काठमाडौं । सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानबीच सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालय(टियु)को सिएसआइटीको केन्द्रीय विभागबीच सम्झौता भएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेन्टका अध्यक्ष राजेन्द्रप्रसाद अर्याल र सिएसआइटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार दुवै संस्थाले शैक्षिक र कौशलबीचको असमानताका समस्यामा केन्द्रित रहेर सहकार्य गर्नेछन् ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीतिअनुसार उत्पादन हुने सबै विद्यार्थीलाई रोजगारी सुनिश्चित गर्न सकिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आइटीको नयाँ विषय समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन । आइटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ र त्यो सम्भव छ भन्ने देखिएको छ ।’
सरकारी विद्यालय र विश्वविद्यालयबाट आइटी पढेका विद्यार्थीलाई कसरी रोजगारमा लगाउने, कसरी बजारमा बिकाउने भन्ने चिन्ता समाधान गर्न पनि उक्त सहकार्यबाट सहयोग पुग्ने उहाँको भनाइ थियो । मन्त्री शर्माले भन्नुभयो, ‘नेपालमा पढाइ हुने सबै विषयबाट उत्पादन हुने विद्यार्थी सबैलाई प्राक्टिकल गराउन सक्नुपर्छ । अहिले विदेशमा जाने युवाको ताँती छ, त्यसलाई रोक्न पनि आइटी विषय महत्वपूर्ण हुन सक्छ ।’
टियुका उपकुलपति डा. शिवलाल भुसालले सहकार्यबाट बजारमा के भइरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मार्केट र शैक्षिक संस्थाबीच सम्बन्ध विस्तार गर्न सहयोगी हुनेछ । यसले आइटी पढेर पनि बजारमा उपयोग गर्न नपाइरहेका बेलामा विद्यार्थीलाई सहयोग गर्नेछ । बढीभन्दा बढी विद्यार्थी सहभागी गर्न सकियोस् ।’
सोसाइटीका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यबीचमा देखिएको भिन्नता हटाउन प्रयास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाल हाम्रा आइसिटी शैक्षिक कार्य र आइटी उद्योगबीच निकै भिन्नता र फरकपन देखियो । यी दुवै एकआपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थालाई आफ्ना उत्पादन दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ ।’
टियु सिएसआइटीको केन्द्रीय विभागका डिन डा. बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिनेबारेमा समझदारी पहिलो पाइला भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेपालमा आइटी क्षेत्रमा पनि जनशक्ति अभाव देखिएको छ । एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो । यसलाई न्यूनीकरण गर्न सबैले मिलेर जानुपर्छ ।’
कार्यक्रममा ग्लोबल डिइएसका प्रमुख समिर थापाले नेपालको आइटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तरको सीप र क्षमतामा पहुँच नभएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच