक झमेलाको सामाना गर्न नपरोस् । नयाँ वर्ष नयाँ दिनजस्तै वषैभरि उमंग छाओस् । आमनेपालीलाई शान्ति र विकासको बाटोमा डोर्‍याउन सफलहोस् । नेपाली भाषा, साहित्य कला संस्कृतिको मार्ग अझ फराकिलो होस् । नेपाली चलचित्रले अझ फड्को मारोस् । नयाँ वर्ष नयाँ किरण भन्ने कुराको स्मरण पछिसम्म रहोस् । यही कामना नयाँ वर्ष २०८० मनाइरहँदा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?