काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले गणतन्त्र जोगाउन एकजुट हुने प्रतिबद्धता जनाएका छन् । पछिल्ला दिनहरूमा गणतन्त्र, संघीय तथा समग्र वर्तमान शासन प्रणालीमाथि आक्रमण हुन थालेको निष्कर्षमा एकमत रहेका शीर्ष नेताहरूले प्रतिगमनलाई सहयोग पुग्ने गरी देखा परेका प्रवृत्तिको एकजुट भएर प्रतिवाद गर्ने उद्घोषसमेत गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वक्ताको रूपमा सम्बोधन गरेका वर्तमान व्यवस्थाविरुद्ध देखापर्ने हरेक प्रवृत्तिविरुद्ध आपसी मनमुटाव त्याग गर्दै एकताबद्ध हुने बताएका हुन् ।
लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभयो । लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे सोच्न नसकिने स्पष्ट पार्नुभयो । नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै सभापति देउवाले भन्नुभयो, ‘हाम्रो देशमा आफ्नो मतभेद, पार्टीगत वैचारिक मतभेद, प्रतिस्पर्धादेखि लिएर हाम्रा आफ्ना कुरा छन् । नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरू एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, सायद धेरै कम छन्, मान्छे छक्क पर्छन् । एउटा पार्टीको कार्यक्रममा अरू नेता आएको देख्दा विदेशबाट आउने मानिस छक्क परेका हुन्छन् । एक-अर्काप्रति कडा प्रतिस्पर्धा हुन्छ, त्यसका बाबजुत पनि बोलीचाली, मेलमिलापको वातावरण छ, यो धेरै कम देशमा छ । बिपी कोइरालाले ल्याएको नीतिको मेलमिलाप र एकतामा प्रभाव छ ।’
मुलुकमा अहिले अनेक किसिमका बहाना खोज्नेहरू लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयासमा लागिरहेको जिकिर गर्दै सभापति देउवाले भन्नुभयो, ‘लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । यसको विकल्प छैन । लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो । कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’ सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भएपनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताउनुभयो । दलहरूले वैचारिक र राजनीतिक रूपमा मतभेद र प्रतिस्पर्धा गरे पनि राष्ट्रियता, विकास र आर्थिक समृद्धिका विषयहरूमा भने एकताबद्ध हुने अभ्यास गर्नुपर्नेमा उहाँको जोड थियो ।
लोकतान्त्रिक गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्था नै छैन : प्रधानमन्त्री
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी भाष्य बनाउने दुस्साहस भइरहेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको विकल्प गणतन्त्र र थप उन्नत गणतन्त्र मात्रै हुन सक्ने जिकिर गर्दै भन्नुभयो, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प अझ विकसित लोकतन्त्र वा गणतन्त्र मात्रै हुनसक्छ । हामीले जनतालाई लोकतन्त्रको अनुभूति गराउन सकेनौँ कि भनेर हामीले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको मैले ठानेको छु ।’ प्रधानमन्त्री प्रचण्डले नेपालका सबैजसो नेताहरू कुनै न कुनै रूपमा बिपी कोइरालाबाट दीक्षित रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय सहमतिको लागि आहृवानसमेत गर्नुभयो ।
सरकारले गरेका राम्रा कामको ओनरसिप लिन कांग्रेसलाई अपिल
प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामको स्वामित्व लिइदिन सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेससँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन बनाउन आफूले जोखिम उठाएको स्मरणसमेत गर्नुभयो । सरकारका राम्रा कामको स्वामित्व लिइदिन नेपाली कांग्रेसलाई आग्रह गर्नुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सानो पार्टीको नेता प्रधानमन्त्री बनेको भनेर सरकारले गरेका राम्रा कामको स्वामित्व लिन हिचकिचाइदिनु भएन । मेरो ठाउँबाट यो गठबन्धन बनाउन जोखिम उठाएको छु । सरकारले एक वर्षमा राम्रो काम गरेको छ । नेताले जनतालाई आशा देखाउनुपर्छ, देशमा अँध्यारोबाहेक केही छैन भन्ने कुरा गलत हो ।’
गणतन्त्रवादीहरू एक छौँ, फेरि राजतन्त्र फर्किने सम्भावना छैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभएको छ । राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको उहाँको दाबी छ । मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्तवादको कुनै अवशेष बाँकी नरहेको जिकिर गर्दै भन्नुभयो, ‘अहिले एकथरी मान्छे छन्,राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर, यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ? यो तथ्यले पुष्टि गर्नुपर्यो तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो ।’
कहिलेकाहीँ आफूहरू (देउवा, दाहालसमेत) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरोध हुने गरेको प्रसंग निकाल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो त निश्चित छ कि हामी राजतन्त्र फर्काउन दिँदैनौँ, यो त खुलस्त कुरा हो, हामी भेट भए पनि नभए पनि यो त प्रष्टै छ । राजतन्त्र अब इतिहास हो, बितिसकेको कुरा हो । यसबारे छलफल गर्नुको कुनै औचित्य छैन । दरबार हत्याकाण्डकै बेला सिद्धिएको हो । हामीले त्यतिबेला पर्याप्त, उपयुक्त कदम नचाल्ने कमजोरीले अलिक दिन एउटा डमी राजतन्त्र चल्यो । तमासा देखायो त्यसले, अनि हटाउनुपर्यो ।’
अहिले नेतालाई जेलमा हालेर शासन गर्ने राजा ल्याउन खोजेको हो भन्ने प्रश्न गर्दै ओलीले भन्नुभयो, ‘कस्तो राजा ल्याउन खोजेको ? यी दलहरूले गरेनन्, यी दलहरूलाई जेलमा हालेर चलाउने एकदम तानासाहको राजा बनाउन खोजेको ? संवैधानिक, सेरेमोनियल यस्तो राजा बनाउन खोज्या ? सेरेमोनियल त रामचन्द्र हुँदै हुनुहुन्छ त । अनि, के गर्छ त राजाले ? गद्दीमा बसेर केही गर्ने त होइन ।’
कांग्रेसभित्र चलखेल गर्न नचाहेको स्पष्टोक्ति
अध्यक्ष ओलीले सत्तारूढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको स्पष्ट पार्नुभएको छ । अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर छ । अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेको टिप्पणी गर्दै भन्नुभयो, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टि बिल्कुलै जान चाहन्न । कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न । त्यस सीमाभित्र मात्रै म बोल्छु ।’
प्रमुख दलहरूको संयुक्त सरकार बनाऔँ : अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरूको संयुक्त सरकार बनाउने प्रस्ताव गर्नुभएको छ । कांग्रेसले सोमबार मेलमिलाप दिवसको अवसर पारेर गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष डा.भट्टराईले सरकारको स्थिरताका लागि प्रमुख दलहरूको संयुक्त सरकार बनाउने प्रस्ताव गर्नुभएको हो । उहाँले सरकारलाई पाँचै वर्ष चलाउनका लागि प्रमुख दलहरूको संयुक्त सरकार बनाउनुपर्ने जिकिर गर्नुभयो । आपसमा भागबण्डा गरेर सरकार नबनाई एउटा सर्वमान्य व्यक्तिको नेतृत्वमा पाँचै वर्ष सरकार चलाउन सकिने उहाँको दाबी छ । त्यसो गर्न नसकेमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने भट्टराईको धारणा छ ।
राष्ट्रपतीय प्रणाली समस्याको समाधान होइन : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतीय प्रणाली समस्याको समाधान नभएको बताउनुभएको छ । नेपाली कांग्रेसद्वारा मेलमिलाप दिवसमा आयोजित कार्यक्रमका एकजना वक्ता पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले स्थिरता र सुशासनका लागि एउटा विकल्पको रूपमा राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने प्रस्ताव राखेपछि अध्यक्ष नेपालले प्रतिवाद गर्दै भन्नुभयो, ‘बाबुरामजी यहाँ हुनुहुन्न, उहाँसँग म बहस गर्न तयार छु । राष्ट्रपति प्रणाली या प्रत्यक्ष निर्वाचित प्रणाली कुनै समस्याको समाधान होइन । संसारका धेरै देशमा मैले देखेको छु । राष्ट्रपतिको तानाशाहीले त्यो देशका जनतालाई वाक्कदिक्क बनाएको छ । संसदीय प्रणालीको विकल्प समुन्नत संसदीय प्रणाली हुनसक्छ । तर, राष्ट्रपतीय प्रणाली वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली भने हुन सक्दैन । यसबारेमा कुनै किसिमको भ्रम र दुविधा राखेर, राजनीतिक अस्थिरताले समस्या खडा गरेको होइन । समस्या भ्रष्टाचारले खडा गरेको छ । यसलाई अन्त्य गर्न सक्दैनौँ भने कुनै सिष्टमले पनि काम गर्दैन ।’
ओली भर्सेस नेपाल
मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष केपी शर्मा ओलीबीच घोचपेच चलेको छ । राजनीतिक जीवनको लामो समय एउटै पार्टीमा रहेका यी दुई कम्युनिष्ट नेताहरू पार्टी विभाजन गरेर छुट्टिएको धेरै लामो समय पनि भएको छैन । नेकपा एमालेबाट छुट्टिएर नेपालले दुई वर्षअघि नेकपा एस गठन गर्नुभएको थियो । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले झापाको दमकमा भ्यु टावर बनाउनु देशको प्राथमिकता नभएको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसले सोमबार मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको भ्यु टावरको बचाउ गर्दै भन्नुभएको थियो, ‘कांग्रेसले एकतले घर मात्र चाहेको हो ? जमिन बचाउन अग्लो भवन बनाउँदा विरोध गर्ने ? दमकको भ्यु टावर घुमाउरो भर्याङ चढेर हेर्ने टावर मात्र होइन । अग्लो भवन भएकाले भ्यु टावर भनिएको हो । त्यो एउटै भवनमा दुईवटा अस्पताल चल्न सक्छन्, कलेज सञ्चालन हुनसक्छ । त्यहाँ कतिले रोजगारी पाए, कति पैसाको ट्रान्जिक्सन भयो ?’ कार्यक्रमको सुरुमा मन्तव्य राखेर ओली बाहिरिनुभएको थियो । कार्यक्रममा ओलीभन्दा पछि मन्तव्य राख्नुभएका अध्यक्ष नेपालले देशको अहिलेको प्राथमिकता भ्यु टावर नभएको जिकिर गर्दै भन्नुभयो, ‘भर्खरै एकजना नेताले भ्यु टावर आवश्यक रहेको बताउनुभयो । हाम्रो देशको बजेटको रकम कुन ठाउँमा टावर बनाउने नबनाउने हो ? देशलाई पानीजहाज आवश्यक छ/छैन ? अघि विश्वप्रकाश शर्माले भन्नुभयो पोखरामा विमानस्थल जरुरी थियो थिएन ? बहसको विषय छ ।’
बालकुमारी घटनाको चर्चा
मेलमिलाप दिवसको अवसरमा कांग्रेसले गरेको कार्यक्रममा सहभागीमा गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाले चर्चा पाएको छ । कार्यक्रमलाई सम्बोधन गरेका शीर्ष नेताहरूले बालकुमारी घटनालाई लिएर एक-अर्काप्रति घोचपेच गरेका छन् । विपक्षी दलका नेताले सरकारको क्षमता र कार्यशैलीप्रति प्रश्न उठाएका छन् भने सत्तापक्षका नेताहरूले घटनामा सरकारको बचाउ गरेका छन् ।
प्रधानमन्त्री आशंका : ‘बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन’
प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको भन्दै चिज गम्भीर र सामान्य नभएको आशंका गर्नुभएको गर्नुभएको छ । बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ । इपिएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । चिज त्यस्तो छैनजस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ?’
ओलीको प्रश्न : मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो ?
विपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले बालकुमारीमा रहेको हुललाई उत्तेजित बनाएर गोली हानेर मान्छे मारेको टिप्पणी गर्नुभएको छ । आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो ? भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो ? नगई नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ? हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेर गोली मात्रै चलाइएको होइन बन्दुकले मान्छेलाई घुत्रुकै मर्नेगरी हानेको छ ।’
नेपालको स्पष्टीकरण : मन्त्री ज्वाला सूचनाको अभावमा फस्न पुगे
सत्तारूढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने घटनाको बचाउ गर्नुभएको छ । बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको उहाँको भनाइ छ । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेको चर्चा भइरहेका बेला नेपालले बचाउ गर्नुभएको हो । घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘बालकुमारीमा शुक्रबार हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । उहाँ सरकारी कामको सिलसिलामा बाहिर निस्कनुभएछ । त्यसमा फस्नुभएको हो । त्यसो हुनाले अरू कुनै सिलसिलामा होइन । सम्भवतः त्यो संवादको वा सूचनाको कुनै ग्यापको कारणले त्यो घटना घटेको हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच