टेस्ट वरीयतामा अष्ट्रेलिया ‘नम्बर वन’

मेलबर्न । अस्ट्रेलियाले आइसिसीको टेस्ट वरीयतामा भारतलाई पछि पारेको छ । मे २०२१ पछि खेलेका खेललाई आधार बनाएर गरिएको वरीयतामा शीर्षस्थानमा रहेको अस्ट्रेलियाको खातामा १२४ रेटिङ अंक छ । भारतको ११८ रेटिङ अंक छ । योसँगै वरीयतामा तेस्रो स्थानमा रहेको इंग्ल्याण्डको खातामा १०५ रेटिङ अंक छ । यसबाहेक अन्य टेस्ट टोलीको वरीयतामा कुनै परिवर्तन भएको छैन । भारतले एक दिवसीय र टी-२० आई वरीयतामा आफ्नो शीर्षस्थान कायमै राखेको छ ।

एकदिवसीय वरीयतामा भारत (१२२) को अस्ट्रेलिया (११६) भन्दा ६ रेटिङ अंक बढी छ । वरीयतामा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका अस्ट्रेलियाभन्दा चार रेटिङ अंकमात्र पछाडि छ । पाकिस्तान (१०६) चौथो स्थानमा छ भने न्युजिल्याण्ड (१०१) पाँचौँ स्थानमा छ ।

टी-२० आईमा भारत २६४ अंकसहित शीर्षस्थानमा छ । तर, अस्ट्रेलियामाथिको उसको अग्रता ११ बाट सात अंकमा झरेको छ । पछिल्लो वरीयतामा दक्षिण अफ्रिका छैटौँबाट चौथो स्थानमा उक्लिएको छ । पाकिस्तानी टोली दुई स्थान झरेर सातौँ स्थानमा पुगेको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *