ठेकेदारको लापरबाहीले हुलाकी सडक अलपत्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । पश्चिम् नवलपरासीको हुलाकी सडक पटकपटक म्याद थप गरेपनि अझै बन्न सकेको छैन ।

हुलाकी सडक खण्ड नारायणचोक देखि त्रिवेणी जोड्ने निर्माणाधीन सडक विस्तारको काम ठेकेदारको लापरबाहीले गर्दा अलपत्र बनेको छ । कृषि पर्यटन र उद्योग क्षेत्रको विकासको मेरुदण्डको रुपमा लिइने हुलाकी सडक विस्तारमा भइरहेको ढिलाइले सर्वसाधारण देखि जनप्रतिनिधि सम्म आजित मात्रै होइन आक्रोशित भएका छन् ।

२०७६ साल मसिर १ गते करिव ५८ करोड ठेक्का सम्झौता भएको नारायणचोक देखि त्रिवेणी जोड्ने १६ किलोमिटर सडक थपिएको म्याद अनुसार ०७९ मङ्सिर सम्म काम सक्नुपर्नेमा अहिलेसम्म पनि अलपत्र छ । निर्माण कम्पनी बज्रगुरु महालक्ष्मी जेभिले हाल सम्म ८० प्रतिशत काम सकेको दाबी गर्दै आएपनी स्थलगत रुपमा न्यून प्रतिशत मात्र काम सकेको स्थानीय ओमनाथ चौधरीले बताउनु भयो । चौधरी भन्नुहुन्छ - 'न त काम राम्रोसङ्ग भएको छ, न त समय अनुसार नै । कहिले सम्म हामीले दुख पाउने ?'

पटक पटक म्याद थप गरेर समेत काम नसकेको कम्पनीले उल्टै विभिन्न बहाना बनाउँदै काम नगरेको चौधरीको भनाइ छ ।

'अहिले वर्षात्‌को समयमा उक्त बाटोको यात्रा निकै कष्टप्रद र जोखिम पूर्ण बनेको छ। ठुला मालवाहक सवारी साधन गुड्दा बाटो जताततै खाडल बनेको छ । सवारी साधन लिएर हिँड्दा पनि ज्यानकै बाजि लाएर हिँड्नु पर्ने अवस्था आयो । वर्षात्‌मा झन हिलाम्य भएको छ थुप्रै दुर्घटना भए कसैले चासो दिएनन् ।'  बर्दघाट १३ का स्थानीय प्रशन्न अधिकारीले भन्नुभयो-'पटक पटक ध्यानाकर्षण गरायौ,आन्दोलन गर्‍यौं सुनुवाई भएनन् ।'

निर्माणको जिम्मा पाएको कम्पनीले उक्त सडकमा अत्यधिक मात्रामा माटो मिसावट भएको मिस्कट प्रयोग गरेका कारण बुद्ध बस्ती देखि गोपिगन्ज हुँदै बेलाटारीसम्मको सडक खाल्डा खुल्डीले थप अस्तव्यस्त बनेको स्थानीयको भनाई छ । सवारी साधन र पैदल यात्रीको अत्यधिक चाप रहने यहाँको दक्षिणी क्षेत्र प्रतापपुर–२ मा रहेको गोपिगन्ज बजारको मुख्य सडक खाडल, पानी र हिलोले हिँडिसक्नु छैन । यो बाटोको अवस्थाले यहाँका व्यापारी आजित बनेका छन् । ‘सरोकारवाला सबै यही बाटो हिड्छ्न तर यो बाटोले उनीहरुलाई गिज्याउँदा समेत उनीहरू समेत मुख दर्शक छन्’ गोपिगन्जका व्यवसायी केशव चापागाईँले भन्नुभयो, यो बाटोकै कारण कुनै दिन ठूलो क्षति हुनेछ त्यसको जिम्मा कस्ले लिने रु चापागाईंको प्रश्न छ ।

सडक निर्माणको अनुगमन तथा नियमन गर्ने सरोकारवाला ठेकेदार कम्पनीको प्रभावमा परि मौन बस्दा असारे बिकास निर्माणको नमुना अहिले छरप्रष्ट भएको स्थानीयको आरोप छ ।यता हुलाकी सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले भने स्टक्चर सहित ८० प्रतिशत काम सकिएको दाबी गर्नु भएको छ भने हालसम्म २६ लाख मात्र भुक्तानी दिइएको उहाँको भनाई छ । अझै १३ वटा स्ल्याप सहितका पुल कल्भर्ट बनाउन बाकी रहेको पाण्डेको भनाई छ । वर्षातका कारण हाललाई काम रोकिएपछि खाल्डाखुल्डीले थप समस्या उत्पन्न भएको छ । नारायण चोक त्रिबेणि १६ किमि सडक पनि अलपत्र परेको छ ।सम्बन्धित निकाय समेत ठेकेदारलाई कडाई गर्न निरीह बन्दै आईरहदा जनता भने सधै सास्ती खेप्न बाध्य छन ।

कमसल कच्चा पदार्थका कारण पछि सडक कालोपत्रे बनेपनि छिटै फुटेर जाने होकि भन्ने स्थानीयको चिन्ता छ । उक्त सडककै कारण थुप्रै दुर्घटना समेत भैसकेका छन् भने यात्रा गर्ने जो कोहीका लागि पनि यो सडक काल को मुख जस्तै बनेको छ । जीर्ण बाटोको अवस्थाकै कारण व्यापारमा समेत कमी आएको व्यवसायीको गुनासो छ ।ठेकेदारलाई कालो सूचीमा राखेर कारबाही गर्नु पर्ने आक्रोशित स्थानीयको भनाई छ ।

यता यस क्षेत्रका सांसद विनोद चौधरीले भने यस विषयमा पटक पटक सम्बन्धित निकाय र सडक विभागलाई ताकेता गरी चाँडो निर्माण सम्पन्न गर्न ठेकेदार पक्ष र सडक आयोजनाका प्रतिनिधि राखेर पहल गरेको बताउनुभयो ।तर पटक पटक ताकेता गर्दा समेत अनेक बहानामा हुलाकि सडक निर्माणको काम ७ बर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?