![निपूर्णताका लागि प्रशिक्षण मुख्य कुरा : विक्रम गौतम, मेकअप आर्टिष्ट](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Bikram-Gautam-Makeup-Artist.jpg)
पञ्चायत कालमा दलको स्वतन्त्रता भएन । विकास र प्रगतिको एकमात्र बाधक दलहरूमाथिको प्रतिबन्ध हो भन्ने धारणाले पञ्चायतलाई कटाक्ष गरिन्थ्यो । त्यो कटाक्ष गर्नेहरू र तिनका अनुयायी अहिले दलीय सिद्धान्त र मर्मविपरीत क्रियाशील छन् । हामीलाई दल सञ्चालनको स्वतन्त्रता चाहियो भनेर जीवनभर संघर्ष गर्नेहरू नै आज दलको स्वतन्त्रताको फल एकलौटी खानलाई दलभित्र विविध प्रकारका बखेडा निकालेर दलको धर्म र मर्मविपरीत द्वन्द्वको खेती किन गर्दैछन् ? कुनै पनि दलभित्र दलीय अनुशासन, आपसी विश्वास सहकार्य पटक्कै छैन । इमानदारी र सदाचारको संस्कृति विरोधीहरूको शासनले के परिवर्तनको फल जनतासमक्ष पुग्छ ? किमार्थ पुग्दैन ।
परिवर्तनको फल जनतासमक्ष नपुग्ने परिवर्तनको रक्षा अब जनताले किन गर्ने ? जनताको जीवनमा परिवर्तन ल्याउने विषयमा कुनै पार्टीहरूमा गम्भीर छलफल, चिन्तन छैन । व्यक्तिगत र गुटगत स्वार्थमा लम्पटहरूले आज सत्ता ओगटेका छन् । सत्ता जनसेवाको विषय नभएर व्यक्तिगत लाभको विषय बनेको छ । भाषणमा आकाश र पाताललाई एकै ठाउँमा जोड्छन् तर व्यवहारमा आआफ्नो लागि धन सम्पत्ति जोड्न क्रियाशील र ब्यस्तहरूकै चक्रव्युहमा राजनीति अल्मलिएको छ । यो हदको विधिविहीनतामा किन सबै पार्टीका कार्यकर्ता लठ्ठ र मख्ख छन् ?
बहुदलीय व्यवस्थाका नीति र नियमभित्र रहँदा त्यो व्यवस्थाले प्रत्यायोजित गर्ने तमाम अवसरको हकदार र दाबेदार पञ्चहरू पनि हुनसक्छन् भन्ने ख्याल र हेक्का बहुलवादीका जिम्मेवार नेताहरूले राख्न नसक्दा प्रारम्भिक चरणमा परिवर्तन समाल्न नसक्ने अवस्थामा पनि पुगेको थियो ।
यो आठौं आश्चर्य भएको छ । पार्टीहरू जनचासोको विषयमा नितान्त साझा थलो हुनै सकेनन् । पार्टी देशको र जनताका लागि कि नेताका लागि ? प्रश्न अनन्तकालसम्म अनुत्तरित हुनुहुँदैन । के पार्टी भनेको नेतृत्वमा हुनेहरूको एकलौटी सम्पत्ति हो ? पार्टीका नजिकका भनेका कार्यकर्ता हुनुपर्ने होइन ? तर नेताका श्रीमती र नातेदारमात्रै नजिक छन्, पार्टीमा उनीहरूकै बोलबाला छ । पार्टी परिवारहरूको अवैध धन जम्मा गर्ने उद्योग बनेको छ ।
पदासीन हुँदा एउटा भाषा र पदबाहिर हुँदा अर्को भाषा, मूल्य र मान्यता विकसित गर्न कत्ति पनि लज्जाबोध नगर्नेहरूले पार्टी पद्धतिलाई नै बाँदरको हातमा नरिवल भन्ने उखानलाई अक्षरसः चरितार्थ बनाएका छन् ? । पार्टीभित्र आबद्ध हुनेहरू सबैको साझा भावना, चाहना र परिवर्तनको ढुकढुकी हो ।
राजनीतिक परिवर्तन परिवर्तित सिद्धान्तको अनुसरण गर्दै प्रयोग गर्न परिवर्तनविरोधी शक्ति र परिवर्तनकारी शक्तिलाई बराबर हक हुन्छ भन्ने हेक्का राख्न सक्नुपर्छ । पञ्चायत जोगाउनेहरू र पञ्चायत फाल्नेहरू दशकौंदेखि संघर्षको अलगअलग मोर्चामा युद्धरत रहे । त्यसबखत दुबैतर्फका योद्धाले जीवन र मरणसम्मको संकटलाई झेले । लामो संघर्ष र द्वन्द्वपछि पञ्चायत परास्त भयो । बहुदलीय व्यवस्था स्थापित भयो । यसको अर्थ बहुदलको पक्षधरका लागि मात्र बहुदलीय व्यवस्था आएको थिएन । केही बहुदलवादीहरू बहुदलको लहैलहैमा हिँडेका तर बहुदलको सैद्धान्तिक धर्म-मर्म नबुझेकाहरूले परिवर्तनपछि पञ्चहरूलाई अपमानित पनि गरे ।
बहुदलीय व्यवस्थाका नीति, नियमभित्र रहँदा त्यो व्यवस्थाले प्रत्यायोजित गर्ने तमाम अवसरको हकदार र दाबेदार पञ्चहरू हुनसक्छन् भन्ने ख्याल बहुलवादीका जिम्मेवार नेताहरूले राख्न नसक्दा प्रारम्भिक चरणमा परिवर्तन समाल्न नसक्ने अवस्थामा नपुगेको होइन । यसो भनिरहँदा बहुदलीय व्यवस्थाका अन्ध समर्थकहरूको रौं सिरिंग हुन्छ तर वास्तविकतालाई हामीले बिर्सनु हुँदैन । बहुदलीय व्यवस्थाको घोषणा राजाबाट भयो, सरकार बन्यो । सरकार बनेपछि सबैकुरा ठीक हुन्छ भन्ने नागरिकको मनोविज्ञानमा ठेस लाग्न सुरुवात भयो ।
त्यसको ज्वलन्त उदाहरण हो त्यसबेलाको सशक्त कांग्रेस र एमालेको संयुक्त सरकारका प्रभावशाली गृहमन्त्रीको कठालो प्रहरी जवानले टेकुको सडकमै समात्ने जुन परिस्थिति बन्यो त्यसले परिवर्तनलाई परिवर्तनकारीहरूको नेतृत्वले समाल्न सक्दैनन् कि भन्ने आभास नदिएको होइन । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लाभ र लोभको दास नहुँदा त्यसबखत जनताले दिएको कार्यभार पूरा गरेर निर्वाचनसमेत पूर्वनिर्धारित समयमा सम्पन्न भयो । देशमा पूर्वनिर्धारित समयमा संविधान निर्माणदेखि निर्वाचनसमेत निष्पक्ष सम्पन्न गर्ने ऐतिहासिक रेकर्ड कायम गरेर स्वच्छ प्रधानमन्त्रीको उदाहरणीय व्यक्ति बनेका छन् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ।
शक्तिशाली प्रधानमन्त्री हुँदा आफैं निर्वाचनमा पराजित हुँदाहुँदै पूर्वप्रधानमन्त्रीको रूपमा अनन्तकालसम्म आमजनताले सम्मानका साथ सम्झने एक्लो व्यक्ति हुन् भट्टराई । आफैं निर्वाचनमा पराजयको प्रमाणपत्र लिएर उनले प्रधानमन्त्री पदको तटस्थता, निष्पक्षता र इमानदारीताको रेकर्ड कायम गरे । त्यो कृष्णप्रसाद भट्टराईको इमानदारीता सधैंका लागि नजिर बनेको छ तर त्यसपछिका कुनै पनि प्रधानमन्त्री नजिरका साथ उपस्थित नहुने अवस्था नै नेपालीको दुर्भाग्यको नजिर बनेको छ । सबै पार्टीभित्रका नेताहरूको आन्तरिक झगडा भनेको फगत पदको र पैसाको झगडा हो । सैद्धान्तिक र जनसवालका विषयमा झगडा छैन । कुनै पार्टीसँग कुनै वाद, सिद्धान्त, नीति छैन भन्ने कुरा समयक्रममा पार्टीका नेतृत्वको व्यवहारले प्रमाणित गर्यो ।
सिद्धान्त छ भने सबैसँग कमाउ र मोज गर भन्ने सिद्धान्त छ । यदि पार्टीहरू वाद, नीति र सिद्धान्तले सञ्चालित भएको भए फगत सत्ता अर्थात् नितान्त व्यक्तिगत स्वार्थका लागि यिनीहरू उत्तरी र दक्षिणी ध्रुवको तथाकथित पहिचानको सगरमाथा बनाएका नेताहरू र पार्टीहरू फगत सत्ताका लागि एकै ठाउँमा कसरी हुन्थे ? यदि यिनीहरूसँग वाद, सिद्धान्त र नीति भएको भए उत्तरी र दक्षिणी ध्रुव एकै ठाउँमा हुने कुरा त असम्भवभन्दा पनि कल्पनाभन्दा पनि बाहिरको वस्तु हुन्थ्यो । कमाउ धन्दमा उनीहरू सधैं एकसाथ तर विकास र समृद्धिका सबालमा उनीहरूबीच सधैं बेमेल देखिन्छ ।
