काठमाडौं । काठमाडौं महानगरपालिकाले २९औँ महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा एक समारोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । महानगरले सैनिक मञ्च टुँडिखेलमा वार्षिकोत्सव मनाएको यो पहिलोपटक हो । हरेक वर्ष मंसिर २९ गते महानगरले महानगर दिवस मनाउँदै आएको छ । कार्यक्रममा महानगरमा भएका दमकल, गाडी, सरसफाइ गर्ने मेसिन तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सांसद, महानगर प्रमुख, उपप्रमुख, प्रधानसेनापति, प्रहरी, खेलाडीलगायत सर्वसाधारणको उपस्थिति थियो । उपत्यका साथै बाहिरका विभिन्न स्थानीय जनप्रतिनिधि, सेलिब्रेटीसमेत कार्यक्रममा सहभागी भएका थिए । धरानका मेयर हर्क साम्पाङ, बलिउड अभिनेत्री मनीषा कोइराला, क्यानका सचिव पारस खड्का, डा. सन्दुक रुइतलगायत पनि कार्यक्रममा पुग्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।
सन्दुक रुइतदेखि मनीषा कोइरालासम्म सम्मानित
काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइतलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ । महानगर दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा महानगरपालिकाले वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइतलगायत व्यक्तिलाई सम्मान गरेको हो । महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीतलगायत थुपै्र साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इञ्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिकाले सम्मान गरेको छ ।
एआइजी मीरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पनि महानगरले सम्मान गरेको छ । उनीहरूलाई महानगरले जनही एक लाख ५० हजार नगदसहित सम्मान गरेको हो ।
सम्मान पत्र प्रधानमन्त्री प्रचण्डले हस्तान्तरण गर्नुभएको थियो भने महानगरका मेयर बालेन साहले दोसल्ला तथा उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गर्नुभएको थियो ।
प्रधानमन्त्रीबाट काठमाडौं महानगर नेतृत्वको प्रशंसा
प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरपालिकाको प्रशंसा गर्नुभएको छ । महानगर दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महानगरको कामको प्रशंसा गर्नुभएको हो । महानगरको कामले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त भइरहेको उहाँले बताउनुभयो । पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरूलाई गम्भीरतापूर्वक हेरेको भन्दै प्रचण्डले शहरी सौन्दर्य, शिक्षा, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन र सांस्कृतिक सम्पदाहरूको संरक्षणका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो । ‘सांस्कृतिक सम्पदाहरू संरक्षण, लागुऔषध, सुर्ती–चुरोटलगायत वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारीलगायत क्षेत्रमा महानगरले गरेको पहलमा संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढंगले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ ।’
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाई स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्ने उहाँको भनाइ थियो ।
राजधानीको मुहार फेर्न लागिपरेका छौँ : डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरू सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गर्नुभएको छ । शुक्रबार महानगर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महानगरपालिकाले बृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा सोहीअनुसार नीति तथा कार्यक्रम र बजेट बनाएको बताउनुभयो । नियमित रूपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभई नयाँ कामको पनि थालनी गरिरहेको उहाँले बताउनुभयो । हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच पुर्याउन निःशुल्क कानुनी सेवा उपलब्ध गराएको पनि उहाँको भनाइ थियो । ‘काठमाडौं महानगरपालिकाले बृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोहीअनुसार बनाएका छौँ । नियमित रूपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभएर त्यसका अलावा १० गौरवका योजनाहरू र २५ स्वर्णिम योजनाहरू अघि सारेका छौँ,’ उहाँले भन्नुभयो, ‘ती योजना सफल र सम्पन्न भएसँगै काठमाडौं महानगरपालिका संघीय राजधानीको मुहार फेरिनेछ ।’
तीनै तहका सरकार मिलेर समस्या समाधान गर्नुपर्छ : बालेन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले प्रधानमन्त्री प्रचण्डलाई महानगरका मुख्य ३ समस्या सुनाउँदै समाधानको पहल गरिदिन आग्रह गर्नुभएको छ । महानगर दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीनकुनेको मुआब्जा विवाद, खोला अतिक्रमणको समस्या र फोहोरको दीर्घकालीन व्यवस्थापनको समस्या सुनाउँदै तीनै तहका सरकारबाट समाधानको पहल गर्नुपर्ने बताउनुभयो । बालेनले अब आफ्नो कार्यकाल साढे ३ वर्ष बाँकी रहेको भन्दै सोही अवधिमा महानगरका समस्या समाधानमा सहयोग पाउनेमा आशावादी रहेको बताउनुभयो । ‘महानगरले गरेको सफलताको कुरा त थाहा नै भइरहेको हुन्छ, त्यो भन्नै पर्दैन । विशेष गरी तीनवटा विषयमा ठूलो चुनौती रहेको छ । यसमा महानगर, प्रदेश सरकार र संघ सरकारले मिलेर समस्याको समाधान होस्,’ उहाँले भन्नुभयो, ‘तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्षभित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले शुक्रबार मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले मुद्दा दायर गरेको थियो । उद्योगहरूले रीतपूर्वक उद्योग सञ्चालन गरी कर तथा राजस्व तिर्दै आएको अवस्थामा जनस्वास्थ्य ऐनलाई आधार मानेर पूर्ण प्रतिबन्ध लगाउने महानगरको निर्णयले उद्योग व्यवस्थामा प्रतिकूल असर गरी अपूरणीय क्षति पुग्न सक्ने इजलासको ठहर छ । ‘सुविधा सन्तुलित निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा १२ मंसिर २०८० मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।
उद्योगका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, पूर्णमान शाक्य, अधिवक्ताहरू दामोदर तिम्सिना, सन्तोष तिवारी, जयलाल भण्डारी, नारायण नेपाल, आकृति खनाल, असाङ्कनबहादुर मल्लले बहस गर्नुभएको थियो । महानगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता महेशकुमार नेपाल तथा अधिवक्ताद्वय दिना श्रेष्ठ, ओमप्रकाश अर्यालका साथै नेपाल सरकारको तर्फबाट उपस्थित सहायक न्यायाधिवक्ता पूजा सिलवालले बहस गर्नुभएको थियो ।
महानगरले मंसिर १२ गते १५ दिने सूचना प्रकाशन गर्दै प्लाष्टिकमा प्याक गरिएको सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको थियो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र मदिरा, सुर्तीजन्य, पदार्थहरू बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको सेवनका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोर मैला बढ्न गई शहरको सुन्दरतामा प्रतिकूल प्रभाव परेको बताउँदै यसको बिक्री वितरण तथा सार्वजनिक स्थानमा प्रयोग गर्न महानगरले रोक लगाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच