धनगढीमा जग्गाको नयाँ प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर अनिवार्य

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । कैलालीको धनगढीमा अब नयाँ प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ ।

धनगढी उपमहानगरभित्र जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० मा नयाँ प्लटिङमा सडकको चौडाइ कम्तिमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ । धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको मसिंर २४ गते बसेको बैठकबाट कार्यविधि स्वीकृत भएको हो । उपमहानगरपालिकाले मंसिर २५ गते कार्यविधि राजपत्रमा प्रकाशित गरेको छ ।

सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ५ को खण्ड (क) लाई अधार बनाएर धनगढी उपमहानगर क्षेत्रभित्र जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० बनाइएको नगर प्रमुख गोपाल हमालले बताउनुभयो ।
उपमहानगरले तयार गरेको कार्यविधिमा अबदेखि धनगढीमा जग्गा प्लटिङ गर्न इजाजत पाएको जग्गा व्यवसायीले प्लटिङ जग्गामा तोकिएको मापदण्डको बाटो कम्तिमा १० मिटर चौडाइ भएको, सडकको दुबैतर्फ नाला निर्माण, विद्युत पोल, तार जडान, कल्भर्ट निर्माण, ट्रान्सर्फमर जडान र खुल्ला जग्गा अनिवार्य राख्नुपर्ने छ । नगर प्रमुख हमालले नयाँ प्लटिङको हकमा अबदेखि सडकको मापदण्ड कम्तिमा १० मिटर तोकिए पनि पुराना सडकको हकमा नयाँ कार्यविधि लागु नहुने बताउनुभयो ।

जग्गा प्लटिङ गर्दा अनिवार्य खुल्ला ठाउँ राख्नुपर्ने

धनगढी उपमहानगर क्षेत्रभित्र जग्गा प्लटिङ सम्बन्धी कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, जग्गा प्लटिङ गर्दा जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन, वातावरण सन्तुलन तथा हरित नगरलाई सम्बोधन गर्ने गरी न्यूनतम ५ प्रतिशत खुल्ला जग्गा राखी उक्त जग्गामा वृक्षारोपण, सार्वजनिक धारा, शौचालय, सूचना पाटी, पुस्तकालय, खेलमैदान, बालउद्यान तथा सार्वजनिक भवनका लागि जग्गा प्लटिङ गर्ने व्यवसायीले नै जग्गा छुट्याउनु पर्नेछ । विपद् र प्रकोपको समयमा खुल्ला ठाउँ सार्वजनिक प्रयोग र उद्दारका लागि प्रयोग गर्न सकिने भएकाले अबदेखि जग्गा प्लटिङ गर्दा अनिवार्य कुल जग्गाको ५ प्रतिशत जग्गा खुला स्थानका लागि छोड्नुपर्ने नियम राखिएको नगर प्रमुख हमालले बताउनुभयो ।

सार्वजनिक जग्गा प्लटिङमा समावेश गर्न नपाइने

धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा, साविकको कुलो, पैनी, खोल्सी, खहरे आदिलाई कित्तामा समावेश गरी प्लटिङ गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । जग्गा प्लटिङ गर्दा चलिरहेको पैनी, खोल्सी, खहरे खोलाको अधिकार क्षेत्र कायम गरी संरक्षण गर्ने व्यवस्था गरेको छ भने जग्गा प्लटिङ गर्दा सडकमा १५ सेन्टिमिटर ग्राभेल गरेर पानी पिच गरेको हुनुपर्नेछ । व्यावसायिक रुपमा जग्गा प्लटिङ गर्ने व्यक्ति वा संस्थाले अनिवार्य धनगढी उपमहानगरपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

जग्गा प्लटिङ गर्दा घडेरीको न्यूनतम क्षेत्रफल कति ?

जग्गा प्लटिङ गर्दा घडेरीको न्यूनतम मोहडा, लम्बाइ र चौडाइ पनि उपमहानगरले तोकेभन्दा कम हुनु नपर्ने व्यवस्था गरिएको छ । घडेरीको चौडाइ अर्थात् मोहडा न्यूनतम ८ दशमलव ५ मिटर, घडेरीको लम्बाइ न्यूनतम २० मिटर, घडेरीको प्लट रेसियो १ अनुपात २ दशमलव, घडेरीको क्षेत्रफल सहरी क्षेत्रमा कम्तिमा ७ धुर र कृषि क्षेत्रमा २ कट्ठा र अन्य क्षेत्रको घडेरीको क्षेत्रफल न्यूनतम १० धुर हुनुपर्ने व्यवस्था गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?