नीतिले, वादले, सिद्धान्तले मिल्ने कतै सम्भावना नभएकालाई, नमिल्नेहरूलाई एकैठाउँमा कुर्मु¥याउने शक्तिशाली हतियार धनलोभ र पदलोभ रहेछ । यी दुई वस्तुका लागि जस्तै कुकर्म गर्न पनि तयार बहादुरहरूको जत्थालाई राजनीतिज्ञ भन्नु बाध्यता बनेको छ । जनता र इमानदार कार्यकर्ता लज्जित छन् । नेतृत्व सत्ताको साझेदार बन्न पाउँदा गौरवान्वित छ । एउटै सिद्धान्तमा मात्र होइन एउटै मोर्चामा लड्नेहरूमध्ये सत्तामा हुनेहरू गौरवान्वित र अर्को लज्जित हुने अवस्था सिर्जना गर्ने शक्तिशाली तत्व के हो ? के नेतृत्वमा रहनेहरूले आफूलाई नढाँटी सत्य र तथ्यमा आधारित उत्तर दिन सक्छन् ? देशका लागि जनताको आमूल परिवर्तनका नाममा लडेका भनिएकाहरू आफ्नो र आफ्नाका परिवर्तनमा मात्र केन्द्रीकृत भए । जनताको व्यवस्था गर्छु भन्नेहरू आफ्नोमात्र व्यवस्थामा खुम्चिएका छन् ।
आफ्नै छोराछोरी, श्रीमती, ससुराली, मावली, भाञ्जाभाञ्जी, ढोके, बैठकेहरूलाई पद र धनधान्यको व्यवस्था गरेर यिनीहरूले पहिले भनेका कुरा नक्कली थिए सक्कली त स्वार्थ सिद्धि हो भन्ने कुरा प्रायः जिम्मेवारीमा रहनेहरूले प्रमाणित गरे । जनतालाई झुक्क्याउन यिनीहरूले पार्टीका नाममा, स्वतन्त्रताको नाममा, जनताको मुक्तिको नाममा, राजतन्त्र र पञ्चायतको विरोधको नाममा वर्षौं गुजारे तर प्राप्त प्रतिष्ठालाई पैसासँग, घरघडेरीसँग, पदसँग स्वार्थसँग, गाडी-घोडासँग, रसरंगसँग, गरगहनासँग र विलासी जीवनसँग निर्लज्जताका साथ साटे ।
प्रायः जिम्मेवारीमा रहेकाहरू प्रतिष्ठालाई लिलाम गरेर विलासिताको महलमा प्रतिष्ठा शून्य छन् । प्रतिष्ठा र धन, सम्पत्तिको सहवास असम्भव रहेछ भन्ने राम्रो प्रमाण हुन् वर्तमान शासकहरू । भविष्यमा पनि धनलोभ र पदलोभ, नातागोता मोहले नकारात्मक उदाहरण बन्ने निश्चित भएको छ । अझै सुध्रने चेतना र विवेक नभएको व्यवहारमा तल्लीन छन् । राजनीति धनार्जनको सजिलो तरिका भएको नजिर प्रस्तुत गरेका कारण व्यवसायबाट असफल हुनेहरू लगानी राजनीतिमा गर्न थाले । उद्यगी-व्यवसायीहरूको आकर्षणले नेताहरू भ्रष्टाचारको उत्कर्षमा छन् ।
जिम्मेवारीमा रहनेहरूले वाद, नीति र सिद्धान्तले मात्र चल्ने पार्टीलाई जे जसरी मन लाग्यो त्यसरी स्वार्थपूर्तिको हतियार बनाउँदा वाद, नीति र सिद्धान्तलाई यिनीहरूले नांगेझार पारे । अहिले सबै पार्टी र पार्टीका टाउकेहरू निर्वस्त्र भएका छन् ।
राजनीतिमा धनाढ्यहरूको आकर्षण बढ्दा राजनीतिको केन्द्रमा हुनेले घनश्याम भुसालले भनेजस्तै आँखामात्र झिम्क्याउँदा सबै व्यवस्था गर्न यिनीहरू सफल भए । राजनीतिमा थप विकृति सिर्जना गर्न यिनीहरू इतिहासमा उदाहरणीय भए । सफलता जनता र देशको असफलताको कारण बन्यो । नैतिकता, आदर्श, इमानदारी यी सबै नक्कली थिए भन्ने कुरा यिनीहरूको व्यवहार, जीवनशैली र कार्यशैलीले प्रमाणित गरेको छ । यो दोषारोपण होइन वस्तुगत तथ्य र सत्य हो ।
वर्तमान शैलीको बहुदलीय निर्वाचनले भ्रष्टहरूलाई मात्रै अवसर दियो । भ्रष्टाचार चुलियो । तसर्थ अहिले मतदाताले नयाँ अनुहारमात्रै खोजेका छैनन् । नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ कार्यशैली, जीवनशैली, मितव्ययी र सदाचारी नेतृत्व खोजेका छन् । काम गर्ने क्रममा योग्यता र दक्षता नभए, आचरण नभए फिर्ता गर्ने संवैधानिक व्यवस्था जनताको चाहना हो । कुनै नेतालाई मन पराउने व्यवस्थामात्रै होइन उसलाई मन नपराउन पाउनुपर्ने बुँदा संविधानमा हुनुपर्छ । यदि नेतृत्व लोकप्रिय र योग्य छैन भन्ने जनताको हकलाई सधैं कुण्ठित गर्न सकिँदैन र हुँदैन पनि । उम्मेदवार बेठीक छ भन्ने मत जाहेर गरेर उसले प्राप्त गरेको मतलाई घटाउन सकिने संवैधानिक व्यवस्था त्यत्तिकै जरुरी देखियो ।
चरित्रहीन भ्रष्ट नेताहरूलाई मात्रै अवसर दिने वर्तमान संविधनको विकल्प खोजेका आवाजहरू जबर्जस्त सुनिन्छन् । राजनीतिको शब्दकोषमा सायद निर्विकल्प भन्ने शब्दावली नभएकाले विकल्पको खोजी सदैव प्राथमिकतामा रहन्छ भन्ने हेक्का सत्तासीनहरूलाई सधैैं धोका दिनेछैन । हाम्रो दुर्भाग्य राजनीति राज्यसत्ताका लागि र राज्यसत्ता धन संकलन र विलासिता भयो । यो चरित्रको अन्त्यबाटै देशको विकास र समृद्धिको चरण सुरुवात हुन्छ । त्यस चरणमा प्रवेश गर्न रोक्ने ‘पार्टी नै नेतृत्व हो र नेतृत्व नै पार्टी हो’ भन्ने सोच र दृष्टिकोणविरुद्धमा ऐक्यबद्ध हुन कार्यकर्ताले भ्रष्टाचारी नेताबाट प्राप्त पार्टी सदस्यता रूपी लगामलाई फाल्नुपर्छ ।
जिम्मेवारीमा रहनेहरूले वाद, नीति र सिद्धान्तले मात्र चल्ने पार्टीलाई जे जसरी मन लाग्यो त्यसरी स्वार्थपूर्तिको हतियार बनाउँदा वाद, नीति र सिद्धान्तलाई यिनीहरूले नांगेझार पारे । अहिले सबै पार्टी र पार्टीका टाउकेहरू निर्वस्त्र भएका छन् । यिनीहरू कथाकार हेन्स एन्ड्रेसनको कथामा वर्णन भएको बादसाह जस्तै आमनागरिकको मन र मस्तिष्कबाट नांगिएका छन् । आफ्नै बोली, जीवनशैलीले यिनीहरू एकाएक सिलोटमा रूपान्तरण भएका छन् । पञ्चायतकालमा बहुदलीय नेताहरूको देशव्यापी सम्मानलाई जनआन्दोलनले अझ चुल्याएको थियोे । सत्तामा गएपछि जनआन्दोलनलाई आफ्नो र आफ्नाका लागि धनआन्दोलन बनाए ।
परिणामस्वरूप उनीहरू धार्नीबाट सेरमा झरे । त्यस्तै अर्काथरिले सशस्त्र युद्ध भने । त्यसबखत पनि उनीहरूले राज्यको ढुकुटी कसरी हुन्छ लुट्ने रणनीति अख्तियार गरे । हत्याहिंसाको गन्तव्य वास्तवमा राजनीतिक परिवर्तन नभएर आफू र आफ्नाको आर्थिक परिवर्तन रहेछ । अहिले उनीहरूको व्यवहार, जीवनशैली र कार्यशैलीले के प्रमाणित गर्यो भने त्यो वास्तवमा युद्ध नभएर धनयुद्ध नै रहेछ । अहिले त्यसका योद्धाहरू र समर्थकले बल्ल थाहा पाए कि हामीले सहयोग युद्धका नाममा ग¥यौं वास्तवमा त्यो त मुठीभर नेताहरूका लागि धनयुद्ध रहेछ । राजनीति जनसेवाका लागि हो व्यक्तिगत पद र धन लाभमा होइन भन्ने सामूहिक खबरदारी आजको अपरिहार्य आवश्यकता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच