लुम्बिनीमा पर्यटक पढेपनि कोरोना अघिको लयमा फर्किन अझै सकेन

आउने मध्ये भारतबाट मात्रै २ लाख ६६ हजार ५१० जना अन्य मुलुकदेखि आउने पर्यटकको संख्या ७६ हजार

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा कोरोना संक्रमण अघिको वर्ष सन २०१९ मा आन्तरिक र बाह्य गरि १५ लाख ५८ हजार ३२६ पर्यटक लुम्बिनी आएका थिए । सन २०२३ मा ९ लाख ९८ हजार ९३८ ले मात्र लुम्बिनी घुमेका छन्। समग्र मुलुकमा पर्यटक आगमनले रेकर्ड कायम गरेको छ। तर बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन कोभिड अघिको लयमा अझै फर्किन सकेको छैन ।

सन २०२० र ०२१ मा कोरोना संक्रमणका कारण पर्यटनसहित सग्रम क्षेत्र प्रभावित बनेको थियो । कोभिडको प्रभाव कम भएपछि २०२२ बाट अवस्था सहज हुँदै गयो । चार वर्ष अघिको तुलनामा लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढेको छ । तर आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन निकै कम्जोर छ ।

कोभिड अघिका वर्षहरुमा नेपाल भित्रबाटै घुम्न आउने आन्तरिक पर्यटक १० लाख भन्दा बढी थिए । सन २०१९ मा मात्र ११ लाख ७८ हजार १४० आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । तर २०२३ मा ४५ प्रतिशत कम अर्थात ६ लाख ५६ हजार २१८ ले मात्र लुम्बिनी घुमेका छन्।

तेस्रो मुलुकका विदेशी पर्यटकको आगमन ४ वर्ष अघिको तुलनामा ५६ प्रतिसतले कम छन्। सन २०१९ मा भारत बाहेक तेस्रो मुलुकबाट १ लाख ७४ हजार १५ पर्यटक लुम्बिनी आएका थिए। तर २०२३ मा ७६ हजार २१० विदेशी पर्यटक मात्र लुम्बिनी आएका छन् ।

२०११ मा लुम्बिनीमा तेस्रो मुलुकको बार्षिक आगमन एक लाख नाघेको थियो । सन २०१९ मा १ लाख ७४ हजार पुगेको थियो। तर अहिले तेस्रो मुलुकको पर्यटक आगमन अझै २००७ को अवस्थामा छ ।

आन्तरिक र तेस्रो मुलुकको पर्यटन आगमन अझै लयमा नफर्किदा लुम्बिनीमा भारतीय पर्यटन आगमनले भने रेकर्ड कायम गरेको छ । सन २०२३ मा मात्र २ लाख ६६ हजार ५१० पर्यटक लुम्बिनी आएका छन्। कोभिड अघि सन २०१९ मा २ लाख ६ हजार १७१ भारतीय मात्र लुम्बिनी आएका थिए।

भारतीय पर्यटक आगमनले अघिल्लो वर्ष पनि रेकर्ड कायम गरेको थियो। सन २०२२ मा २ लाख ३० हजार ८६३ भारतीय पर्यटकले लुम्बिनी घुमेका छन्।भारतीय पर्यटक आगमन बढ्दा आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन नबढ्नुमा बुटवल नारायणगढ सडकको दुरावस्था मुख्य कारण मानिएको छ । अर्को तर्फ आर्थिक मन्दिका कारणले पनि पर्यटन आगमन कम भएको ठानिएको छ।

पर्यटकको आगमनसँगै उनीहरुको बसाई समेत लम्ब्याएर लुम्बिनीबारे धेरैभन्दा धेरै जानकारी दिन सके आर्थिक रुपमा समेत यसले फाइदा गर्ने लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनु भयो ।

पर्यटकको नेपाल बसाई लम्ब्याउनका लागि यहाँका होटल तथा पर्यटन व्यवसायीहरुले प्रयाप्त तयारी र पहल गर्न नसकेको उहाँको भनाई छ । पर्यटकहरुका लागि विभिन्न प्याकेज तथा योजनाहरु अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताउँदै भट्टराईले लुम्बिनीका लागि नजिकको बजारको रुपमा भारतीलय नागरिकहरुलाई समेत यहाँ ल्याउने र भुलाउने माध्यम निर्माण गर्न नसकिएको उल्लेख गर्नु भयो।
विकास कोषले तेस्रो मुलुकबाट स्थलमार्ग अर्थात भारतीय नाकाहुँदै आउने पर्यटकलाई सिधै नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउनका लागि योजना अनुसार काम गरिहेको कोषाध्यक्ष भट्टराईको भनाई छ । विकास कोषले ग्रेटर लुम्बिनीको अवधारणा अनुसार लुम्बिनीसँग जोडिएका तिलौराकोट, रामग्राम लगायतका क्षैत्रहरुको बिकासमा योजनावद्ध अघि बढेको उहाँको भनाई छ ।

यी क्षेत्रहरुको बिकास हुन सकेमा पर्यटकका लागि घुम्ने ठाउँ पनि बढी हुने तथा लुम्बिनीका प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने भट्टराईको भनाई छ । नेपालमा पर्यटक भित्र्याउनका लागि धार्मिक मात्र नभई अन्य पूर्वाधार र सुविधाहरु समेत बिकास गर्न आश्वयक रहेको भट्टराई बताउनु हुन्छ ।

सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने सरकारको गतल नीतिकै कारण पर्यटन क्षेत्रमा विकास गर्न नसकिएको बताउनु भयो । लुम्बिनीमा पर्यटकको सङ्ख्यामा वृद्धि भएपनि गलत नीतिका कारण निजी क्षेत्रले त्यसबाट फाइदा लिन नपाएको उहाँको भनाई छ ।
पर्यटनका लागि नेपालको मुख्य बजार नै भारत भएको उल्लेख गर्दै श्रेष्ठले उनीहरु नेपाल आउँदा अध्यागमन विभागमा हुने झन्झट, २५ हजार भारतीय रुपैयाँभन्दा बढी बोक्न नपाउने नियम, विभिन्न सुरक्षा निकायहरुबाट ठाउँ–ठाउँमा गरिने व्यवहार परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

व्यवसायीहरुले करोडौं रकम खर्चेर पर्यटनको क्षेत्रमा लगानी गरेको भएपनि त्यस अनुसार सकारले संरचना निमार्ण तथा निर्माण भएका संरचनाहरुको सञ्चालनमा चासो नदिनुका साथै पर्यटन मैत्री नीति निर्माण गर्न नसकेको उल्लेख गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?