गुल्मी रुरुक्षेत्र गाउँपालिकाको कार्यक्रमसहित बजेट संशोधन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

गुल्मी/रुपन्देही । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०–०८१ को बजेटलाई संशोधन गरेको छ ।

यस आर्थिक वर्षमा ५३ करोड ५४ लाख ९७ हजार २३० रुपियाँ विनियोजित भएको बजेटलाई संशोधन गरेर गाउँसभाको १५ औं अधिवेशनबाट ५७ करोड ६२ लाख १७ हजार रुपियाँ कायम गरिएकाे हो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संशोधनका लागि गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले गाउँसभामा पेश गर्नुभएसँगै संशोधित कार्यक्रम र बजेटमा छलफल भएको थियो । यससँगै चालू आर्थिक वर्ष २०८०–०८१ को कार्यक्रम र बजेट संशोधन भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०८०–०८१ को बजेट निर्माण गर्दा अनुमान गरेको अ.ल्या. रकममा वृद्धि भएको हुँदा बजेटको आकारमा पनि वृद्धि गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

गाउँसभाको १५ औं अधिवेशनबाट चार करोड ३१ लाख ४९ हजार ३०० रुपैयाँ संशोधन गरिएको छ । जसमा चालूतर्फ एक करोड एक लाख रुपियाँ र पूँजीगततर्फ तीन करोड ३० लाख ४९ हजार ३०० रुपियाँ बजेट संशोधन गरिएको हो । विभिन्न ८६ कार्यक्रमको लागि संशोधित भएको बजेट विनियोजनसँगै दश कार्यक्रमहरु पनि संशोधन गरिएको उहाँले बताउनुभयो ।

त्यसअवसरमा गाउँपालिकाले स्वास्थ्य तथा सरसफाइ ऐन, २०७५ को पहिलो संशोधन गरेको छ भने खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म कायम भएको आठ करोड ४७ लाख रुपियाँ बराबरको गाउँपालिकाको बेरुजु सम्परीक्षणको लागि सभामा छलफल गरिएको थियो ।

सभामा कार्यपालिकाका यस आर्थिक वर्षका हालसम्मका बैठकका निर्णयहरु अनुमोदनसँगै सार्वजनिक सरोकारका विभिन्न निर्णयहरु गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

गाउँपालिकाबाट चालू आर्थिक वर्षमा हालसम्म सम्पादन भएका मुख्य उपलब्धिहरुको बारेमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सभामा जानकारी गराउनुभयो ।

विभिन्न समयमा नागरिकहरुले आफ्नो आवश्यकता अनुसार माग गर्नुभएका योजनाहरुलाई सम्बोधन गरि सबै वडामा समानुपातिक किसिमले कार्यक्रम तथा बजेट विनियोजन समेत गरिएको उहाँले बताउनुभयो । उहाँले आवश्यक ठाउमा बजेट उपलब्ध गराएको र कामपनि युद्धस्तरमा भैरहेको बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?